सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
बढ्दो तस्करी

मोरङका सीमा नाकामा पुरानै शैलीमा तस्करीको धन्दा, नयाँ सरकारलाई चुनौती

एक हप्ता चुप लागेर बसेको गिरोह पुनः सक्रिय
बिहीबार, २६ चैत २०८२, १८ : ००
बिहीबार, २६ चैत २०८२

सारांश

  • मोरङका सीमा नाकामा तस्करीको धन्दा पुनः पुरानै शैलीमा सक्रिय हुन थालेको छ।
  • अवैध क्रसर उद्योग र चोरी पैठारी रोक्न सरकारले चालेका कदम प्रभावकारी देखिएका छैनन्।
  • सीमा क्षेत्रबाट हुने अर्बौँको चोरी पैठारीका कारण राज्यले वार्षिक ठुलो परिमाणमा राजस्व गुमाइरहेको छ।

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह नियुक्त भएपछि कोशीका सांसदसँगको छलफलमा मोरङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले तस्करी रोक्नुपर्ने धारणा राखे । सीमा क्षेत्रबाट हुने तस्करी रोक्नुपर्ने, अवैध क्रसर उद्योगहरू बन्द गराउनुपर्ने, कुखुरा तस्करी रोक्नुपर्नेलगायत थुप्रै माग सांसदहरूले जोडतोडले उठाए । 

सांसदहरूले उठाएका विषय प्रधानमन्त्री शाहले सुने पनि प्रतिक्रिया भने दिएनन् । तर, गृहमन्त्रालयले क्रसर उद्योगलक्षित पत्र पठाउँदै तत्काल अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरू बन्द गराउन निर्देशन दियो । आदेशअनुसार मोरङको सुरक्षा टोलीले कतिपय क्रसर उद्योगहरू बन्द पनि गराए । तर, त्यसको केही दिनमै फेरि खुले । किनकि उत्खननका लागि ठेक्का पाएका उद्योगहरूले पालिकालाई गुहार गरे र पालिकाले जिल्ला प्रशासन कार्यालयमा दबाब दिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय मोरङले सबै क्रसर उद्योग बन्द नगर्ने बरु अवैध तरिकाले चलाएको पाइएजति बन्द गर्न अनुगमन सुरु गर्‍यो । 

हालसम्म जिल्लाका १० वटा अनुगमन गरेकोमध्ये २ वटा क्रसर उद्योग गैरकानुनी रूपमा सञ्चालन भइरहेको पाइएको प्रशासन कार्यालयस्रोतले जनाएको छ । मोरङमा १६ वटा क्रसर उद्योग सञ्चालनमा छन् । 

यस्तै प्रशासन कार्यालयले अवैध ढंगले आयात भएका केही मालवस्तुहरू पनि बरामद गरेको छ । बुधबार मात्रै डेढ लाखभन्दा बढी मूल्य पर्ने बिनाबिलका अवैध पेय पदार्थहरू बरामद गरिएका थिए । सुनवर्षीमा त अवैध ढंगले आयात गरेका त्यस्ता पेय पदार्थको गोदाम नै फेला परेपछि एक जना पक्राउ परेका छन् । 

गृहमन्त्रालयको आदेशपछि प्रशासन तात्तिएजस्तो गरे पनि जानकारहरू भने ‘लाइन चालु’ रहेको बताउँछन् । ‘खाद्यान्नको त ट्रकहरू नै आइरहेको बुझिन्छ । गाई र गोरु तस्करी चलिरहेकै छ । माछा तस्करी उस्तै छ,’ उक्त स्रोतले भन्यो, ‘सुनसरीको नाका बढी प्रयोग भइरहेको सूचना छ ।’ 

naka

उक्त स्रोतका अनुसार झापाको नाकाहरूबाट अवैध तरिकाले ढुंगा गिट्टीको तस्करी भइरहेको छ । सीमा क्षेत्र नजिकै बनाइएका डमी कुखुरा फार्महरूबाट कुखुरा, कुखुराका चल्लादेखि दानाको तस्करी भइरहने पुरानै चलन हो । ‘सुनसरीको नाका मोरङ र झापाभन्दा पनि सहज ठानिएको छ,’ उक्त स्रोत भन्छ, ‘तस्करहरूले नयाँ सरकारलाई हेरौँ न त भनेर एक हप्ता हेरेपछि अहिले पुरानै धन्दा चलाउन सुरु गरेका छन् ।’

विशेषगरी मोरङको सीमा नाका, ढाट, दरैया, पोस्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरी लत्ताकपडाजन्य वस्तुहरू आइरहेका स्रोतको दाबी छ । ‘लेडिज आइटमहरू (कुर्ता, लेहँगा, साडीलगायत)को तस्करी त अहिले पनि जारी छ । पहिले पहिले विराटनगरसम्म हुन्थ्यो अहिले काठमाडौँमा तस्करीको सामान पुग्छ,’ स्रोतको दाबी छ । 

तस्करीको सामान भारतीय सीमाछेउका गोदाममा थन्क्याएर प्रहरीकै सामुन्ने नेपालतिर ल्याइने प्रस्ट देखिने स्थानीय बताउँछन् । कोशी प्रदेशको महत्त्वपूर्ण नाकाको रूपमा रहेको जोगवनीलक्षित सरकारी अड्डामा सरुवा मिलाउन प्रहरी अधिकारीहरूबिच ठुलो लेनदेन नै हुने गर्छ । त्यस्तो अवस्था अहिले पनि नरोकिएको स्रोत दाबी गर्छ । 

सरकार नै भन्छ – अर्बौँको तस्करी

पूर्वसचिव विद्याधर मल्लिकको संयोजकत्वमा लक्ष्मण अर्याल, प्राडा रामप्रसाद ज्ञवाली र श्यामप्रसाद दाहाल रहेको करप्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन अवैध आयात तथा कारोबारमा नेपालले वार्षिक कम्तीमा २ अर्ब ९१ करोड रुपैयाँ राजस्व (भन्सार, भ्याट र अन्तःशुल्क) गुमाइरहेको छ । 

यस्तै प्रतिवेदनका आधारमा आर्थिक वर्ष २०७९/८० मा मात्रै विभिन्न निकायले १ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान चोरी पैठारीका क्रममा बरामद गरी मुद्दा चलाएका थिए । यो बरामद भएको अंक मात्रै हो, वास्तविक छली योभन्दा निकै बढी हुन सक्ने प्रतिवेदनले जनाएको छ । 

समितिले सो प्रतिवेदन २०८० फागुन २० गते सरकारलाई बुझाएको थियो । प्रतिवेदनले अवैध कारोबार रोक्न थप अध्ययन र नयाँ समिति गठनको सिफारिस गरे पनि सरकारले यसमा चासो देखाएको छैन । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका २५४ वटा बीओपी र ३७ हजार जनशक्ति परिचालन गरिएको छ । 

naka2

भारतबाट नेपालतर्फ हुने अनौपचारिक पैठारीको परिमाण र अनुपात सम्बन्धमा नेपाल पक्षबाट हालसालै कुनै अध्ययन गरिएको देखिँदैन । भारत सरकारले सन् २००४ निशा तनेजा, एम सर्वनाथन, बिके कर्माचार्य र एस रोहितले गरेको इन्डियाज इन्फर्मल ट्रेड विथ श्रीलंका एन्ड नेपालको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘भारतीय भूमिमा उभिएर विश्लेषण गर्दा भारतबाट नेपालतर्फ हुने औपचारिक निर्यात (नेपालको औपचारिक आयात)भन्दा अनौपचारिक निर्यात (नेपालको अनौपचारिक आयात) १२८ प्रतिशतले बढी छ ।’

भारतीय पक्षको अनुमान अनुसार वार्षिक १८० मिलियन अमेरिकी डलर बराबरको अनौपचारिक व्यापार भारतबाट नेपालतर्फ हुने गरेको छ ।यस्तै नेपालबाट २२८ मिलियन डलर बराबरको सामान अनौपचारिक रूपबाट भारत जान्छ ।

भारतबाट नेपाल आउने सामानमा मुख्यतया भारतमै उत्पादित वस्तुहरू छन् । जस्तैः कपडा, प्रशोधित र अप्रशोधित खाद्य सामग्री, सिमेन्ट, सवारी साधनका पार्टपुर्जा र इलेक्ट्रोनिक्सहरू छन् । नेपालबाट भारत जाने सामानमा धेरैजसो तेस्रो मुलुक (चीन आदि) बाट आएका वस्तुहरू हुन्छन् । त्यसमा इलेक्ट्रोनिक्स (३५ प्रतिशत), कपडा (३५ प्रतिशत), मसाला, जुत्ता, र केही स्थानीय उत्पादनहरू जस्तैः तयारी पोशाक, अदुवा, घ्यू र वनस्पति तेल रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप