बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमतीमा सार्वजनिक सवारीको भाडा २५.९६ प्रतिशतसम्म बढाउन सिफारिस

शुक्रबार, २७ चैत २०८२, १८ : १४
शुक्रबार, २७ चैत २०८२

मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गर्ने तयारी गरेको छ । शुक्रबार बसेको भाडा निर्धारण तथा समायोजन समितिको बैठकले प्रदेशको उपत्यका सहितका जिल्लाहरूमा सञ्चालन हुने सवारी साधनको भाडादर वृद्धि गर्न सिफारिस गरेको छ ।

सिफारिस समितिको निर्णय अनुसार काठमाडौँ उपत्यकामा यात्रुवाहक सार्वजनिक सवारी साविकको भाडादरमा २५.९६ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार ‘प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८’ को नियम ४ को उपनियम (१) बमोजिम गठित समितिले नयाँ भाडादर निर्धारण गरी सिफारिस गरेको हो।

नियम ४ बमोजिम गठित उक्त समितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख संयोजक रहने व्यवस्था छ भने मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि र यातायात व्यवस्था कार्यालयका प्रमुखहरू सदस्य रहने व्यवस्था रहेको छ।

समितिको निर्णय अनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडा साविकको भाडादरमा २५.९६ प्रतिशतले वृद्धि गर्न सिफारिस गरिएको उनले बताए । उपत्यका बाहिर यात्रुवाहक सवारी साधनको हकमा १७.३५ प्रतिशत भाडा दर बढाउने निर्णय भएको उनले बताए। 

ट्याक्सीको भाडादरमा १२.३९ प्रतिशत वृद्धि गर्ने र मालवाहक सवारी साधनमा २६.७९ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको उनले बताए। उनका अनुसार विद्युतीय सवारी साधनको हकमा भाडादर यथावत् राखिएको छ । विद्युतीय सवारी साधनको हकमा भने २०७९ मा नै भाडादर निर्धारण भइसकेकाले हाललाई कुनै फेरबदल नगर्ने समितिले निर्णय गरेको छ।

महाशाखा प्रमुख श्रेष्ठका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण भाडा समायोजनको सिफारिस गरिएको हो । वृद्धि गर्ने सिफारिस भएको भाडादर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहमतिका लागि पठाएको उनले बताए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत भएपछि उक्त निर्णयलाई प्रदेश राजपत्रमा प्रकाशन गरिने र राजपत्रमा सूचना प्रकाशित भए लगत्तै नयाँ भाडादर आधिकारिक रूपमा लागू हुने उनले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप