बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी सरकारले आयोजना बैंकबाट मात्रै योजना छनोट गर्ने

सोमबार, २३ चैत २०८२, १३ : ५७
सोमबार, २३ चैत २०८२

सारांश

  • लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी सुरु गरेको छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्यले अब आयोजना बैंकबाट सिफारिस भएका योजनामात्र बजेटमा समावेश गरिने बताएका छन्।
  • संसदीय बजेट कार्यालय स्थापना गरेर बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने छलफल भएको छ।

बुटवल । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारीमा जुटेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको वास्तविक अवस्था र क्षमतालाई ध्यानमा राखेर बजेट निर्माण गरिने बताएका छन् ।

राप्ती उपत्यका (देउखुरी)मा सोमबार आयोजित संसदीय बजेट कार्यालय सम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले बजेटलाई कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले विगतमा प्राविधिक कारणले केही कमजोरी देखिए पनि अबको बजेट यथार्थपरक हुने स्पष्ट पारे ।

अब आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्र बजेटमा समावेश गरिने मुख्यमन्त्री आचार्यको भनाइ छ । योजना छनोट प्रक्रियामा सुधार गर्दै व्यवस्थित प्रणाली विकास गर्ने उनले बताए ।

कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले बजेट तर्जुमा प्रक्रियालाई थप वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताए । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, उपसचिव लोकमणी पाण्डे तथा अर्थशास्त्री डा. सुदनकुमार वलीले बजेट प्रणालीका चुनौती र सुधारका उपायबारे प्रस्तुति दिएका थिए ।

छलफलमा संसदीय बजेट कार्यालय (पीबीओ) स्थापना आवश्यक रहेकोमा जोड दिइयो । यस्तो संयन्त्रले प्रदेश सभा सदस्यलाई बजेटको भाषा, संरचना र प्रभाव बुझ्न सहयोग गर्ने विश्वास गरिएको छ ।

साथै बजेट विश्लेषण तथा निगरानी संयन्त्रलाई संस्थागत गर्ने, वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने, बजेट अनुशासन कायम गर्ने लगायतका सुझाव सो अवसरमा प्रस्तुत गरिए ।

कार्यक्रममा लैङ्गिक तथा सामाजिक समावेशीता, जलवायु उत्तरदायित्व, वित्तीय समन्वय, तथ्याङ्क प्रणाली सुधार तथा बजेट साक्षरता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप