शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
सेयर खरिद–बिक्री घोटाला पक्ररण

भृकुटी स्टकबाट दीपक भट्टको सिन्डिकेट, हिमालयन रि इन्स्योरेन्समा यसरी भयो कर्नरिङ !

बुधबार, ०९ वैशाख २०८३, १६ : ४४
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद-बिक्रीमा अनियमितता गरेको भन्दै दीपक भट्टसहित आठ जनालाई कारबाहीको सिफारिस गरिएको छ।
  • भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत नियमविपरीत उधारोमा सेयर कारोबार गरी बजारमा कृत्रिम मूल्य कायम गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।
  • नेपाल धितोपत्र बोर्डले यस प्रकरणलाई संगठित अपराध र जालसाजी ठहर गर्दै विस्तृत अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको छ।

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद–बिक्रीमा भएको घोटाला तथा अनियमिततामा चर्चित व्यवसायी तथा बिचौलिया दीपक भट्टदेखि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासम्म कारबाही सिफारिसमा परेका छन् । 

नेपाल धितोपत्र बोर्ड गठन गरेको जाँचबुझ समितिको सिफारिसबमोजिम उनीहरूसहित आठ जनामाथि कारबाहीको सिफारिस भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत फागुन २५ र २७ गते छुट्टाछुट्टै पत्र पठाउँदै दीपक भट्ट र उनका व्यावसायिक साझेदारले गरेको अवैध कारोबारबारे छानबिन गर्न आग्रह गरेको थियो । 

उक्त पत्रमा व्यापारी दीपक भट्टको डिम्याट खाताबाट भृकुटी स्टकमार्फत भएका कारोबारहरू अत्यन्तै शंकास्पद रहेको औंल्याइएको थियो । हिमालयन रिइन्सुरेन्स, विभिन्न डिबेन्चरहरूलगायत खरिद–बिक्रीमा गम्भीर कैफियत देखिएको भन्दै विभागले धितोपत्र ऐनअन्तर्गत कसुरमा छानबिन गर्न बोर्डलाई भनेको थियो ।

यो निवेदनको तीन सातापछि अर्थात् चैत १६ गते बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यसउपर प्रारम्भिक जाँचबुझ गर्ने निर्णय गरेका थिए, यसका लागि कार्यकारी निर्देशक रुपेश केसीको नेतृत्वको समिति बनाएका थिए । उक्त समितिले वैशाख ३ गते प्रतिवेदन पेस गरेको थियो । 

उक्त प्रतिवेदन प्राप्त भएसँगै नेपाल धितोपत्र बोर्डको शुक्रबार (वैशाख ४ गते) बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्दै संलग्नमाथि थप कारबाहीका पठाउने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले राजीनामा दिएका थिए । अहिले उनको राजीनामा स्वीकृत भई नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया बढिसकेको छ । 

के छ प्रतिवेदनमा, कसरी भयो घोटाला ? 

सामान्यतया कुनै पनि ब्रोकरमार्फत दोस्रो बजारमा सेयर खरिद गर्नुअघि कारोबार रकमको ३५ प्रतिशत ब्रोकर कम्पनीमा डिपोजिट राख्नुपर्छ । त्यस्तै कारोबार भएको दुई दिनभित्र उक्त कारोबारबापत रकम राफसाफ गरी खरिदकर्ताको खातामा सेयर र बिक्रेताको खातामा पैसा पठाइसक्नुपर्छ । 

तर भट्टले आफ्नो मुख्य लगानी रहेको हिमालयन रिइन्स्योरेन्सलगायत कम्पनीको सेयर किनबेच हुँदा यो नियम पालना नगरेको प्रतिवेदनमा उल्लेख छ । ब्रोकर नम्बर ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत कारोबार गरेका उनले उधारोमा सेयर किनेको त्यसैगरी बिक्री गरेको पाइएको छ । 

यो व्यवहारले बजारमा सेयरको अभाव सिर्जना (कर्नरिङ) गर्ने कृत्रिम मूल्य कायम गर्ने काम भएको प्रतिवेदनमा उल्लेख छ । 

यस प्रकरणमा भट्टमात्र नभई उनकी पत्नी आयुष्मा नेपाल, भृकुटी ब्रोकरका कार्यकारी प्रमुख सन्दीप चाचान, तथा बजारका ठुला खेलाडी भनिने शुभी अग्रवाल, ऋषिराज मोर, राजबहादुर शाह, रोहित गुप्ता र शेखर गोल्छा लगायतको संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ । 

उनीहरूमध्ये दीपक भट्टलाई मुख्य योजनाकार मानिएको छ । घोटालामा मुख्य मतियारको रुपमा भृकुटी स्टक ब्रोकिङ्गका कार्यकारी प्रमुख सन्दिप चाचान रहेको भन्दै प्रतिवेदनमा उनीमाथि समेत कारबाही गर्न सिफारिस गरिएको छ । 

त्यस्तै दीपक भट्टकी पत्नी आयुष्मा नेपालले समेत आफ्नो स्वामित्वमा रहेको कम्पनीमार्फत सर्वसाधारणको म्युचुअल फन्डलाई दुरुपयोग गरी महँगोमा सेयर भिराएको देखिएको छ । 

भट्टसँग मिलेमतो गरी हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सलगायत कम्पनीको सेयरमा ठुलो मात्रामा कर्नरिङ गरेको र ब्रोकरलाई पैसा नतिरी लामो समयसम्म सेयर होल्ड गर्ने र बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने काममा शुभी अग्रवाल, ऋषि राज मोर र राज बहादुर शाह प्रत्यक्ष सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।  

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष रहेका शेखर गोल्छा र पूर्वसञ्चालक रोहित गुप्तालाई उनीहरूको खाताबाट भट्टको खातामा पैसा ट्रान्सफर भएको र सेयर मूल्य बढाउने खेलमा मौनता वा सक्रिय समर्थन रहेको देखिएको कारबाहीका लागि सिफारिस गरिएको छ ।

बोर्डको छानबिनले यसलाई सामान्य प्राविधिक त्रुटि नभई संगठित अपराध र जालसाजी ठहर गर्दै धितोपत्रसम्बन्धी ऐनबमोजिम कारबाही गर्न र थप विस्तृत अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउनुपर्ने जनाएको छ । 

भट्टका सबैजसो कम्पनी संलग्न

प्रतिवेदन अनुसार योजनकार भट्टले आफ्नो एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्ग्स र आफ्ना प्रभावमा रहेका हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ लगायत कम्पनीको सेयर र ऋणपत्र हरूमा आफैले किन्ने र आफैले बेच्ने गरेको पाइएको छ ।

यसरी कारोबार गर्दा अग्रिम रकम नबुझाएको र कारोबार भएको दुई दिनभित्र भुक्तानी गरी राफसाफ गर्नुपर्नेमा त्यसो समेत नगरेको पाइएको छ । यसका लागि भृकुटी स्टकले भट्ट र उनी निकट व्यक्ति तथा कम्पनीका हकमा यो नियम लागु नगरेको बताइएको छ । 

भट्टले महिनौंसम्म खातामा पैसा नराखी अर्बौंको सेयर किनेका थिए । ब्रोकरले पैसा नलिईकन सेयर दिने र बेचेको सेयरको पैसा नलिई राफसाफ गराउनेजस्तो गम्भीर गल्ती गरेको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानका क्रममा भट्टले विभिन्न ऋणपत्र र सेयरहरू खरिद–बिक्री गर्दा प्रयोग भएको इन्टरनेटको आइपी एड्रेस एउटै रहेको पाइएको छ । यसको अर्थ हो, एउटै कोठामा बसेर एउटै कम्प्युटरबाट एकातिर खरिदको आदेश दिने र अर्कोतिर आफैले बिक्रीको आदेश दिने काम ।

यो घोटालाको सामूहिक लगानी कोषको दुरुपयोगसमेत भएको पाइएको छ । हिमालयन रिइन्स्योरेन्स लगायतका कम्पनीको सेयर सस्तोमा किनेर बजारमा कृत्रिम हल्ला र माग सिर्जना गरी मूल्य बढाएको र मूल्य उच्च विन्दुमा पुगेपछि उनले ती सेयरलाई एचएएलआई लार्ज क्याप फन्ड नामक म्युचुअल फन्डलाई भिडाएको देखिएको छ । 

उक्त फन्डको व्यवस्थापन गर्ने हिमालयन इन्भेष्टमेन्ट बैंकरमा भट्टकी पत्नी आयुष्मा नेपालको ८.५ प्रतिशत सेयर स्वामित्व छ ।

आफ्नो पारिवारिक प्रभाव प्रयोग गरी सर्वसाधारणले लगानी गरेको फन्डको पैसाबाट भट्टले आफू र आफ्ना कम्पनीको महँगो सेयर किन्न लगाएर ठुलो नाफा कमाए भने सर्वसाधारण लगानीकर्तालाई झुक्याएर डुबाउने काम गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप