बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश : सय दिनमा पर्यटनमन्त्रीका सय उपलब्धि

मन्त्रलाय र वन निर्देशनालयको बेरुजु शून्य
शुक्रबार, २५ वैशाख २०८३, १३ : ४६
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले सम्पादन गरेका १०० वटा मुख्य उपलब्धि सार्वजनिक गरेका छन् ।
  • पर्यटन प्रवर्द्धनका लागि गण्डकी, मधेस र बागमती प्रदेशसँग द्विपक्षीय समझदारी, पोखरा–विराटनगर सिधा हवाई सेवा र पर्यटकीय बस सञ्चालनका लागि पहल गरिएको छ ।
  • वन व्यवस्थापनमार्फत ६ करोड २ लाख ९२ हजार राजस्व सङ्कलन, मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राहत वितरण र हात्ती द्वन्द्व न्यूनीकरणका लागि ¥यापिड रेस्पोन्स टिम गठन गरिएको छ ।

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले सम्पादन गरेका १०० वटा मुख्य उपलब्धि सार्वजनिक गरेका छन् ।

‘१०० दिनका १०० उल्लेखनीय कार्य’ शीर्षकमा शुक्रबार सार्वजनिक गरिएको सूचीमामा पर्यटन प्रवर्द्धन, वन व्यवस्थापन, जैविक विविधता संरक्षण र सुशासनका क्षेत्रमा गरिएका कार्य समेटिएका छन् ।

मन्त्री पराजुलीले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै कोशी प्रदेशले गण्डकी, मधेस र बागमती प्रदेशसँग पर्यटन प्रवर्द्धनका लागि द्विपक्षीय समझदारी गरेको जनाएको छ । यस्तै पोखरा–विराटनगर सिधा हवाई सेवा र पर्यटकीय बस सञ्चालनका लागि पहल गरिएको उनले उल्लेख गरेका छन् ।

कोशी प्रदेशका पर्यटकीय क्षेत्रलाई रामायण सर्किटसँग जोड्न र चितवनका पर्यटन व्यवसायीहरूसँग मिलेर एकीकृत प्याकेज बनाउन पहल सुरु भएको मन्त्री पराजुलीले जनाएका छन् ।

सार्वजनिक गरिएको सूचीअनुसार पर्यटन पूर्वाधारतर्फ ओखलढुंगाको हर्कपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ भने मुन्धुम पदमार्ग, लालिगुराँस पदमार्ग, फाल्गुनन्द र चियाबारी पदमार्ग गरी कुल ४६.९ किलोमिटर पदमार्ग निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको छ । मुन्धुम पदमार्गको प्रचारका लागि क्युएफएक्स सिनेमा र बुद्ध एयरको इनफ्लाइट म्यागजिनमार्फत प्रवर्द्धन गरिएको उपलब्धिमा उल्लेख छ ।

यस्तै वन क्षेत्रबाट प्रदेश सरकारले उल्लेखनीय राजस्व सङ्कलन गरेको जनाइएको छ । समग्र वन व्यवस्थापनमार्फत ६ करोड २ लाख ९२ हजार राजस्व सङ्कलन भएको जिकिर गर्दै काठ बिक्रीबाट मात्रै ठुलो रकम सङ्कलन भएको जनाइएको छ । सरकारी र सामुदायिक वनबाट लाखौँ क्युविक फिट काठ र दाउरा उत्पादन गरी आन्तरिक खपत र लिलाम प्रक्रिया अगाडि बढाइएको मन्त्री पराजुलीले जनाए ।

उनका अनुसार निजी वन प्रवर्द्धनका लागि १ करोड ७ लाख क्युविक फिट काठ बिक्री वितरण गरिएको छ । धनकुटा र पाँचथरमा स्थायी नर्सरी निर्माण गरी ४० वटा काष्ठजन्य नर्सरी मर्मत गरिएको उपलब्धिमा उल्लेख छ ।

मन्त्री पराजुलीले मानव र वन्यजन्तुबिचको द्वन्द्व घटाउन विशेष चासो दिएको जनाएका छन् । यस अवधिमा वन्यजन्तुबाट पीडित एक हजार ६६ जनालाई कुल २ करोड १८ लाख २४ हजार रुपैयाँ राहत वितरण गरिएको उल्लेख छ । झापा, मोरङ र सुनसरीमा हात्ती द्वन्द्व न्यूनीकरणका लागि ¥यापिड रेस्पोन्स टिम गठन गरी ड्रोनमार्फत गस्ती गर्ने कार्य सुरु भएको, झापा र सुनसरीमा ३३ किलोमिटरभन्दा बढी क्षेत्रमा सोलार फेन्स र सौर्य तारवार मर्मत तथा जडान गरिएको उनले बताए ।

संरक्षणका क्षेत्रमा सन्दकपुरमा रेड पाण्डा महोत्सव र पाँचथरको फालेलुङमा चौरी महोत्सव आयोजनामा मन्त्रालयले सहकार्य गरेको जनाइएको छ । ओखलढुंगामा रेड पाण्डाको सर्वेक्षण र पहिरो नक्साङ्कन सम्पन्न भएको छ । साथै, विभिन्न जिल्लाका सामुदायिक वनहरूमा डढेलो नियन्त्रणका सामग्री वितरण गरिएको छ ।

वातावरणतर्फ ३३ वटा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरिएका छन् । कोशी प्रदेशका १३ स्थानमा सडक पहिरो रोकथाम र १० स्थानमा सिँचाइ जलाधार व्यवस्थापनका कार्यहरू सम्पन्न भएको मन्त्री पराजुलीको सय दिने उपलब्धिमा उल्लेख छ ।

मन्त्री पराजुलीको कार्यकालको एक महत्त्वपूर्ण उपलब्धि भनेको मन्त्रालय र वन निर्देशनालयको बेरुजु शून्य रहनु हो । यसले वित्तीय अनुशासन र सुशासनलाई झल्काउँछ । मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गरी डिजिटल सुशासनतर्फ पाइला चालेको जनाएको छ ।

आर्थिक वर्ष २०८२÷०८३ को बजेट कार्यान्वयनतर्फ मन्त्रालयले हालसम्म वित्तीय ३७.९८ प्रतिशत र भौतिक ७२.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्री पराजुली आफैँले प्रदेशका १२ वटा जिल्लाको अनुगमन र निरीक्षण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप