ओली र प्रचण्डले गुमाएका अवसर
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसहितका कम्युनिस्ट शक्तिहरूले लज्जास्पद हार व्यहोरेका छन्।
- ओली र प्रचण्डको अकर्मण्यता र पार्टीभित्रको आन्तरिक कलहका कारण कम्युनिस्ट आन्दोलनको प्रभाव आधाभन्दा बढीले घटेको छ।
- राजनीतिक विश्लेषकहरूले यस नतिजालाई ओली र प्रचण्ड युगको अन्त्य र कम्युनिस्ट आन्दोलनको संकटको रूपमा व्याख्या गरेका छन्।
काठमाडौँ । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट कम्युनिस्टहरू नराम्रोसँग बढारिए । चुनाव मात्र हारेनन्, पूरै खस्किएको मतपरिणाम उनीहरूलाई प्राप्त भयो । त्यसो त यस्तो अवस्था मधेसवादी दलहरूको पनि छ, तर विरातस र राजनीतिमा हालिमुहालीको अवस्था हेर्दा कम्युनिस्टहरूको यो हबिगत इतिहास बनेको छ ।
सबैभन्दा आश्चर्यजनक क्षति ठुलो कम्युनिस्ट पार्टी नेकपा एमालेले भोग्यो, अध्यक्ष केपी शर्मा ओलीकै शर्मनाक हार भयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भलै जिते, तर भएभरका कम्युनिस्ट घटकहरू जोडेर उनले बनाएको दल नेकपाले प्रतिनिधिभाको २७५ सिटमा जम्मा १७ स्थान पायो । अन्य कम्युनिस्ट दलहरूको हैसियत त गणनामै आएन ।
७७ वर्षीय लामो नेपाली कम्युनिस्ट आन्दोलनको के यो अवसान हो ? अथवा नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकतामा अब पूर्णविराम लाग्ने समय आएको हो ? यो लामो विरासत बोकेको आन्दोलनलाई फागुन २१ गतेको निर्वाचन परिणामले एउटा ठुलो प्रश्न तेर्स्याइदिएको छ । यही निर्वाचनको मतपरिणामलाई आधार मानेर ओली र ‘प्रचण्ड’ युगको अन्त्य भएको विश्लेषण राजनीतिक वृत्तमा सुरु भइसकेको छ ।
०००
जेनजी आन्दोलनका कारण वर्षौंदेखि पुराना राजनीतिक दलको कब्जामा रहेको राज्यसत्तालाई लोकतान्त्रिक प्रणालीको सही मार्गमा ल्याउने उद्देश्यले भएको निर्वाचनमा यी दुई ठुला कम्युनिस्ट दलले नराम्रो झट्का खाए ।

जेनजी आन्दोलन दबाउन २३ जना युवाको हत्याको आरोप लागेका ओली नेतृत्वको तत्कालीन सरकार मात्र ढलेन, आक्रोशित आन्दोलनकारीले राज्यका प्रमुख अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै ध्वस्त पारिदिए । आक्रोशको तारोमा ओली मात्र परेनन्, समग्र कम्युनिस्ट आन्दोलन नै धुलिसात् हुने अवस्थामा पुग्यो ।
वामपन्थी जनमतको सन्दर्भमा नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसाल ओली–प्रचण्ड युगको अन्त्य भई नयाँ युगको सुरुवात भएको विश्लेषण गर्छन् ।
‘यो चुनावले प्रचण्ड र ओली युगको अन्त्य गरेको छ । अर्थात्, संगठित कम्युनिस्ट आन्दोलनको एक युगको अन्त्य भएको छ । कम्युनिस्ट, वामपन्थी वा समाजवादका लागि अर्को युगको ढोका खुलेको छ,’ उनी भन्छन्, ‘ओली र प्रचण्डले फेरि एकताका कुरा गर्दैछन् भने मिल्नका लागि एउटा आधार छ । एक जनाले संगठन नै बनाएका थिएनन्, अर्काले भएको भव्य संगठनको ‘सद्गति’ गरेर आएका छन् । एकता गरेमा त्यो केवल उनीहरूको युगान्तको घोषणासभा हुनेछ ।’
यस निर्वाचनमा, टोलसम्म बलियो संगठन भएको एमालेले १४ लाख ५५ हजार मत प्राप्त गर्यो । त्यसैगरी, २५ वटा वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले जम्मा ८ लाख ११ हजार मत प्राप्त गर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी एमालेले कुल २५ सिट जितेर तेस्रो स्थानमा खुम्चियो । नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी कुल १७ सिट जितेर चौथो स्थानमा खुम्चियो ।
निर्वाचनमा भाग लिएका ८ वटा वामपन्थी दलहरूले समानुपातिकतर्फ कुल २३ लाख ७८ हजार मत प्राप्त गरे । यो मत वामपन्थीले पाएको कुल मतको २१.५० प्रतिशत हो । २०७९ सालको निर्वाचनको तुलनामा वामपन्थी जनमत ५० प्रतिशतले घटेको चुनावी परिणामले देखाएको छ ।

पछिल्लो चुनावी जनमतको आधारमा, विश्लेषक अरुण कुमार सुवेदी नेपालमा कम्युनिस्टहरू पुनःस्थापित हुने सम्भावना नरहेको जिकिर गर्छन् । केही दिनअघि रातोपाटीसँग कुरा गर्दै सुवेदीले भनेका थिए, ‘कम्युनिस्टहरू अब सकिए । २०६३ देखि यो दुर्गतिको प्रमुख कारण प्रचण्डजी नै हुन् । समाजवादको नारा त्यागेको खण्डमा जनताले वामपन्थी शक्ति आवश्यक ठानेमा कुनै दिन फर्कन सक्छन् ।’
निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि नैतिकताका आधारमा ओली र प्रचण्डले पदबाट राजीनामा दिएर बृहत् कम्युनिस्ट आन्दोलन पुनर्गठनको प्रस्ताव गर्लान् भन्ने विश्वास लिइएको थियो, तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको सुनामी र देशी/विदेशी षड्यन्त्रका कारण पार्टीले पराजय भोगेको भन्दै पुरानै शैली अपनाउँदै दुवैले पदबाट राजीनामा दिएनन् ।
प्रचण्डले एकता महाधिवेशनको एजेन्डाका साथ केन्द्रीय संयोजन समिति बैठक बोलाएका छन्, तर पार्टी पुनर्गठनको स्पष्ट खाका ल्याउनुको साटो एमालेसँग पार्टी एकताको गृहकार्य गरेको आरोप पार्टीभित्रै लागेको छ ।
शल्यक्रियापश्चात् ओली १३ दिन शिक्षण अस्पताल महाराजगञ्जमा बिताएर रिहा भए । पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गरेर भर्खरै निवासमा पुगेका उनी तत्काल केन्द्रीय समिति बैठक बोलाउने पक्षमा देखिएका छैनन् । यद्यपि, ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रैबाट दबाब बढ्दै गएको छ ।
- कम्युनिस्ट इतिहास र ओली–प्रचण्डको अकर्मण्यता
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७७ वर्ष पूरा भएको छ । तत्कालीन निरंकुश राणा शासन, सामन्तवाद र साम्राज्यवादको अन्त्य गरी साम्यवादी व्यवस्था स्थापित गर्ने उद्देश्यले २००६ साल वैशाख १० गते भारतको वाराणसीमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी त्यसका सदस्य थिए ।
नेकपा स्थापनाको ७७ वर्षको अवधिमा टुटफुट र विभाजनले कमजोर बन्दै गएको कम्युनिस्ट आन्दोलन २०३१ सालमा भएको चौथो महाधिवेशनबाट विभिन्न धारहरूमा विभाजित भयो । मोहनविक्रम सिंहको नेतृत्वमा रहेको नेकपा (चौथो महाधिवेशन), नेकपा (मसाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी) हुँदै हाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
_sfLOMd8H80.jpg)
पुष्पलालको उत्तराधिकारी दाबी गर्ने मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा (माले) हुँदै हाल नेकपा (एमाले) को नेतृत्व केपी ओलीले गरिरहेका छन् । २०३१ सालदेखि नेमकिपाको नेतृत्व नारायणमान बिजुक्छेँले गरेका छन् । नेकपा (मसाल) को नेतृत्व मोहन विक्रम सिंहले नै गरिरहेका छन् ।
मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चा र नेमकिपा, जसले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका थिए, यसपटक एक सिट पनि जित्न सकेनन् । यीबाहेक, विप्लव नेतृत्वको नेकपा (माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत धेरै वामपन्थी दलहरू अस्तित्वमै छन्, यद्यपि राज्यसत्तामा लामो समयसम्म हस्तक्षेपकारी शक्तिका रूपमा एमाले र नेपाली कम्युनिस्ट पार्टी नै हाबी भएका छन् ।
२०२८ सालमा झापा विद्रोहको विरासत बोकेका एमाले र २०५२ सालमा जनयुद्धको विरासत बोकेका माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) ले पटकपटक गरेर लामो समय सरकार सञ्चालन गरे ।
२०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकार निकै लोकप्रिय भयो । २०५२ सालमा प्रचण्डको नेतृत्वमा दीर्घकालीन सशस्त्र आन्दोलन घोषणा गरेपछि त्यतिबेलाको शाही राज्यसत्ता नै अस्तव्यस्त बन्यो ।
उत्पीडित महिला, किसान, मजदुर र श्रमिक वर्गको बलमा शक्तिशाली बनेको माओवादी युद्ध १० वर्ष (२०५२–२०६२) सम्म सञ्चालन भयो । २०६२ सालमा त्यतिबेलाका संसदवादी ७ दलबिच १२ बुँदे सम्झौता भएपछि माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
त्यही सहमतिको जगमा २०६२/०६३ सालमा भएको जनआन्दोलनले निरंकुश राजतन्त्र ढालेर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो । त्यसयता करिब २० वर्षमा ओली र प्रचण्ड नै बारम्बार सत्तामा आए । एमालेबाट माधव नेपाल, झलनाथ खनाल, केपी ओली प्रधानमन्त्री बने । माओवादीबाट प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री बने । ओली चारपटक र प्रचण्ड तीनपटक प्रधानमन्त्री बने ।

बृहत् वामपन्थी एकता महसुस गरी २०७४ सालमा एमाले र माओवादी मिलेर चुनावमा होमिए । त्यतिबेला वामपन्थीले खसेको कुल मतमध्ये ४४ लाख ७७ हजार लोकप्रिय मत अर्थात् ४४.३४ प्रतिशत मत प्राप्त गरेका थिए । सङ्घमा दुई तिहाइ मत प्राप्त गरेको वामपन्थी गठबन्धनले मधेस प्रदेशबाहेक अन्य प्रदेशहरूमा पनि दुई तिहाइ बहुमत प्राप्त गरेको थियो ।
निर्वाचनपछि एमाले र माओवादी मिलेर २०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरे । तर, सरकार र पार्टी सञ्चालनमा ओली र प्रचण्डबिच शक्ति संघर्ष बढेपछि २०७७ सालमा नेकपा नै विघटन भयो । सर्वहारा वर्गको नेतृत्वमै सरकार बनेका बेला पनि सुशासन, सामाजिक न्याय र समृद्धि हासिल हुन नसक्दा जनआक्रोश बढ्दै गयो । आम नागरिकमा बढ्दै गएको चरम निराशा भदौ २३ र २४ मा विस्फोट भयो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता चक्रपाणि खनाल (बलदेव) ओली र प्रचण्डबिच प्राविधिक कारणले कम्युनिस्ट आन्दोलन कमजोर भएको जिकिर गर्छन् । दुई नेताबिच सैद्धान्तिक र वैचारिक मतभेदका कारण त्यतिबेला पार्टी विभाजन नभएको उनले दाबी गरे ।

‘यसको एउटा प्राविधिक पक्ष छ । प्राविधिक पक्षले गर्दा टुक्रिनु राम्रो होइन, तर त्यो मुख्य कारणजस्तो बन्न गयो । किनभने ओलीको आफ्नै प्रवृत्ति र शैली थियो । हामीले एकता ओली अध्यक्ष भएको एमालेसँग गरेका थियौँ, तर एकतापछि प्रचण्ड पार्टी प्रमुख र ओली सरकार प्रमुख रहने सहमति भएको थियो । त्यतिबेला ओली र प्रचण्डले आन्तरिक शक्ति सन्तुलन मिलाउन नसक्दा दुर्घटना भयो,’ खनालले रातोपाटीसँग भने ।
२०७५ सालमा पार्टी एकता भए पनि पहिलो केन्द्रीय समिति बैठकमा प्रचण्डले मदन भण्डारीको विरासतको राम्रोसँग व्याख्या गरेको बलदेवले स्मरण गरे । प्रचण्डको व्याख्या सुनेर एमालेभित्रकै ओलीविरोधी शक्तिले उनलाई उचाल्न थालेको उनको बुझाइ छ । मदनको विरासत जोगाउने प्रचण्ड मात्र हुन् भन्दै त्यतिबेला अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाललगायतले उचालेको बलदेवले आरोप लगाए ।
‘एमालेभित्र ओलीसँग लगातार संघर्ष थियो । यही बेला प्रचण्डलाई राम्रोसँग मलजल गरेपछि ओलीविरोधी मोर्चा बनाउन सकिन्छ भन्ने लागेर उनीहरू लागे,’ उनले भने, ‘त्यस गतिविधिले ओलीलाई झस्को पर्यो कि प्रचण्डले नियोजित रूपमा मेरो विरुद्ध उफारिरहेका छन् । त्यसपछि ओलीले आफू निकट व्यक्तिहरूलाई जम्मा गर्दै प्रचण्डविरुद्ध लाग्न थाले ।’
तर, माधव, झलनाथ र वामदेव आसपासका मानिसको भरमा नपर्न, बरु ओलीसँगै सहकार्य गर्न आफूहरूले दिएको सुझाव कार्यान्वयन नभएको बलदेव बताउँछन् । ‘माधवजीको भर परेर प्रचण्ड चुके । ओलीले पनि राजनीतिक संवादमार्फत समस्या हल गरेर जान प्रचण्डलाई मनाउन सकेनन् । अर्को पाँच वर्षसम्म अध्यक्ष पद पनि छैन । सरकारमा मात्र नबसेपछि यो तरिकाले कसरी जान्छ भन्ने प्रचण्डलाई लाग्यो,’ उनले भने ।
अहिले वैचारिक र सैद्धान्तिक जलप लगाइएको भए पनि, यथार्थमा त्यस्तो नभएको बलदेवको जिकिर छ ।

‘ओली कूटनीतिक छन्, असैद्धान्तिक कुरा बढी गर्छन् । प्रचण्ड अलि इमानदार छन्, सैद्धान्तिक कुरा गर्छन् । एकदमै गिरेर काम गर्न सक्दैनन् । ओली बिहान मीठो कुरा गरेर दिउँसो सरकार पल्टाउन पनि पछि पर्दैनन्,’ बलदेवले भने ।
बलदेवले यथास्थितिमा एमालेसँग पार्टी एकता सम्भव नभएको जिकिर गरे, यद्यपि नेतृत्व परिवर्तन भएमा एकता हुनसक्ने उनको भनाइ छ ।

प्राध्यापक कृष्ण पोखरेलले २०७४ सालमा प्राप्त गरेको अवसरलाई जोगाउन नसक्दा ठुलो क्षति भएको विश्लेषण गरेका छन् ।
‘एमाले र माओवादी मिलेर झन्डै दुई तिहाइ बहुमतको सरकार बनाएका थिए, त्यसलाई निरन्तरता दिन सकेको भए अहिलेको स्थिति आउने थिएन । यता नेपाली कांग्रेसले पनि अर्को गठबन्धन बनाउन बाध्य हुन्थ्यो,’ पोखरेलले भने, ‘वैचारिक रूपले यो केन्द्रबाट देब्रेतिरको एउटा राजनीतिक शक्ति हुन्थ्यो र अर्को केन्द्रबाट दाहिनेतिरको हुन्थ्यो । त्यसले देशको राजनीति एउटा सही ट्र्याकमा जान्थ्यो ।’
यता, घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनले धक्का खानुमा ओली र प्रचण्डलाई दोषी देखाएका छन् । कम्युनिस्ट पार्टीको संगठनलाई ब्रह्मास्त्रको रूपमा हेरिने भनिए पनि यस निर्वाचनमा पार्टी संगठन नै विघटन भएको उनले अथ्र्याएका छन् ।
संगठनको परिभाषा, गठन र प्रक्रियाको दृष्टिले माओवादी कहिल्यै राजनीतिक पार्टी नभएको भुसालको तर्क छ । यद्यपि, पुराना दस्तावेज हेर्दा जनयुद्धको संगठित तयारी असाध्यै योजनाबद्ध रूपमा भएको देखिन्छ र त्यसका लागि गरिएको उनीहरूको प्रशिक्षण, परीक्षण प्रशंसनीय रहेको विश्लेषण उनले गरेका छन् ।

‘जनयुद्ध सुरु भएपछि राजनीतिक संगठन भत्किँदै गयो । सर्वोच्च कमान्डको आदेशमा चल्ने सैन्य संरचना बन्यो । शान्ति प्रक्रियामा आउँदा एक लाख पेशागत कार्यकर्ता थिए होलान् । उनीहरूले आँट्दा मुलुकलाई जता भने त्यतै डोर्याउन सक्थे । देशभित्र र बाहिर त्यसले पाएको समर्थन सानो थिएन । त्यो शक्तिलाई लडाकु नभई संगठित राजनीतिक कार्यकर्ता बनाएको भए माओवादीले राष्ट्र निर्माणमा योगदान गर्न सक्थ्यो,’ भुसालले फेसबुक लाइभमार्फत भनेका छन् ।
माओवादीले नयाँ जनवाद ल्याउन जनयुद्ध गरेको भए तापनि लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले पार्टीभित्र समस्या बढ्दै गएको उनको विश्लेषण छ ।
‘जे आयो त्यो चाहेको होइन, जे चाहेको हो त्यो कसैगरी नआउने भयो । प्रचण्डले जुक्ति निकाले । सत्ता र पार्टी बनाउने र भत्काउने काममा लागे । पार्टी पनि भत्काइरहे । सरकार पनि भत्काइरहे । सत्ता नभई बस्नै नसक्ने ग्रह–नक्षत्रमा जन्मिएका थिए प्रचण्ड,’ भुसालले भने, ‘पार्टी र सरकार संकटग्रस्त भइरह्यो । संगठन बनाएको भए सामना गथ्र्यो । संगठन नहुँदा प्रचण्डले जम्मा गरेको भीड आफैँलाई समस्या बन्यो । माओवादी कहिल्यै संगठन थिएन । विशाल आन्दोलन विघटन भएर सत्ता आन्दोलनको सानो हुरीबतास मात्र बाँकी थियो । यो निर्वाचनले प्रचण्डको त्यो हुरीबतास पनि समाप्त पार्यो ।’
विशाल र अनुशासित संगठन हुँदाहुँदै पनि एमाले पराजित हुनुमा ओलीको प्रवृत्ति प्रमुख भएको उनको विश्लेषण छ । संगठनको हिसाबले एमाले इतिहासमा असाधारण उत्थान र डरलाग्दो पतनको कथा बोकेको भुसालको तर्क छ । ‘एक समय एमाले संसारकै व्यवस्थित पार्टी थियो । आफ्नो ठाउँमा इमानदार र पार्टी सदस्यको वरिपरि असल र इमानदार लाखौँ मानिसको संगठन थियो । समाजको हरेक ठाउँमा उनीहरू अगाडि हुन्थे । मतमतान्तर थिए तर सबै नेताहरूले विधिको पालना गर्थे,’ उनले भने ।
२०७१ सालमा ओली नेतृत्वमा आएपछि उनले पार्टी संरचना ध्वस्त पारेको भुसालले आरोप लगाए । एमाले पार्टी कति खोक्रो भइसकेको थियो भने, नवौँ महाधिवेशनले गरेका कतिपय सैद्धान्तिक र वैचारिक निर्णय विपरीत गएर ओलीलाई नै अध्यक्ष निर्वाचित गरेको परिदृश्यबारे उनले स्पष्ट पारे । एमालेको १५ वर्षसम्म महासचिव रहेका माधव नेपाल कुनै राजनीतिक कम्पासविना फेरि फर्किएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न आउनुले ओलीको उदयलाई सहज बनाएको उनको विश्लेषण छ ।
‘ओलीको छत्रछायामा रहने जस्तोसुकै व्यक्ति भए पनि अभिभावकत्व प्रदान गर्नुहुन्छ । रहन मान्दैन भने ती सबै शत्रु हुन् । यो उनको दर्शन, सिद्धान्त र संगठन हो । अभिभावकत्व स्वीकार गर्यो भने जस्तोसुकै आरोप लागेको भए पनि संरक्षण गर्छन्,’ भुसालले भने, ‘त्यतिबेला ‘बा’को प्रचलन सुरु भएको थिएन, त्यो प्रायोजित थियो । समृद्ध कम्युनिस्ट पार्टीको सर्वनाशको व्यक्तित्वको रूपमा ‘बा’को परिचय बनेको थियो । धेरै मेहनत गरेर बनाएको पार्टी ओलीले १० वर्षमै धुलिसात् पारे ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण