शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

झरीले भिजायो गैरीगाउँ–सिनामङ्गलका सुकुमबासीका लत्ताकपडा

आइतबार, १३ वैशाख २०८३, २२ : ५७
आइतबार, १३ वैशाख २०८३

सारांश

  • सुकुम्वासीका सामान वर्षाले भिजाउँदा उनीहरू विचल्लीमा परेका छन्।
  • बस्ती खाली गरिएपछि डेरा खोज्न कठिनाई भएको छ।
  • सामान राख्ने उचित व्यवस्था नहुँदा समस्या थपिएको छ।

काठमाडौँ । घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुमबासीलाई आज परेको झरीले झनै दुःख दिएको छ ।

अतिक्रमित बस्ती खाली गरिएपछि बाहिर राखिएका सुकुमबासीका सरसामान तथा ओड्नेओछ्याउने लुगाकपडादेखि अन्य दैनिक उपभोगका सामग्री भिजाउँदा उनीहरू विचल्लीमा परेका हुन् । साँझ परेको वर्षाका कारण सुकुमबासीले बाहिर खुला चौरमा राखेका खाद्यान्न, ओढ्ने–ओछ्याउने लुगाकपडालगायत सरसामान सबै भिजाएको छ । बस्ती खाली गरिएपछि गैरीगाउँ–सिनामङ्गलमा बसोबास गर्ने अधिकांशलाई डेरा खोज्न कठिन भइरहेको छ भने कतिपयले सामान सुरक्षित राख्न ठाउँ नपाउँदा खुला आकाशमुनि छन् ।

अस्थायी रूपमा चौरमा सामान राख्दा वर्षाले उनीहरूका खाद्यान्न, ओढ्ने–ओछ्याउने लुगाकपडालगायत भिजाएको स्थानीयवासी कमल अधिकारीले जानकारी दिए । उनले भने, “धेरैजसो मानिसहरू पहिले नै अन्यत्र गइसकेका छन्, तर कतिपय यही नै बसेका कारण वर्षाले उनीहरूको खाद्यान्न, लुगा र सरसामान सबै भिजायो, अवस्था निकै दयनीय छ ।”

यहाँ बसेका कतिपय सुकुमबासीसामान लगेर अन्त जान सक्ने हैसियतका नभएका र कतिपय काठमाडौँ बाहिरका भएकाले काठमाडौँमा अहिले डेरा नपाएका कारण सामान यही राखेर डेरा खोजेपछि केही दिनमा जाने तयारीमा रहेका उहाँको भनाइ छ । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा रहेका सुकुमबासीहरूका सरसामान शनिबारदेखि आज दिनभरि साना गाडीले ओसार्दा पनि अझै ओसार्न नसकिएको मिनी ट्रक चालक दोलखाका किशोर तामाङले बताए ।

उनले भने, “कतिपय परिवारका सामान तीन–चार ट्रिपसम्म हुने गरेका छन्, त्यसैले सबै ओसार्न समय लागिरहेको छ । केहीले अझै डेरा नपाएकाले सामान यहीँ राखेर डेरा खोज्न गएका छन् ।”

हाल भत्काइएको क्षेत्रमै अझै ठुलो परिमाणमा सुकुमबासीका सामान थुप्रिएको देखिन्छ । ती सामान कुर्न बसेका व्यक्तिसमेत वर्षामा भिज्न बाध्य भएका छन् । पर्याप्त त्रिपाल, अस्थायी आश्रय वा सुरक्षित भण्डारणको व्यवस्था नहुँदा उनीहरू थप विचल्लीमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप