शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टर्कीसँग युगाण्डाका सेना प्रमुखले मागे १ अर्ब र 'सुन्दर महिला'

नदिए दूतावास बन्द गर्ने चेतावनी
आइतबार, २९ चैत २०८२, २० : ३८
आइतबार, २९ चैत २०८२

सारांश

  • युगाण्डाका सेना प्रमुख जनरल मुहूजी काइनेरुगाबाले टर्कीसँग १ अर्ब डलर र देशकी सबैभन्दा सुन्दर महिला विवाहका लागि माग गरेका छन्।
  • उनले आफ्ना माग ३० दिनभित्र पूरा नभए कम्पालामा रहेको टर्कीको दूतावास बन्द गर्ने चेतावनी दिएका छन्।
  • सोमालियामा गरेको सैन्य योगदानको बदलामा उनले टर्कीबाट यस्तो अनौठो माग राखेका हुन्।

कम्पाला । युगाण्डाका सेना प्रमुख जनरल मुहूजी काइनेरुगाबाले टर्कीसँग दुई वटा अनौठा माग राखेका छन् । उनले टर्कीलाई १ अर्ब डलर दिने र देशकै सबैभन्दा सुन्दर महिलालाई आफूसँग विवाहका लागि सुम्पिनुपर्ने बताएका छन् । 

काइनेरुगाबाको पहिलो माग सोमालियामा इस्लामिक आतंककारीहरूसँग लड्न युगाण्डाले गरेको लामो समयदेखिको सैन्य योगदानका लागि टर्कीले १ अर्ब डलर दिनुपर्ने हो । उनको दोस्रो माग भनेको टर्कीले आफ्नै देशको सबैभन्दा सुन्दर महिलालाई उनलाई सुम्पिनुपर्नेछ, जोसँग उनले विवाह गर्नेछन् । 

युगाण्डाका सेना प्रमुखको यस मागको चौतर्फी आलोचना भइरहेको छ । तर, उनले यस्ता अनौठा माग राखेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०२२ मा उनले इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग विवाह गर्ने बदलामा इटालीलाई १०० गाई दिने प्रस्ताव गरेका थिए । त्यस घटनाको केही वर्षपछि अब सेना प्रमुख काइनेरुगाबाले सबैभन्दा सुन्दर टर्की महिलालाई आफ्नी पत्नी बनाउने माग गरेका छन् । 

सेना प्रमुख काइनेरुगाबाले ३० दिनभित्र आफ्ना माग पूरा गर्न असफल भए टर्कीलाई गम्भीर कूटनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले यदि टर्कीले ३० दिनमा उनलाई १ अर्ब डलर र देशकै सबैभन्दा सुन्दर महिला उपलब्ध गराउन सकेन भने युगाण्डाको राजधानी कम्पालामा रहेको टर्कीको दूतावास बन्द गरिने बताएका छन् । काइनेरुगाबा देशका राष्ट्रपति योवेरी मुसेवेनीका छोरा हुन् । 

शनिबार सामाजिक सञ्जाल एक्समा एकपछि अर्को पोस्ट गर्दै युगाण्डाका रक्षा बलका प्रमुख काइनेरुगाबाले टर्कीमाथि सोमालियामा पूर्वाधार सम्झौता, विशेषगरी मोगादिसुमा बन्दरगाह र विमानस्थल सञ्चालनबाट लाभ कमाइरहेको आरोप पनि लगाएका थिए । युगाण्डाले अफ्रिकी संघ मिसनहरूमार्फत करिब दुई दशकदेखि अलकायदा सम्बद्ध इस्लामिक आतंकवादी समूह अल शबाबका आतंकवादीहरूसँग लड्ने ठूलो सुरक्षा भार उठाएको उनको भनाइ छ ।

काइनेरुगाबाले आफ्नो एक पोस्टमा लेखेका छन्, 'टर्कीबाट प्राप्त हुने १ अर्ब डलरका अतिरिक्त मलाई त्यस देशको सबैभन्दा सुन्दर महिला मेरी पत्नीको रूपमा चाहिएको छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप