शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वामी आनन्द अरुणद्वारा 'साझा राष्ट्रिय एजेन्डा' प्रस्तुत, योग मन्त्रालयदेखि एसियाली संघसम्मको प्रस्ताव

आइतबार, १३ वैशाख २०८३, ११ : २४
आइतबार, १३ वैशाख २०८३

सारांश

  • ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नेपालको हितका लागि आठ बुँदे साझा राष्ट्रिय एजेन्डा सार्वजनिक गरेका छन्।
  • उनले योग मन्त्रालयको स्थापना, पर्यटन प्रवर्धन, बाँदर नियन्त्रण र एसियाली संघ गठनको प्रस्ताव अघि सारेका छन्।
  • आर्थिक र सांस्कृतिक क्षेत्रको सुधारका लागि उनले कर छुट र प्राचीन ग्रन्थलाई राष्ट्रिय पुस्तक घोषणा गर्ने माग राखेका छन्।

काठमाडौं । ओशो तपोवनका संस्थापक एवं बोधिसत्व स्वामी आनन्द अरुणले नेपालको दीर्घकालीन सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय हितका लागि एक बृहत् 'साझा राष्ट्रिय एजेन्डा' सार्वजनिक गरेका छन् । देश निर्णायक संक्रमणकालबाट गुज्रिरहेको वर्तमान अवस्थामा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विभिन्न आठ बुँदे मार्गचित्र प्रस्तुत गरेका हुन् ।

स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै योग र ध्यानको केन्द्रका रूपमा विकास गर्न 'योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य प्रणाली मन्त्रालय' स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् । मानसिक रोग र जीवनशैलीजन्य समस्या बढ्दै गएको विश्वव्यापी सन्दर्भमा नेपालको प्राचीन ज्ञानलाई संस्थागत गर्न भारतको 'आयुष' मन्त्रालय जस्तै छुट्टै सरकारी संरचना आवश्यक रहेको उनको तर्क छ। यसका साथै धार्मिक तथा आध्यात्मिक संस्थाहरूलाई एनजीओको कानुनभन्दा बाहिर राखी छुट्टै 'धार्मिक न्यास' मार्फत व्यवस्थापन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् । 

देशको ग्रामीण अर्थतन्त्र र कृषि क्षेत्रमा चुनौती बनेको बाँदर आतंकलाई उनले राष्ट्रिय संकटको रूपमा परिभाषित गरेका छन्। बाँदरका कारण करिब २५ प्रतिशत उब्जनीयोग्य भूमि बाँझो रहेको तथ्य प्रस्तुत गर्दै उनले वैज्ञानिक नियन्त्रण नीति र आवश्यक परे निर्यातसमेत खोल्ने गरी 'मानव–वन्यजन्तु सहअस्तित्व नीति' ल्याउन सरकारलाई सुझाव दिएका छन् । 

आर्थिक र सामाजिक सुधारका क्षेत्रमा उनले आध्यात्मिक संस्थाको दानराशिमा लाग्ने १५ प्रतिशत ब्याज कर खारेज गर्न र ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाको ब्याजमा कर छुट दिन प्रस्ताव गरेका छन् । त्यस्तै, सीमा क्षेत्रमा हुने कारोबारमा १०० रुपैयाँको सीमा हटाउन र अत्यावश्यक खाद्यान्न, औषधि र पुस्तकमा भन्सार शून्य बनाउनुपर्ने उनको माग छ।

पर्यटन क्षेत्रको विकासका लागि स्वामी अरुणले १० वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित नवीन योजनाहरू अघि सारेका छन् । जसअन्तर्गत लुक्ला, जोमसोम जस्ता हिमाली विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको 'बेस एयरपोर्ट' बनाउने, १० लाख डलर लगानी गर्ने विदेशीलाई स्थायी बसोबास दिने र नेपाललाई 'बायोलोजिकल नवीकरण' (एपिजेनेटिक पर्यटन) को गन्तव्य बनाउने सोच समेटिएको छ। लुम्बिनीमा बौद्ध राष्ट्रहरूबाट सिधा 'पुण्य उडान' सञ्चालन गर्ने र पशुपतिनाथ, मुक्तिनाथ तथा लुम्बिनीलाई पितृ स्मरणको विश्वव्यापी केन्द्र बनाउनुपर्नेमा उनले जोड दिएका छन् । 

नेपालको जलविद्युत क्षमतालाई २ लाख मेगावाटसम्म पुर्‍याउन सकिने सम्भावना औंल्याउँदै उनले ऊर्जालाई कूटनीतिक शक्तिको रूपमा प्रयोग गर्न सुझाव दिएका छन्। सांस्कृतिक पहिचानको सन्दर्भमा प्राचीन मिथिलाको मौलिक दार्शनिक सम्पदा 'अष्टावक्र महागीता' लाई नेपालको 'राष्ट्रिय पुस्तक' घोषणा गर्न उनले माग गरेका छन् । यस ग्रन्थलाई राष्ट्रिय गौरव र कूटनीतिक उपहारका रूपमा प्रयोग गर्दा नेपालको बौद्धिक मौलिकता विश्वभर फैलिने उनको विश्वास छ।

अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा स्वामी अरुणले नेपालको नेतृत्वमा 'एसियाली संघ' गठनको पहल गर्नुपर्ने एक विशेष प्रस्ताव राखेका छन् ।  युरोपेली संघको मोडलमा एसियाली राष्ट्रहरूबीच शान्ति र आर्थिक एकीकरणका लागि नेपालले मध्यस्थता गर्न सके यसको राजधानी नेपालमै रहने र देशले अन्तर्राष्ट्रिय प्रतिष्ठा पाउने उनले उल्लेख गरेका छन् । यी एजेन्डाहरूले नेपालको मौलिक पहिचान जोगाउँदै समृद्धिको नयाँ ढोका खोल्ने विश्वास उनको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप