सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस संसदीय दल नेता : देउवा समूहबाट आङ्देम्बे, संस्थापनबाट केसी र आचार्यको दाबी

बिहीबार, १० वैशाख २०८३, १६ : ००
बिहीबार, १० वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ ।
  • दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
  • सर्वसम्मतिको प्रयास जारी रहे पनि कसैले पनि आफ्नो दाबी छोड्ने सम्भावना देखिएको छैन ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको छ । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् ।

दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन शुक्रबार नै हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसाे ३ बजेदेखिको समय तोकिएको छ । निर्वाचनका लागि भने शुक्रबार अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।

कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संसदीय दलको नेतामा आकाङ्क्षा गर्ने धेरै छन् । अहिलेसम्म नेतामा ३ सांसद आकाङ्क्षी रहेको कांग्रेस नेताहरू बताउँछन् । 

भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरिरहेका छन् ।

पछिल्लो समय विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभक्त कांग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर (अहिलेको संस्थापन) र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् । दाबी गर्नेमध्ये आचार्यले रसुवाबाट प्रत्यक्ष निर्वाचन जितेका थिए भने आङदेम्बे र केसी समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

केसी र आङदेम्बे कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन् । केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद हुन् । आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट सभासद् भएका थिए ।

पार्टीको १४औँ महाधिवेशनमा केसी डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य र आङ्देम्बे शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।

आचार्य १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी अहिले विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएका छन् ।   

केसीले आफू नभए आचार्यलाई संसदीय दलको नेता बनाउनुपर्ने अडान लिएको ती पदाधिकारीको भनाइ छ ।

संसदीय दलको नेतामा आङदेम्बेलाई वर्तमान उपसभापति विश्वप्रकाश शर्मा, निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले समर्थन गरेका छन् । उपसभापति शर्मा आङ्देम्बेतिर लागेपछि उनी निकटका सांसद निश्कल राईसहित पनि आङदेम्बेकै पक्षमा छन् ।

सभापति गगन थापासहित उपसभापति शर्मा बाहेकका पदाधिकारी भने केसीको पक्षमा छन् । केसी कांग्रेस सभापति थापाका ससुरा हुन् । सभापति थापा केसीलाई दलको नेता बनाउँदा परिवारको आरोप लाग्छ कि भनेर पदाधिकारीहरूलाई बताइरहेका छन् । केसीले आकाङ्क्षा नराखे हुन्थ्यो भन्नेमा थापा छन् । केसीले सकभर आफू हुने, आफू हुन नसके आफूले भनेको व्यक्तिलाई दलको नेता बनाउनुपर्छ भनेपछि समस्या बल्झिएको एक पदाधिकारीले बताए ।

‘सभापतिज्यू अहिले समस्यामा पर्नुभएको छ,’ एक पदाधिकारीले रातोपाटीसँग भने, ‘केसी आफू नबन्ने अवस्थामा कुनै पनि हालतमा आफूले भनेको मान्छे हुनुपर्ने अडानमा हुनुहुन्छ । त्यसले सभापतिलाई अप्ठ्यारो पारेको छ ।’

केसीले आफू नभए आचार्यलाई संसदीय दलको नेता बनाउनुपर्ने अडान लिएको ती पदाधिकारीको भनाइ छ । ‘सभापतिले पनि बाध्य भएर अहिले आचार्य भनिरहनु भएको छ,’ उनले भने ।

थापाले आचार्यलाई उम्मेदवार बनाएमा केसी नरिसाउने र ससुरालाई नेतामा अघि सार्‍यो भन्ने आरोप पनि नलाग्ने भनेर आफू निकटका नेता तथा सांसदलाई बताइरहेको स्रोतले जनायो । तर, उपभापति शर्मा भने आङ्देम्बेको पक्षमा रहेकाले संस्थापनमै सहमति हुन सक्ने अवस्था छैन ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले लामो समय सर्वसम्मत दलको नेता बनाउन प्रयास गरे पनि त्यो सफल भइनसकेको बताए । ‘लामो समय सर्वसम्मत बनाउन पर्खियौँ, छलफल गर्‍यौँ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘अझै पनि सर्वसम्मतको प्रयास जारी छ । भएन भने प्रक्रियामा जान्छ । निर्वाचन समितिले निर्वाचन कार्यक्रम तय गरिसकेको छ ।’

सहमतिका लागि प्रयासरत नेताहरूका अनुसार कसैले पनि दाबी छोड्ने सम्भावना अहिलेसम्म देखिएको छैन ।

निर्वाचन समितिकी सदस्य भुसालले प्रक्रिया र सहमतिको प्रयास सँगसँगै अगाडि बढिरहेको जानकारी दिइन् । ‘सहमतिका लागि प्रयास भइरहेको छ, निर्वाचन समितिबाट नामावली प्रकाशन गरेर प्रक्रिया पनि अगाडि बढाएका छौँ,’ उनले रातोपाटीसँग भनिन् ।

सहमतिका लागि प्रयासरत नेताहरूका अनुसार कसैले पनि दाबी छोड्ने सम्भावना अहिलेसम्म देखिएको छैन । तै पनि आज रातभर सहमतिका लागि प्रयास जारी राख्ने नेताहरूले बताएका छन् ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता निर्वाचनबाटै छानिएका छन् । अहिले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । तसर्थ मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना प्रबल छ ।

विशेष महाविधेशनबाट आएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि शेरबहादुर देउवा समूहबाट आफू बाहिरिएर डा. शेखर कोइराला समूहले आफ्नै विचार समूह चलाउने बताइरहेको छ । तर, दलको नेतामा भने देउवा समूहलाई सघाउने कोइराला समूहका नेताहरू बताउँछन् । ‘दलको नेतामा देउवा समूहको उम्मेदवारलाई सहयोग हुन्छ,’ ती नेताले बिहीबार रातोपाटीसँग भने ।

प्रत्यक्षतर्फ विजयी १२ र समानुपातिकतर्फ चार जना सांसद संस्थापनतिर छन् ।

देउवा र डा. कोइराला समूह एक ठाउँमा भए भने दलको नेतामा सहज बहुमत हुन्छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएका सांसदहरूमध्ये प्रत्यक्षतर्फ संस्थापन र समानुपातिकतर्फ संस्थापन इतरका सांसद बढी छन् ।

प्रत्यक्ष र समानुपातिक गरी संस्थापन पक्षीय १६ र संस्थापन इतरका २२ सांसद छन् । इतरपक्षीय २२ मध्ये निवर्तमान सभापति देउवानिकट १५ र कोइरालानिकट सात जना छन् ।

प्रत्यक्षतर्फ विजयी १२ र समानुपातिकतर्फ चार जना सांसद संस्थापनतिर छन् ।

प्रत्यक्षतर्फ सस्थापनका निर्वाचित निश्कल राई (इलाम–१), मो. फिरदोश आलम (रौतहट–२), प्रकाशसिंह कार्की (सोलुखुम्बु), अभिषेकप्रताप शाह (कपिलवस्तु–३), नरेन्द्रकुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम), मोहन आचार्य (रसुवा), खड्ग शाही (मुगु), बासना थापा (दैलेख–१), भरतकुमार स्वार (अछाम–१), भरतबहादुर खड्का (डोटी) र जनकराज गिरी (बाजुरा) छन् । समानुपातिकबाट निर्वाचित अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक संस्थापन पक्षीय हुन् ।

देउवा समूहबाट प्रत्यक्षतर्फ मनाङबाट टेकबहादुर गुरुङ, पाल्पा–१ बाट सन्दीप राना, हुम्लाबाट जयपति रोकाया, जाजरकोटबाट खड्कबहादुर बुढा र सुर्खेत–१ बाट विष्णुबहादुर खड्काले निर्वाचन जितेका छन् ।

समानुपातिक प्रणालीबाट सांसद भएका भीष्मराज आङ्देम्बे, गीता गुरुङ, सुशीला ढकाल आचार्य, निनुकुमारी कर्ण, शाहजान खातुन, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, पवित्रा विक, सीता थपलिया (उर्मिला) र हरिनादेवी कामी देउवा समूहका हुन् ।

कोइराला समूहबाट प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका छन् । गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना केसी (उप्रेती), डा.प्रमिलाकुमारी गच्छदार, डा. चन्द्रमोहन यादव र रेखाकुमारी यादव समानुपातिकतर्फ विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप