शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मधेसका गृहमन्त्रीद्वारा दशगजा क्षेत्रको निरीक्षण

सोमबार, २३ चैत २०८२, १५ : ००
सोमबार, २३ चैत २०८२

सारांश

  • मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गरेका छन्।
  • मन्त्री महतोले अदालतको आदेशले रोकिएको नाला निर्माण कार्यको अवलोकन गर्दै समस्या समाधानका लागि पहल गर्न निर्देशन दिएका छन्।
  • निरीक्षणका क्रममा मन्त्री महतोले मटिहानीस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा दर्शनसमेत गरेका छन्।

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सोमबार महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गरेका छन् ।

सो अवसरमा मन्त्री महतोले सीमाक्षेत्रको शान्ति–सुरक्षा अवस्था तथा विकास निर्माणमा भएका प्रगतिबारे जानकारी लिएका छन् ।

सोमबार बिहान मटिहानी पुगेका मन्त्री महतोले दशगजा क्षेत्रमा निर्माणाधीन तर हाल रोकिएको नाला निर्माण कार्यको समेत अवलोकन गरे । स्थानीय बजरंजी प्रसाद साह र शिवा साहले आफ्नो निजी जग्गामा नाला निर्माण गर्न लागिएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता गरेपछि अदालतले तत्काल काम रोक्न आदेश दिएको थियो ।

निरीक्षणका क्रममा मन्त्री महतोले विकास निर्माणका काममा अवरोध हुन नहुने बताउँदै दुवै पक्षबिच छलफल गरी समस्याको समाधान खोज्न आग्रह गरे । उनले जग्गाको यकिन गरी सम्बन्धित पक्षलाई क्षति नपुग्ने गरी आवश्यक पहल थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री महतोले मटिहानीस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा दर्शनसमेत गरेका छन् । उनलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल तथा मठका उत्तराधिकारी महन्थ डा. रविन्द्र दास वैष्णवले स्वागत गरेका थिए ।

मन्त्री महतोसँगै प्रदेश सभा सदस्य सुनिता कुमारी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखहरू पनि निरीक्षणमा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप