कर्णालीका मुख्यमन्त्रीले भने– म सुरक्षित छु, तर मेरो पार्टी कार्यालय असुरक्षित भयो
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफू सुरक्षित भए पनि पार्टी कार्यालय असुरक्षित भएको टिप्पणी गरेका छन्।
- वीरेन्द्रनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण भएको र त्यसपछि प्रहरीले पार्टी कार्यालयमा लाठीचार्ज गरेको घटनामा विवाद देखिएको छ।
- प्रदेश प्रहरी प्रमुख डीआईजी जय राज सापकोटाले शान्ति सुरक्षा कायम गर्न प्रहरीले बल प्रयोग गर्नुपरेको स्पष्ट पारेका छन्।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज आफू सुरक्षित भए पनि आफ्नो पार्टी कार्यालय सुरक्षित हुने अवस्था नरहेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित मानवअधिकार सम्बन्धीको एक कार्यक्रममा बोल्दै कँडेलले यस्तो बताएका हुन् ।
‘म त यहाँ बसिरहन्छु, म मुख्यमन्त्री भएको हुनाले मेरा अगाडि पछाडि राज्यले दिएको सुरक्षा लिएर हिँडिरहेको छु,’कँडेलले भने, ‘तर म रहेको पार्टी कार्यालय आज सुरक्षित नहुने अवस्था छ ।’
कँडेलको यो भनाइ केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको लागि वीरेन्द्रनगरमा आयोजित मसाल जुलुस कार्यक्रमसँग केन्द्रित थियो । उक्त कार्यक्रममा सुरक्षा दिइरहेका इन्स्पेक्टर राजन भट्टराईको सुरुमा एमालेका एक कार्यकर्ताले हानेर दाँत भाँचिदिएका थिए ।
त्यसपछि रिसाएको प्रहरी पार्टी कार्यालयमा समेत प्रवेश गरी एमालेका नेता तथा कार्यकर्ताहरूलाई लाठीचार्ज गरेको थिए । उनीहरुले प्रहरीले दमन गरेको भन्दै टिप्पणी गरिरहेका छन् ।
प्रदेश प्रहरी कार्यालयमा प्रमुख समेत सहभागी भएकाले होला यही विषयमा कँडेलले बोलेका थिए ।
कँडेलले अगाडी भने, ‘आन्दोलनमा दुःखद घटनाहरू हुन्छन्, भइरहेका छन्, नहुनुपर्ने थियो, आन्दोलनकारीले पनि विवेक गुमाउनु हुँदैन ।’
तर त्यो भन्दा जिम्मेवारीमा रहेकाहरूले (प्रहरी) जतिसुकै दुःखद घटना घटेको भए पनि संयमित हुनुपर्ने उनले बताए ।
‘तर त्यही संयमितता गुमायो भने के हुन्छ ? समाज अर्कै ठाउँमा पुग्छ,’ कँडेलले थपे ।
कँडेलले आफू बोलेर कार्यक्रमबाट निस्किसकेका थिए । उनी भन्दा पछाडि बोलेका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) जय राज सापकोटाले काउन्टर जवाफ दिए ।
उनले आन्दोलन गर्दा कुनै आपत्ति नहुने बताए । तर शान्ति सुरक्षा भङ्ग गर्न नहुने उनले बताए ।
‘आन्दोलन गर्नुहोस्, कुनै आपत्ति छैन तर शान्ति सुरक्षामा भङ्ग हुने हिसाबले चाहिँ हुँदैन है भनेर उहाँहरूको जुलुस अघि गयो, हाम्रो प्रहरी पछिपछि थियो,’घटनाबारे सापकोटाले प्रष्टीकरण दिए, ‘सहमति अनुसार नै राँको राखियो । राँको राख्ने ठाउँमा राज्यका ठुलै मान्छेहरूले घेरेर इन्स्पेक्टरको दाँत भाँचिदिनुभयो ।’
सापकोटाले उक्त घटनामा अहिले सरकारको जनप्रतिनिधि समेत रहेका मान्छेको सहभागिता रहेको सङ्केत गरे ।
‘त्यस्तो अवस्थामा के हामीले हेरेर बस्ने ?,’ उनले प्रश्न गरे, ‘प्रहरीको शरीरमा त्यहाँ काँटीले हो कि केले घोचेको छ, भाटाले हानेको छ । त्यो अवस्थामा लाठी चार्ज गर्ने अधिकार हाम्रो हो ।’
त्यसपछि बल प्रयोग गरिएको र त्यस क्रममा अलिअलि चोटपटक लागेको उनले बताए ।‘सत्यतथ्य त्यही हो, त्यो भन्दा बढी पनि छैन, त्यो भन्दा घटी पनि छैन,’ सापकोटाले थपे, ‘अहिले पनि उपचार जारी छ, उसको अगाडिको दुइटा दाँत झरेको छ ।’
सापकोटाले थप प्रष्टीकरण दिँदै प्रदर्शनलाई पनि शान्तिपूर्ण र संयमपूर्वक गर्नुपर्ने बताए । ‘शान्ति होस्, सुरक्षा होस्, त्यसैका लागि त प्रहरी हो त यार,’ उनले थपे, ‘अर्कालाई पर्दा खुसी हुने, आफूलाई पर्दा चाहिँ दुःखी हुने काम गर्नु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण