हामीले जनमतको सदुपयोग गर्न जानेनौँ, नयाँ शक्तिले कमजोरीबाट शिक्षा लिओस् : वर्षमान पुन
सारांश
- सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा गणतन्त्र र समावेशीतामाथि सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन्।
- उनले विगतमा कम्युनिष्ट पार्टीले पाएको जनमतको सदुपयोग गर्न नसकेको स्वीकार गर्दै नयाँ शक्तिलाई कमजोरीबाट शिक्षा लिन सुझाव दिएका छन्।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीता जस्ता प्राप्त उपलब्धिका विषयमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको मूल राजनीतिक ढाँचा र सामाजिक न्यायको मुद्दामा आफ्नो पार्टी अडिग रहने बताएका हुन् ।
राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारलाई सहयोग गर्न नेकपा सधैं तयार रहेको उनले उल्लेख गरे । सांसद पुनले विगतमा कम्युनिष्ट पार्टीहरूले प्राप्त गरेको विशाल जनमतको सही सदुपयोग गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै नवनिर्वाचित शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई विगतका गल्तीबाट पाठ सिक्न सुझाव दिएका छन् ।
२०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले पाएको भारी जनसमर्थन र २०७४ सालको निर्वाचनपछि बनेको झण्डै दुई तिहाइ बहुमतको सरकारले अवसर पाएर पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनले स्मरण गरे । ‘हामीले जनमतको सदुपयोग गर्न जानेनौं र सकेनौं, हाम्रा यस्ता कमजोरीबाट शिक्षा लिएर नयाँ शक्तिले देश र पार्टीलाई अगाडि बढाओस्,’ उनले सदनमा भने ।
सामाजिक न्याय र समाज रूपान्तरणको सवालमा सरकारले चाल्ने सकारात्मक कदममा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता पुनले व्यक्त गरे । तर, संविधान संशोधनको बहस चलिरहँदा गणतन्त्र र समावेशीता जस्ता आधारभूत स्तम्भहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको चेतावनी छ ।
उनले सरकारलाई जिम्मेवार ढङ्गले काम गर्न आग्रह गर्दै राष्ट्रिय हित र जनजीविकाका सवालमा नेकपाले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् । नयाँ राजनीतिक परिस्थितिमा सबै दलहरू मिलेर मुलुकलाई निकास दिनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण