बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेफ्री एप्स्टिन प्रकरण

प्रथम महिलाले मुख खोल्दा ट्रम्प प्रशासनलाई नै धक्का

ह्वाइट हाउसमा मेलानिया ट्रम्पको अप्रत्याशित सम्बोधन
शनिबार, २८ चैत २०८२, १३ : ००
शनिबार, २८ चैत २०८२

सारांश

  • अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले जेफ्री एप्स्टिन प्रकरणसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै झुटा आरोप बन्द गर्न माग गरेकी छिन्।
  • उनले एप्स्टिनका पीडितहरूलाई कङ्ग्रेसको सार्वजनिक सुनुवाइमा बोलाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेकी छिन्।
  • प्रथम महिलाको यो अप्रत्याशित अभिव्यक्तिले ट्रम्प प्रशासनलाई दबाबमा पार्दै राष्ट्रपतिसँगको उनको बढ्दो दूरीलाई सङ्केत गरेको छ।

वासिङ्टन डिसी । बिहीबार जब अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प ह्वाइट हाउसको पोडियममा उक्लिइन्, तब त्यहाँबाट यति ठूलो र अप्रत्याशित बयान आउला भनेर कसैले सोचेका थिएनन्। ठ्याक्कै एक हप्ताअघि मात्रै सोही स्थानबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषयमा राष्ट्रलाई सम्बोधन गरेका थिए।

प्रथम महिलाको यो सम्बोधनलाई लिएर चासो त थियो, तर यो यति सनसनीपूर्ण हुनेछ भन्ने अनुमान कसैले गरेका थिएनन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई समेत यो सम्बोधनको विषयवस्तुबारे कुनै पूर्वजानकारी थिएन। 

अमेरिकी झण्डाहरूको बिचमा उभिएर उनले बोलेको पहिलो वाक्यले नै सुन्ने सबैलाई स्तब्ध बनायो। उनले भनिन्, ‘कलङ्कित जेफ्री एप्स्टिनसँग मलाई जोडेर लगाइएका झुटा आरोपहरू आजैबाट बन्द हुनुपर्छ।’

उनको यो भनाइसँगै ट्रम्प प्रशासनलाई सताइरहेको जेफ्री एप्स्टिन प्रकरण अचानक फेरि चर्चाको केन्द्रमा आइपुगेको छ, त्यो पनि उनकै पत्नीको कारणले। विषयवस्तुको गम्भीरतालाई बुझ्दै अमेरिकी न्युज च्यानलहरूले इरानसँग सम्बन्धित आफ्ना नियमित समाचार प्रसारण रोकेर ह्वाइट हाउसबाट प्रत्यक्ष प्रसारण देखाउन थालेका थिए।

मेलानिया ट्रम्प सामान्यतया मिडियाबाट टाढै रहन रुचाउँछिन् र सीमित सार्वजनिक कार्यक्रमहरूमा मात्रै सहभागी हुने गर्छिन्। उनलाई आफ्ना पति डोनाल्ड ट्रम्पलाई जस्तो मिडियामा छाउने वा सनसनी मच्चाउने कुनै चाहना पनि हुँदैन। 

तर, यसपटक उनले लिखित मन्तव्य पढेर सुनाउँदै जेफ्री एप्स्टिन वा उनकी सहयोगी घिस्लेन म्याक्सवेलसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन्। उनले एप्स्टिनले आफूलाई डोनाल्ड ट्रम्पसँग नभेटाएको र एप्स्टिनका अपराधहरूबारे आफूलाई कुनै जानकारी नभएको पनि बताइन्। मन्तव्यको अन्त्यमा उनले सत्यतथ्य बाहिर ल्याउनका लागि एप्स्टिनका पीडितहरूलाई अमेरिकी कङ्ग्रेसको सार्वजनिक सुनुवाइमा बोलाएर उनीहरूको बयान लिनुपर्ने माग गरिन्।

यदि उनले पत्रकारहरूका प्रश्नको उत्तर दिएकी भए, पक्कै पनि पहिलो प्रश्न यो हुने थियो कि यति लामो समयपछि अचानक अहिले आएर यौन अपराधी जेफ्री एप्स्टिनसँग आफूलाई अलग देखाउन र पहिलोपटक सार्वजनिक रूपमा बोल्न उनलाई किन आवश्यक पर्‍यो ? 

विगतदेखि नै उनीमाथि लागिरहेका सामान्य आरोपहरूलाई लिएर उनी सधैँ आफ्ना वकिलहरूमार्फत मात्रै बोल्ने गर्थिन्। यसपटक उनी आफैँ अगाडि सरेर बोल्नुले कुनै नयाँ विवाद आउनुअघि नै त्यसलाई साम्य पार्न खोजेको हुन सक्ने अनुमान पनि गरिएको छ।

दशकौँदेखि एप्स्टिन प्रकरणमा रिपोर्टिङ गर्दै आएकी अनुसन्धानात्मक पत्रकार विक्की वार्ड यो प्रेस कन्फ्रेन्सको समयलाई लिएर आश्चर्यचकित छिन्। उनी भन्छिन्, ‘यदि मेलानिया ट्रम्पले एप्स्टिन प्रकरण सुरु हुनेबित्तिकै, अर्थात् एक वर्षअघि नै यसो भनेर कङ्ग्रेसलाई पीडितहरूका कुरा सुन्न आग्रह गरेकी भए, यसको अर्थ छुट्टै हुने थियो।’ 

64157410-3458-11f1-9baf-0b7acbe032a6.jpg

वार्डका अनुसार एप्स्टिनका फाइलहरूमा घिस्लेन म्याक्सवेललाई पठाइएको एउटा सामान्य इमेलबाहेक मेलानिया ट्रम्पको नाम खासै जोडिएको छैन र कसैले पनि उनलाई एप्स्टिनको पीडित मानेको छैन। त्यसैले उनको यो भनाइको खासै औचित्य देखिँदैन।

यस प्रकरणलाई अझ रहस्यमयी बनाउने कुरा त के छ भने, मेलानियाका प्रवक्ताले सुरुमा राष्ट्रपति ट्रम्पलाई यो सम्बोधनबारे जानकारी भएको बताए पनि पछि राष्ट्रपति ट्रम्प आफैँले आफूलाई यसबारे केही थाहा नभएको प्रतिक्रिया दिए।

मेलानियाको बयानपछि एप्स्टिनका पीडितहरूले तत्काल प्रतिक्रिया जनाएका छन्। उनीहरूले अचम्म मान्दै यसको कसरी जवाफ दिने भनेर छलफल सुरु गरेका थिए। 

20a7133999ef-donald-and-melania-trump-relationship-timeline

भर्जिनिया रोबर्ट्स गिउफ्रेको परिवार र अन्य १३ जना पीडितहरूले संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्, सत्यतथ्य बाहिर ल्याउने जिम्मा पीडितहरूको होइन, बरु न्याय सुनिश्चित गर्ने निकायहरूको हो। उनीहरूले भनेका छन्, ‘प्रथम महिला मेलानिया ट्रम्पले अहिले शक्तिको आडमा न्याय विभाग, प्रहरी, अभियोजकहरू र ट्रम्प प्रशासनलाई बचाउन खोज्दैछन्। ट्रम्प प्रशासनले अझै पनि एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट (एप्स्टिन फाइल पारदर्शिता ऐन) पूर्ण रूपमा पालना गरेको छैन।’

डेमोक्र्याटहरूले लामो समयदेखि न्याय विभागले विना कारण धेरै महत्त्वपूर्ण कागजातहरू लुकाएको आरोप लगाउँदै आएका छन्। न्याय विभागले ६० लाख कागजातमध्ये ३५ लाख मात्रै सार्वजनिक गरेको छ र बाँकी कागजात सार्वजनिक गर्न कानुनी बाधा रहेको बताएको छ।

सन् २०१९ को सङ्घीय अभियोगपत्रअनुसार १४ वर्षको उमेरमा एप्स्टिनबाट यौन शोषणमा परेकी मरिना ल्यासेर्डाले पनि प्रथम महिलाको भनाइको कडा आलोचना गरेकी छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘यसले ध्यान अन्तै मोड्न खोजेको जस्तो देखिन्छ। यसबाट ट्रम्प परिवारलाई के फाइदा हुन्छ, मेरो प्रश्न यही हो।’

तर, अर्की पीडित लिसा फिलिप्सले भने मेलानियाको कदमलाई साहसिक भनेकी छन्। बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा बोल्दै फिलिप्सले भनिन्, ‘न्याय विभागले एप्स्टिन फाइलको च्याप्टर बन्द गर्न खोजिरहेको बेला प्रथम महिलाले पीडितहरूलाई संसद्‌मा बोलाएर कुरा सुन्नुपर्छ भन्नु सकारात्मक कदम हो।’ 

melania-trump-1-rt-gmh-260409_1775759877890_hpMain_16x9

यद्यपि, उनले मेलानियालाई आफ्ना भनाइलाई व्यवहारमा उतार्न चुनौती पनि दिएकी छन्। ‘अब तपाईंले जे बोल्नुभयो, त्यसलाई कार्यान्वयन गर्न के गर्नुहुन्छ? हामीलाई कसरी सहयोग गर्नुहुन्छ?’ भनेर उनले प्रश्न गरेकी छन्।

एप्स्टिन फाइलहरूको अनुसन्धान गरिरहेको हाउस ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कोमरले शुक्रबार फक्स न्युजसँग कुरा गर्दै अनुसन्धान सकिएपछि पीडितहरूसँग सुनुवाइ गर्ने योजना पहिलेदेखि नै रहेको बताएका छन्। रिपब्लिकन नेता कोमरले भने, ‘म प्रथम महिलासँग सहमत छु र उनको भनाइको कदर गर्छु। हामी पक्कै सुनुवाइ गर्नेछौँ।’

द स्पाइडर: इनसाइड द ट्याङ्गल्ड वेब अफ जेफ्री एप्स्टिन एन्ड घिस्लेन म्याक्सवेल पुस्तकका लेखक ब्यारी लेभिन मेलानियाले पीडितहरूको पक्षमा बोल्नुलाई महत्त्वपूर्ण मान्छन्, किनभने उनले आफ्ना पतिको अडानभन्दा फरक बाटो रोजेकी छन्। राष्ट्रपति ट्रम्पले सधैँ पीडितहरूलाई बेवास्ता गर्दै आएको र एप्स्टिन फाइलहरूलाई राजनीतिक षड्यन्त्र भन्दै खारेज गर्दै आएको लेभिन बताउँछन्। 

उनी भन्छन्, ‘मेलानिया आफ्नै विचार राख्ने स्वतन्त्र व्यक्ति हुन् भन्ने कुरा यसबाट फेरि प्रमाणित भएको छ, जुन कुरा राष्ट्रपति ट्रम्पले पनि विगतमा स्वीकारिसकेका छन्।’

‘मेलानिया एन्ड मिसेल: फर्स्ट लेडिज इन अ न्यु एरा’ की लेखिका ट्यामी भिजिलको विचारमा मेलानियाको सम्बोधनमा पति ट्रम्पको नाम नजोडिनुले ह्वाइट हाउसभित्रै राष्ट्रपति र प्रथम महिलाबिचको बढ्दो दूरीलाई सङ्केत गर्छ। ‘उनले यस्तो एजेन्डा अघि सारिरहेकी छन् जुन ट्रम्प अघि बढाउन चाहँदैनन्। यो उनको एकदमै स्वतन्त्र भनाइ हो, र हामीले उनलाई यसअघि पनि यस्तो गरेको देखेका छौँ,’ भिजिलले बीबीसीसँग भनिन्।

यसैबिच, विपक्षी डेमोक्र्याटहरूले भने मेलानियाको यो कदमलाई राजनीतिक अवसरको रूपमा हेरेका छन्। मेलानिया आफैँ एप्स्टिन विवादमा तानिएपछि र अनुसन्धान बन्द गर्न चाहने ट्रम्प प्रशासनको अडानभन्दा फरक उभिएपछि ट्रम्प प्रशासन दबाबमा परेको छ। 

melania turmp

हाउस ओभरसाइट कमिटीका वरिष्ठ डेमोक्र्याट सदस्य रोबर्ट गार्सियाले मेलानियाको भाषणले आफू स्तब्ध भएको र अब ट्रम्प प्रशासनले उनकै बाटो पछ्याउनुपर्ने बताएका छन्। ‘यदि मेलानिया ट्रम्प साँच्चै न्याय चाहन्छिन् भने, उनले आफ्ना पतिलाई एप्स्टिनका बाँकी सबै फाइलहरू सार्वजनिक गर्न लगाउनुपर्छ र पाम बोन्डीलाई सुनुवाइमा उपस्थित गराउन पहल गर्नुपर्छ,’ गार्सियाले भने।

सन् १९९० को दशकमा एप्स्टिनसँग नजिकको सम्बन्ध राखेका र एप्स्टिन फाइलहरूमा पटक-पटक नाम जोडिएका राष्ट्रपति ट्रम्पले एप्स्टिनका अपराधहरूबारे आफूलाई केही थाहा नभएको दाबी गर्दै आएका छन्। उनले यो विवादलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित 'होक्स' भन्दै पन्छिन खोज्ने गरेका थिए। 

तर, यसपटक एप्स्टिन प्रकरणलाई फेरि चर्चामा ल्याउने व्यक्ति आफ्नै पत्नी भएकाले उनले यसलाई खराब नियत वा राजनीतिक षड्यन्त्र भनेर टार्न सक्ने अवस्था छैन।

एप्स्टिन प्रकरण यस्तो निरन्तरको सङ्कट हो जसबाट ट्रम्प प्रशासनले सजिलै छुटकारा पाउन सकिरहेको थिएन। अब मेलानिया ट्रम्पको यो अप्रत्याशित सम्बोधनले यो सङ्कटलाई झन् गहिरो बनाउँदै यसमा नयाँ प्राण भरिदिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप