बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी समाचार प्रभाव

सम्धीलाई अवसर दिने निर्देशक रिजालको योजना चकनाचुर

क्याप्टेन प्रचण्ड श्रेष्ठ तालिममा जाने
बुधबार, ०२ वैशाख २०८३, १४ : १८
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • रातोपाटीमा समाचार प्रकाशित भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको अनियमिततामाथि कडा एक्सन लिएको छ।
  • निर्देशक सुवास रिजालले आफ्ना सम्धी रोशन कोइरालालाई नियम मिचेर वैदेशिक तालिममा पठाउने योजना असफल भएको छ।
  • निगमले कोइरालाको नाम हटाएर लामो समयदेखि पालो पर्खिरहेका क्याप्टेन प्रचण्ड श्रेष्ठलाई तालिममा पठाउने निर्णय गरेको छ।

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्रको नीतिगत भ्रष्टाचार र नातावादबारे रातोपाटीमा समाचार प्रकाशित भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कडा ‘एक्सन’ लिएको छ । 

मन्त्रालयको चासो र निर्देशनपछि निगमका अपरेसन विभागका निर्देशक क्याप्टेन सुवास रिजालले आफ्ना सम्धी रोशन कोइरालालाई नियम मिचेर वैदेशिक तालिममा पठाउन गरेको चलखेल असफल भएको हो ।

एयरबस ए–३२० को तालिमका लागि मलेसियाको क्वालालम्पुर उड्ने तयारीमा रहेका करारका पाइलट रोशन कोइरालाको नाम अन्तिम समयमा काटिएको छ ।  उनको ठाउँमा लामो समयदेखि स्वाभाविक रूपमा पालो पर्खिरहेका क्याप्टेन प्रचण्ड श्रेष्ठ तालिममा जाने निश्चित भएको छ । श्रेष्ठसँगै को–पाइलटका रूपमा रविन केसी पनि तालिममा सहभागी हुनेछन् ।

रातोपाटीमा चैत २९ गते समाचार प्रकाशित भएपछि मन्त्रालयले यस विषयमा गम्भीर चासो देखाएको थियो । सोही आधारमा निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले निर्देशक रिजालसँग सोधपुछ गरेका थिए । चौतर्फी दबाब र अनियमितताको प्रमाण सार्वजनिक भएपछि निगम नेतृत्व कोइरालाको तालिम रोक्ने निर्णयमा पुगेको हो ।

के थियो विवादको चुरो ?
निगमको अपरेसन विभागमा निर्देशक रहेका सुवास रिजालले पालो कुरिरहेका १९ जना योग्य पाइलटलाई ुहोल्डु गरेर आफ्ना सम्धी रोशन कोइरालालाई महँगो वैदेशिक तालिममा पठाउन सेटिङ मिलाएका थिए । 

कोइरालाको नियुक्ति र योग्यतामाथि नै गम्भीर प्रश्नहरू रहेका छन् । कोइरालाले ५८ वर्षे उमेर हद पार गरिसकेका छन् । उनलाई सुवास रिजालकै भाइ एवं तत्कालीन निर्देशक क्याप्टेन श्रवण रिजालले करारमा नियुक्ति दिएका थिए । ५० लाख धरौटी बुझाउनुपर्ने सर्त पालना नगरी उनी बीचमा विदेश गएका थिए र पछि फर्किएर पुनः प्रक्रिया अगाडि बढाइएको थियो ।

कोइरालालाई पास गराउन कम्प्युटर बेस्ड परीक्षालाई हटाएर ‘पेपर बेस्ड’ बनाइएको थियो । एयरबसका विज्ञ प्रशिक्षकलाई छोडेर नन-टाइप रेटेड पाइलट सञ्जय पौडेलमार्फत प्रश्नपत्र बनाउन लगाइएको थियो । निर्देशकको कार्यालयबाटै प्रश्नपत्र उपलब्ध गराई कोइरालालाई १०० प्रतिशत अंक दिलाइएको स्रोतको दाबी छ ।

कोइराला नेपालमा नियुक्त हुनुअघि र पछिको केही समय अफ्रिकामा ुयुनाइटेड नेसन्स ह्युमानिटेरियन एयर सर्भिसु अन्तर्गत उडान भरिरहेको पाइएको छ, जुन नियामक मापदण्डको ठाडो उल्लंघन भएको बताइएको छ । 

निगममा विगत ६ वर्षदेखि रविन केसी, मेल्सम ओझा, प्रचण्ड श्रेष्ठ, प्रशान्त शाह लगायतका १० जना फर्स्ट अफिसरहरू ‘टाइप–रेटिङ बिना निष्क्रिय छन् । त्यस्तै, ट्विन अटर फ्लिटका ६ जना योग्य पाइलटहरूलाई समेत उपेक्षा गरेर निर्देशक रिजालले पारिवारिक स्वार्थका लागि राज्यको ढुकुटी खर्चेर सम्धीलाई तालिम दिलाउन खोजेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप