बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

शुक्रबार, २० चैत २०८२, १७ : १३
शुक्रबार, २० चैत २०८२

सारांश

  • काठमाडौँ प्रहरीले १७ करोड ७९ लाख भन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका चिनियाँ नागरिकले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने र सो रकम क्रिप्टोमा लगानी गर्ने गरेको खुलेको छ।
  • अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले निजमाथि थप अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ । नेपाली नागरिकहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ठगी गर्ने र उक्त रकमलाई अवैध रुपमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) मा कारोबार गर्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार ठमेल क्षेत्रबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फेङले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने र उनीहरूलाई विभिन्न प्रलोभन देखाई विश्वासमा लिने गरेका थिए ।

उनले नेपाली नागरिकहरुकै बैंक खाताहरू प्रयोग गरेर ठगीको रकम संकलन गर्ने र सो रकमलाई अभौतिक मुद्रामा रूपान्तरण गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले शुक्रबार जनाएको छ । 

१७ करोड ७९ लाखको कारोबार

प्रहरीले निजको साथबाट १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ २३ पैसा बराबरको क्रिप्टोकरेन्सीको कारोबार भएको विवरण फेला पारेको छ ।

यसैगरी, निजको साथबाट ३ थान मोबाइल फोन र रकम पठाउन प्रयोग गरिने ’इन्टरनेशनल एक्सप्रेस’लेखिएका विभिन्न कागजातहरू समेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार, पक्राउ परेका फेङलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी मानिन्छ। निजले अन्य को–कोसँग मिलेर यस्तो ठूलो रकमको अवैध कारोबार गरेका हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप