धनगढीमा मोनोरेलको सपना बाँडेका सुदूरपश्चिमका पूर्वमन्त्री देउवा जेनजी आन्दोलनपछि अमेरिका पलायन
सारांश
- सुदूरपश्चिमका पूर्वमन्त्री प्रकाश देउवा जेनजी आन्दोलनपछि अमेरिका पलायन भएका छन् र ७ महिनादेखि फर्केका छैनन्।
- कैलालीका मतदाताहरूले आफ्नो क्षेत्रको समस्या उठाउनुपर्ने जनप्रतिनिधि विदेशमा भएकोमा चिन्ता व्यक्त गरेका छन्।
- देउवाको लामो अनुपस्थिति र प्रदेश सभामा अनुपस्थितिका कारण उनको सांसद पद जोखिममा परेको छ।
धनगढी । सुदूरपश्चिम सरकारका पूर्वमन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ (२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रकाश देउवा गत भदौमा भएको जेनजी आन्दोलनपछि अमेरिका पलायन भएका छन् ।
अमेरिका गएको करिब ७ महिनासम्म पनि उनी नफर्किएपछि विभिन्न अड्कलवाजी हुन थालेको छ । कैलाली–५(२) का मतदाता भने आफ्नो क्षेत्रका समस्या प्रदेश सभामा उठाउनुपर्ने जनप्रतिनिधि नै विदेश पलायन भएको भन्दै चिन्ता प्रकट गर्दछन् ।
‘हामीले चुनाव जिताएर पठाएका नेताको सात महिनादेखि नाकमुख देख्न पाएका छैनौँ,’ धनगढी उपमहानगरपालिका–३ का स्थानीय करनसिंह रानाले भने ।
मजदुरी गरेर जीविकोपार्जन गर्ने राना आफ्नो क्षेत्रबाट चुनाव जितेर प्रदेश सभामा पुगेका नेताले जनताको सुख–दुःखमा साथ दिनुपर्ने बताउँछन् ।
‘बर्खा लाग्न लाग्यो, हाम्रो ठाउँमा डुबानको ठुलो समस्या छ । बाटोघाटो पनि व्यवस्थित छैन,’ उनले भने, ‘हाम्रो टोलमा खानेपानीको सुविधा छैन ।’
चुनावका बेला देउवाले धनगढीको मुहार फेर्ने र यहाँ मोनोरेल गुडाउने आकर्षक सपना बाँडेका थिए । प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुँदा उनले धनगढीको मुख्य सडक विस्तारका लागि बजेट छुट्ट्याए, सडक पनि बन्यो । यद्यपि पछिल्लो समय उनी अचानक विदेश पलायन भएपछि भने यस क्षेत्रका मतदातामा चासो बढेको छ ।
जेनजी आन्दोलनका बिच उनी सुटुक्क अमेरिका उडेका थिए । त्यसयता उनी सुदूरपश्चिम फर्किएका छैनन् । एक बहालवाला सांसद सात महिनासम्म मुलुकबाहिर रहँदा न उनको पार्टी नेपाली कांग्रेसलाई आधिकारिक जानकारी छ, न त प्रदेशसभा सचिवालयलाई नै ।
लामो समयको अनुपस्थितिले देउवाको सांसद पद नै जोखिममा पर्ने सम्भावना बढेको छ । सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को धारा १९३ अनुसार कुनै पनि सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित भएमा उसको पद रिक्त हुने व्यवस्था छ । देउवा अनुपस्थित भए यता प्रदेश सभाका सात वटा बैठक सञ्चालन भइसकेका छन् । यदि उनी थप तीन बैठकमा पनि अनुपस्थित भए भने उनको सांसद पद कानुनी रूपमै धरापमा पर्नेछ ।
‘उहाँ अमेरिकामा हुनुहुन्छ भन्ने सुनिन्छ, तर दलको सम्पर्कमा हुनुहुन्न । जाने बेला कसैलाई औपचारिक जानकारी दिनुभएन । हामीलाई पनि धेरै केही जानकारी छैन,’ कांग्रेसका एक नेताले भने ।
पछिल्लो समय देउवा परिवारका सदस्यहरू विदेश आउजाउ निकै बाक्लिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा हाल हङकङमा छन् । सिङ्गापुरमा स्वास्थ्य उपचार गराएपछि उनीहरू हङकङ पुगेका हुन् ।
भदौको ‘जेनजी’ आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित घरमै प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका देउवा दम्पती त्यसयता पटक–पटक उपचारका लागि विदेश धाइरहेका छन् । उनका छोरा जयवीर सिंह देउवा लामो समयदेखि विदेशमै छन् भने अर्का भतिज भानु देउवा भर्खरै मात्र सिंगापुरबाट स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण