निर्माण सिजनमै बिटुमिन अभाव र मूल्यवृद्धिले देशभरका सडक आयोजना प्रभावित
सारांश
- पश्चिम एसियामा द्वन्द्वका कारण बिटुमिन (अलकत्रा) आयातमा अवरोध आएपछि नेपालको पूर्वाधार निर्माण प्रभावित भएको छ।
- सडक निर्माण कार्यमा बिटुमिनको अभाव तथा मूल्य वृद्धिले गर्दा विभिन्न सडक आयोजनाहरू प्रभावित भएका छन्।
- निर्माण सामग्रीको मूल्य वृद्धि र आपूर्तिमा आएको समस्याले गर्दा निर्माण व्यवसायीहरूलाई काम गर्न कठिनाइ भएको छ।
काठमाडौँ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण नेपालको पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ । विशेष गरी सडक कालोपत्र गर्न आवश्यक पर्ने पेट्रोलियम वस्तु बिटुमिन (अलकत्रा) आयातमा अवरोध देखिएको हो ।
बिटुमिन आयातमा अवरोध देखिएका कारण सडक निर्माण कार्य प्रभावित हुन थालेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता श्यामबहादुर खड्काले बिटुमिनको आयातमा आएको कमी र बढ्दो मूल्यका कारण देशभरका सडक आयोजनाहरूको काम प्रभावित भएको बताए ।
‘सडकको बेस तयार भएर कालोपत्रे गर्ने मुख्य सिजन भए पनि बिटुमिन सहज उपलब्ध नहुँदा आयोजनाहरू अलपत्र पर्ने जोखिम बढेको हो,’ प्रवक्ता खड्काले भने, ‘निर्माण व्यवसायीहरूसँग अहिले निकै कम मात्रामा बिटुमिन मौज्दात छ । बजारमा बिटुमिनको भाउ बढेको र उपलब्धता पनि सहज नभएकाले काम अघि बढाउन समस्या भएको गुनासो उनीहरूले गरेका छन् ।’
नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, हुलाकी राजमार्गलगायत हाल निर्माणाधीन महत्त्वपूर्ण सडकमा बिटुमिनको अभावका कारण काम प्रभावित भएको छ । हप्तामा एक–दुई पटकमात्र बिटुमिन पाउने अवस्था रहेका कारण समयमै काम सम्पन्न गर्न कठिन भएको छ ।
बिटुमिनको अभावले पारेको प्रभावबारे विभागले थप जानकारी लिने र समस्या बुझ्ने काम गरिरहेको पनि प्रवक्ता खड्काले बताए । हिउँदको समयमा सडक निर्माणले गति लिनुपर्ने भए पनि आवश्यक सामग्रीको अभावले काम पछाडि धकेलिने देखिएको छ ।
सडक डिभिजनले काठमाडौँका सडकलाई खाल्डाखुल्डीरहित बनाउने अभियानलाई निरन्तरता दिइरहेको छ । सडकमा देखिने समस्या तत्काल समाधान गर्न सञ्चालनमा ल्याइएको सडक एम्बुलेन्स सेवाले पनि प्रभावकारी रूपमा काम गरिरहेको र खाल्डाखुल्डी पुर्ने, सडक मर्मत तथा स्तरोन्नतिका काम भइरहेको डिभिजन कार्यालयका प्रमुख सुवोधकुमार देवकोटाले बताए ।
यस्तै डिभिजन अन्तर्गतका सडक विस्तारको काम पनि तीव्रता दिइरहेको तर पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित भएका कारण सडक मर्मत, स्तरोन्नति तथा कालोपत्रका काममा सुस्तता आएको उनको भनाइ छ ।
‘पेट्रोलियम पदार्थ र बिटुमिनको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम गर्न कठिनाइ भएको गुनासो गरिरहेका छन्,’ डिभिजन प्रमुख देवकोटाले भने, ‘सम्झौता बमोजिम काम गर्न निर्देशन दिइरहेको छु । मूल्य बढ्दैमा काम रोक्न पाइँदैन ।’
सम्झौतामा ‘प्राइस एडजस्टमेन्ट’को प्रावधान भए त्यसै अनुसार दाबी गर्न सकिने, नभए सार्वजनिक खरिद नियमावली अनुसार तोकिएकै समयमा काम सक्नुपर्ने देवकोटाको भनाइ छ ।
नागढुंगा–मुग्लिन पूर्वी खण्डका लागि बिटुमिन अभाव

निर्माण सामग्रीको आपूर्तिमा अवरोध सिर्जना भएपछि निर्माणाधीन नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना पनि प्रभावित भएको छ । विशेषगरी कालोपत्रेका लागि आवश्यक पर्ने बिटुमिन (अलकत्रा)को आपूर्ति सहज नहुँदा आयोजनाको काम रोकिने अवस्थामा पुगेको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)का प्रमुख केशवप्रसाद ओझाका अनुसार वैदेशिक बजारबाट बिटुमिनको आपूर्ति अवरुद्ध हुँदा कालोपत्रेको काम प्रत्यक्ष प्रभावित भएको हो । आयोजनाका दुई खण्डमा दैनिक दुई ट्याङ्कर बिटुमिन आवश्यक पर्ने भए पनि हाल हप्तामा एक–दुई ट्याङ्करमात्र उपलब्ध भइरहेको छ ।
‘अहिलेको अवस्थाले गर्दा काम धेरै लामो समय जान सक्ने देखिँदैन,’ ओझाले भने, ‘पैसा जम्मा गरेर बुक गरिएको बिटुमिन समेत ठेकदारले समयमा पाउन सकेका छैनन् ।’
बिटुमिनमात्र नभई पेट्रोलियम पदार्थबाट बन्ने अन्य सह–उत्पादनहरू (जस्तै पोलिथिन पाइप)को आपूर्तिमा पनि समस्या देखिएको छ ।
निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण चालु वर्षमा राखिएको ‘एग्रेसिभ’ प्रगतिको लक्ष्य पूरा नहुने देखिएको छ ।
मलेखु–मुग्लिन खण्डको काम पनि सुस्त

नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गतको पश्चिम खण्ड (मलेखु–मुग्लिन) विस्तारको काम हालसम्म ४३ प्रतिशत सम्पन्न भएको छ । आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर सचेन्द्र मिश्रका अनुसार केही चुनौतीका कारण कामको गतिमा सामान्य सुस्तता देखिएको छ ।
हाल सो खण्डमा सडकका अप्ठ्यारा मोडहरू काट्ने काम भइरहेको छ । मुग्लिन नजिकैको करिब ३ किलोमिटर क्षेत्रमा रहेका १० देखि १२ वटा मोडहरू काट्नका लागि राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम भइरहेको इन्जिनियर मिश्रले जानकारी दिए ।
‘अप्ठ्यारा मोडहरू काट्नुपर्ने भएकाले सुरक्षाका लागि रात्रिकालीन समयमा बाटो बन्द गर्ने सूचना जारी गरेर काम गरिरहेका छौँ,’ उनले भने ।
कालोपत्रे गर्ने काम भने केही सुस्त देखिएको छ । निर्माण सामग्री, विशेषगरी बिटुमिनको मूल्य वृद्धि र ढुवानी भाडा बढेका कारण निर्माण व्यवसायीहरूले सामग्री खरिदमा केही ढिलाइ गर्दा त्यसको असर कामको गतिमा परेको हो । ‘मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू पर्ख र हेरको अवस्थामा रहेकाले काममा केही सुस्तता देखिएको हो, तर काम पूर्ण रूपमा रोकिएको भने छैन,’ मिश्रले भने ।
पश्चिम खण्डमा भने हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
नारायणगढ–बुटवल पश्चिम खण्डको काम ८० प्रतिशत सम्पन्न
नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्डको भौतिक प्रगति ८०.५ प्रतिशत पुगेको छ । निर्माण सामग्रीको मूल्यवृद्धि र अभावको चुनौतीका बिच पनि काम निरन्तर अघि बढेको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर विकाश खनालले बताए ।
दाउन्ने क्षेत्रमा करिब ३ किलोमिटर कालोपत्रे भइसकेको छ । अहिले बजार क्षेत्रमा सर्भिस लेन र डिभाइडरको काम भइरहेको छ । यी कामहरूसँगै सडकमा ‘रोड मार्किङ’ को काम पनि सुरु हुनेछ । वर्षाअघि नै दाउन्ने खण्डको धेरैजसो काम सक्ने गरी कामदार र उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ ।
अहिले विशेषगरी दाउन्ने खण्डको कामलाई तीव्रता दिइएको छ । इन्जिनियर खनालका अनुसार दाउन्नेमा २.७ किलोमिटर सडक ढलान (रिजिड पेभमेन्ट) गर्न बाँकी छ ।
‘आगामी वैशाख अन्तिमसम्ममा दाउन्नेको एक साइडको सडक पूर्ण रूपमा क्लियर गर्ने लक्ष्य छ,’ उनले भने, ‘एकतर्फी बाटो खुलेपछि गाडीहरूको आवतजावत सहज हुनेछ र अर्कोतर्फको काम गर्न पनि सजिलो हुनेछ ।’
केही दिनअघि मात्र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले सडकको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माण व्यवसायीलाई कामको गति बढाउन निर्देशन दिइएको छ ।
दाउन्नेमा रहेका तीन वटा कल्भर्टको आधा काम सकिएको र अबको डेढदेखि दुई महिनामा कल्भर्टको सबै काम पूरा हुने खनालले जानकारी दिए । यस्तै, किलोमिटर ७१ मा रहेको पहिरो व्यवस्थापनको काम पनि सुरु भइसकेको छ । यसलाई वर्षा सुरु हुनुअघि नै सम्पन्न गर्ने आयोजनाको योजना छ ।
दाउन्ने क्षेत्रमा करिब ३ किलोमिटर कालोपत्रे भइसकेको छ । अहिले बजार क्षेत्रमा सर्भिस लेन र डिभाइडरको काम भइरहेको छ । यी कामहरूसँगै सडकमा ‘रोड मार्किङ’ को काम पनि सुरु हुनेछ । वर्षाअघि नै दाउन्ने खण्डको धेरैजसो काम सक्ने गरी कामदार र उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ ।
बीपीमा छैन समस्या, धुलिखेल–खावा सडक प्रभावित हुन सक्ने
भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बीपी राजमार्ग र धुलिखेल–खावा सडक खण्डको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताए । निर्माण सामग्रीको मूल्य वृद्धि भए पनि ती आयोजनाहरूको काममा खासै अवरोध नआएको उनले स्पष्ट पारे ।
निर्माण सामग्रीको मूल्य बढेका कारण धेरै आयोजनामा निर्माण व्यवसायीले काम रोकेको गुनासो आइरहेका बेला बीपी राजमार्गमा भने त्यस्तो समस्या नरहेको इन्जिनियर योगेशले बताए । उनका अनुसार ठेक्का सम्झौतामा मूल्य समायोजनको व्यवस्था हुने भएकाले व्यवसायीले कामलाई निरन्तरता दिइरहेका छन् । ‘बीपी राजमार्गको निर्माण कार्य एकदमै अगाडि बढेको छ,’ योगेशले भने, ‘मूल्य समायोजनका कारण काममा ढिलासुस्ती भएको छैन ।’
यद्यपि, जाइकाले निर्माण गर्ने भनिएको खण्डमा भने टोली अझै कार्यक्षेत्र (साइट) मा परिचालन भइसकेको छैन । बाँकी तीन वटा खण्डमा भने कामले तीव्रता पाएको उनले जानकारी दिए ।
धुलिखेल–खावा सडक खण्डमा पनि कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ । करिब साढे दुई किलोमिटर खण्डमा एक लेनको सीटीबी (बेस) तयार भइसकेको र पिचका लागि सबै तयारी पूरा भएको छ ।
_tlHWNmedfD.jpg)
इन्जिनियर योगेशका अनुसार वर्षाका कारण रोकिएको कालोपत्र मौसम सफा भएमा भोलिदेखि नै सुरु हुनेछ । ‘यसको सम्झौता अवधि मंसिरसम्म भए पनि हामीले वैशाखभित्रै पिच सक्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ उनले भने ।
पिच सकिएपछि सडक मार्किङ र स्लोप प्रोटेक्सनका बाँकी कामहरू गरिनेछ । तर, बिटुमिन जस्ता सामग्रीको मूल्य अत्यधिक बढेमा भने केही असर पर्न सक्ने उनले सङ्केत गरे ।
हुलाकी राजमार्गः ७४ प्रतिशत प्रगति

हुलाकी राजमार्ग आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजना निर्देशनालयका प्रमुख कुवेर नेपालीले राजमार्ग निर्माणको कामले गति लिएको र आयोजनामा देखिएका मुख्य समस्यालाई फुकाउने काम भइरहेको बताए ।
केही ठाउँमा काम अड्किएकाले अहिले ती क्षेत्रमा प्राविधिक टोलीले विशेष ध्यान दिएर काम गरिरहेको उनको भनाइ छ ।
राजमार्गको काम हालसम्म सन्तोषजनक रूपमा अघि बढे पनि पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव आयोजनामा पर्न सक्ने देखिएको छ । प्रमुख नेपालीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले निर्माण सामग्रीको आपूर्तिमा समस्या आउन सक्ने बताए ।
‘अबचाहिँ आयोजनामा द्वन्द्वको प्रभाव पर्ने देखिन्छ । निर्माण सामग्री, विशेषगरी बिटुमिन र डिजेलको आयात रोकिन सक्छ,’ उनले भने ।
डिजेल र बिटुमिन धेरै समयका लागि भण्डारण (स्टक) गर्न नसकिने र प्रतिलिटर मूल्य पनि धेरै बढेकाले काममा चुनौती थपिएको नेपालीले बताए ।
हाललाई भने पहिले नै मौज्दात रहेको सामग्रीहरूबाट निर्माण कार्यलाई निरन्तरता दिइएको उनको भनाइ छ । नयाँ सामान आयात नभएको र बजारमा मूल्यसमेत बढेकाले आगामी दिनमा निर्माणको गति प्रभावित हुन सक्ने उनले जानकारी दिए ।
कति बढ्यो निर्माण सामग्रीको मूल्य ?
पश्चिम एशियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धिका कारण निर्माण क्षेत्रका लागि अत्यावश्यक सामग्रीहरू सिमेन्ट, डन्डी र बिटुमिनको मूल्य अनपेक्षित रूपमा अकासिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार महँगीकै कारण देशभरका विकास निर्माणका कार्यहरू प्रभावित भई अहिले लगभग ठप्पको अवस्थामा पुगेका छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ, डन्डीमा प्रतिकेजी २० रुपैयाँ र बिटुमिनमा ४५ रुपैयाँसम्म मूल्य बढाइएको जानकारी दिए । यसअघि ८५ रुपैयाँ पर्ने बिटुमिनको मूल्य अहिले १३० रुपैयाँ पुर्याइएको छ भने ७२ रुपैयाँ पर्ने डन्डीको मूल्य ८५ रुपैयाँ पुगेको छ । त्यसैगरी, ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ७०० र पीपीसीको ८०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दरको तुलनामा उल्लेख्य वृद्धि हो ।
अध्यक्ष सिंहले उद्योगीहरूले ‘कार्टेलिङ’ र कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाएको आरोपसमेत लगाए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने बित्तिकै पुरानै मौज्दात (स्टक) रहेको सामानमा मूल्य वृद्धि गरिनु न्यायोचित नभएको उनको तर्क छ ।
उद्योगीहरूले उत्पादन कटौती गरेर बजारमा सामग्रीको अभाव देखाएको र बाहिरबाट नयाँ कच्चा पदार्थ आउन समय लाग्ने भए पनि अहिल्यै मूल्य बढाएर व्यवसायीलाई मारमा पारेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण