शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण एसियादेखि अफ्रिकासम्मका सुकुमबासी बस्ती नियाल्दा

सोमबार, १४ वैशाख २०८३, १५ : ५३
सोमबार, १४ वैशाख २०८३

यात्रा केवल नयाँ ठाउँको तस्बिर खिच्नु र सुन्दर दृश्यहरूमा रमाउनु मात्र होइन रहेछ । कहिलेकाहीँ यात्राले समाजका यस्ता कुरुप यथार्थहरूसँग जम्काभेट गराइदिन्छ, जसले वर्षौँसम्म मनमा छट्पटी र मथिंगलमा हजारौँ प्रश्नहरू उब्जाइरहन्छ । काठमाडौँको मेरो बाल्यकालदेखि बंगलादेशको सडक, अफ्रिकाको केन्या र भारतको मुम्बईसम्म पुग्दा मैले समाजको एउटा यस्तो पाटोलाई नजिकबाट भोगेँ, जसलाई हामी सधैँ परैबाट ‘सुकुमबासी बस्ती’ भनेर बुझ्ने गर्छौँ ।

तर, के सुकुमबासी हुनु भनेको केवल टाउको लुकाउने छानो वा एक टुक्रा जमिन नहुनु मात्र हो त ? मेरो जीवनका यी भोगाइहरूले मलाई यो भ्रमबाट सधैँका लागि ब्युँझाइदिएका छन् ।

मट्टीतेलको चुलो र रङ्गीन टीभीको त्यो विरोधाभास

मेरो बाल्यकाल काठमाडौँको एउटा सुकुम्बासी बस्तीकै छेउमा बित्यो । ती बस्तीका धुलाम्मे गल्लीहरू र त्यहाँका साथीहरूसँग मेरो गहिरो साइनो थियो । तर कलिलो दिमागले पनि त्यहाँ एउटा अनौठो विरोधाभास महसुस गथ्र्यो । हाम्रो आफ्नै घर थियो, तर हामी मध्यमवर्गीय परिवारको भान्सामा मट्टीतेलको स्टोभ बल्थ्यो । घरमा न कुनै रङ्गीन टेलिभिजन थियो, न त फ्रिज नै । 

तर, जब म खेल्दै छिमेकको त्यो सुकुमबासी बस्तीमा पुग्थेँ, त्यहाँको दृश्य अर्कै हुन्थ्यो । समाजले ‘अभावमा बाँचेका’ भनेर बिल्ला भिराएको त्यो बस्तीका करिब ८० प्रतिशत घरहरूमा रङ्गीन टेलिभिजनको झिलिमिली हुन्थ्यो । भान्सामा ग्यास चुलो बल्थ्यो र कुनामा फ्रिज सजिएको हुन्थ्यो । मक्किएका जस्तापाता र प्लास्टिकका छानोमुनि हुर्किएको त्यो ‘आधुनिकता’ले मलाई सधैँ अचम्ममा पार्थ्यो । 

अलि बुझ्ने भएपछि मात्र मैले त्यो बस्तीको असली अनुहार देखेँ । चुनावको रौनक सुरु हुनासाथ सुकिला लुगा लगाएका नेताहरू त्यहाँ पुग्थे, हात जोड्थे र भन्थे– ‘तपाईँहरू ढुक्क हुनुस्, यहाँबाट कसैले हटाउन सक्दैन ।’ त्यसपछि मैले बुझेँ, त्यो बस्ती अभावको केन्द्र मात्र थिएन, त्यो त सत्ताको भर्‍याङ उक्लिने एउटा सुरक्षित ’भोट बैंक’ थियो ।

ढाकाको सडकमा महसुस भएको त्यो डर 

समय बित्दै गयो । सन् २०२० मा म बंगलादेशको राजधानी ढाका पुगेँ । ढाकाको त्यो यात्रा मेरो मानसपटलमा अझै ताजै छ । हामी ट्याक्सीमा एयरपोर्टतर्फ फर्किँदै थियौँ । बाटोमा एउटा विशाल, अनन्तसम्म फैलिएको जस्तो देखिने बस्ती आयो ।

अचानक ट्याक्सी चालकको स्वर गम्भीर भयो । ‘झ्यालका सिसा माथि सार्नुस् र भित्रैबाट लक गर्नुस्,’ उनले सचेत गराउँदै भने, ‘यो यहाँको सबैभन्दा ठुलो सुकुमबासी एरिया हो । यहाँ चोरी, लुटपाट र अपराधको बिगबिगी छ । बाहिर कोही आएर पैसा माग्दै झ्याल ढक्ढकायो भने पनि नखोल्नुहोला ।’ मैले सिसाबाट बाहिर चिहाएँ । त्यहाँको हावामै एक किसिमको निराशा र डर मिसिएजस्तो लाग्थ्यो । मानिसहरू दिउँसै रक्सीले मात्तिएर हिँडिरहेका थिए । मेरो मनमा एउटा ठुलो हुरी चल्यो— जब राज्यलाई नै थाहा छ कि यो ठाउँ अपराध र असुरक्षाको दलदल बनिसक्यो, तब किन यसलाई यत्तिकै छाडिएको छ ? आफ्नै नागरिकहरूलाई यस्तो नारकीय र असुरक्षित जीवन जिउन बाध्य पार्ने यो कस्तो राज्य व्यवस्था हो? एयरपोर्ट नपुग्दासम्म मेरो मन शान्त हुन सकेन । 

केन्यामा देखिएको ‘गरिबीको व्यापार’

तर, गरिबी र सुकुमबासी बस्तीलाई हेर्ने मेरो दृष्टिकोणमा सबैभन्दा ठुलो भूकम्प त केही महिनाअघि केन्या पुगेपछि गयो । अफ्रिकाको त्यो यात्रा मेरा लागि केवल सिकाइ मात्र बनेन, एउटा नमीठो सत्यको पर्दाफास पनि बन्यो ।

नैरोबी पुगेपछि मैले गुगलमा ’घुम्ने ठाउँहरू’ खोजेँ । पर्यटकीय गन्तव्यको सूचीमा एउटा सुकुमबासी बस्ती (स्लम) को नाम देख्दा म छक्क परेँ । गरिबी र अभाव पनि घुम्ने ठाउँ हुन सक्छ? त्यहाँ पुग्दा थाहा भयो— भित्र पस्न बाकायदा टिकट काट्नुपर्ने रहेछ र पर्यटकलाई डुलाउन अनिवार्य रूपमा गाइड लैजानुपर्ने रहेछ ! 

मैले ट्याक्सी चालकलाई सोधेँ, ‘यति अव्यवस्थित, असुरक्षित र रोगले भरिएको ठाउँलाई सरकारले व्यवस्थित गर्नुको साटो उल्टै ‘टुरिस्ट डेस्टिनेसन’ बनाएर किन प्रमोट गरिरहेछ ?’ उनले दिएको जवाफले मेरो मथिंगल हल्लियो । ‘यहाँ धेरै एनजीओ र आइएनजीओहरू छन्,’ चालकले भने, ‘उनीहरूका लागि यो बस्ती भनेको विदेशबाट डलर झार्ने भाँडो हो ।

यदि यो बस्ती व्यवस्थित भयो र यहाँका मानिसहरूको जीवनस्तर सुध्रियो भने, ती संस्थाहरूको रोजीरोटी नै बन्द हुन्छ । त्यसैले, उनीहरू नै चाहँदैनन् कि यो बस्ती यहाँबाट हटोस् ।’ म अवाक् भएँ । गरिबी निवारणको नाममा खोलिएका पसलहरूका लागि ‘गरिबी’ नै सबैभन्दा ठुलो पुँजी रहेछ । मानिसहरूको अभाव र दुःखलाई ’चिडियाखानाका जनावर’ जस्तै टिकट काटेर हेर्ने वस्तु बनाइएको त्यो दृश्यले मलाई भित्रैदेखि हल्लाइदियो । 

मुम्बईको स्लमः जहाँ रोगलाई परैबाट हेरिन्छ

यस्तै कहालीलाग्दो दृश्य मैले मुम्बईमा पनि देखेको थिएँ । एयरपोर्टको ठीक नजिकै फैलिएको त्यो विशाल बस्तीलाई पनि ‘स्लम टुरिजम’कै रूपमा चलाइएको रहेछ । जब हामी त्यहाँ जान खोज्यौँ, हाम्रा गाइडले बेलैमा चेतावनी दिए– ‘त्यहाँ भित्र सरुवा रोगहरूको डर छ, असाध्यै फोहोर छ र सुरक्षाको कुनै ग्यारेन्टी छैन । जानै परे आफ्नै रिस्कमा जानुस् ।’ 

हामी भित्र गएनौँ, तर बाहिरैबाट त्यो बस्तीलाई नियाल्यौँ । हजारौँ मानिस माथि आकाशमा करोडौँका हवाइजहाज उडिरहँदा, तल जमिनमा भने मानिसहरू ढल र फोहोरबिच श्वास फेर्न संघर्ष गरिरहेका छन् । वर्षौँदेखि उनीहरू त्यहीँ छन्, न कोही त्यहाँबाट निस्किएर राम्रो ठाउँमा गएका छन्, न राज्यले उनीहरूलाई त्यहाँबाट निकालेको छ । त्यो बस्ती पनि केवल एउटा ‘स्थायी प्रदर्शनी’जस्तो बनेर बाँचिरहेको छ । 

अन्त्यमा, काठमाडौँको त्यो ‘भोट बैंक’, ढाकाको त्यो असुरक्षित गल्ली, केन्याको त्यो डलर फल्ने खेती र मुम्बईको त्यो रोगले भरिएको पर्यटकीय स्लम– यी सबैलाई जोडेर हेर्दा मैले एउटै निष्कर्ष निकालेको छु– सुकुमबासी बस्ती केवल जमिन नभएका मानिसहरूको बासस्थान होइन रहेछ । यो त राजनीतिज्ञहरूको कुर्सी जोगाउने, केही संस्थाहरूको डलर ल्याउने र गरिबीलाई ‘बेचेर’ खाने एउटा डरलाग्दो उद्योग पो रहेछ ।

जबसम्म अभावलाई उत्पादन बनाएर बेच्ने यो विश्वव्यापी ‘इकोसिस्टम’ भत्किँदैन, तबसम्म यी बस्तीहरूले न त कहिल्यै मुक्ति पाउनेछन्, न त यी सहरहरू नै साँच्चै सुन्दर हुनेछन् । यात्रा त अझै बाँकी छ, तर यी बस्तीहरूले मेरो मनमा छाडेर गएको त्यो चहर्‍याइरहने घाउ सायद कहिल्यै पुरिएला कि ! 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

संगीता तिमिल्सिना
संगीता तिमिल्सिना
लेखकबाट थप