बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जबरजस्ती करणी मुद्दा ‘मिलापत्र’ गराउन खोज्ने ७ जना बिचौलिया पक्राउ

शनिबार, २१ चैत २०८२, १५ : ४२
शनिबार, २१ चैत २०८२

सारांश

  • सिन्धुपाल्चोकमा जबरजस्ती करणी मुद्दा मिलापत्र गराउन खोज्ने ७ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूले पीडितलाई धम्की दिँदै आर्थिक लेनदेन गरिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो।
  • अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको छ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जबरजस्ती करणी जस्तो गम्भीर अपराधको मुद्दालाई पैसाको प्रलोभन र डर- धम्की देखाएर मिलापत्र गराउन खोज्ने ७ जना बिचौलियाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले विशेष सूचनाको आधारमा चौतारा साँगाचोकगढी नगरपालिका- १ स्याउलेबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेहरूमा जुगल गाउँपालिका–२ का ४५ वर्षीय श्रीकाजी दोङ, ५० वर्षीय माइला दोङ, २४ वर्षीय सुशील दोङ, ४२ वर्षीय मिकमार दोङ, ३१ वर्षीय विशाल दोङ, ३२ वर्षीय नेत्र दोङ र ५२ वर्षीय ङेमा छिरिङ लामा रहेका छन्।

प्रहरीका अनुसार २०८२ चैत १६ गते दर्ता भएको जबरजस्ती करणी मुद्दाका प्रतिवादीसँग मिलेर यी बिचौलियाहरूले पीडित र उनीहरूको परिवारलाई मुद्दा फिर्ता लिन र मिलापत्र गर्न दबाब दिइरहेका थिए । उनीहरूले कानुन विपरीत आर्थिक लेनदेन गरिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो। 

सो क्रममा ५ लाख १६ हजार ९३२ रुपैयाँ नगद, ग्लोबल आईएमई बैंक र सिन्धु विकास बैंकका गरी २ लाख ३५ हजार रुपैयाँ बराबरको नकाटिएको र काटिएको चेक तथा ७ थान मोबाइल फोन बरामद गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २२७ (क) अनुसार जबरजस्ती करणी जस्ता जघन्य अपराधमा मिलापत्र गराउनु वा गराउन खोज्नु आफैँमा दण्डनीय कसुर हो । 

सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद थप गरी अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले जबरजस्ती करणी जस्ता मुद्दामा कुनै पनि बहानामा मिलापत्र गर्न नमिल्ने भन्दै यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप