सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु

आइतबार, २७ वैशाख २०८३, ०८ : १३
आइतबार, २७ वैशाख २०८३

सारांश

  • इजरायली सेनाले गरेको हवाई आक्रमणमा लेबनानमा एकै दिन कम्तीमा ३९ जनाको ज्यान गएको छ।
  • दक्षिणी सहर सक्सकियेहमा भएको आक्रमणमा एक बालिकासहित सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
  • हिज्बुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा तीन इजरायली सैनिक घाइते भएका छन्।

बेरुत । लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो शृङ्खलाबद्ध हवाई आक्रमणमा एकै दिन कम्तीमा ३९ जनाको ज्यान गएको छ। 

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सक्सकियेहमा भएको भीषण आक्रमणमा मात्रै एक बालिकासहित सात जनाको मृत्यु भएको छ।

सक्सकियेहमा भएको सो आक्रमणमा अन्य १५ जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।  जसमा तीन बालबालिका रहेका छन्।

इजरायली रक्षा बल (आईडीएफ) ले आफूले सशस्त्र समूह हिजबुल्लाहको सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, सर्वसाधारणको हताहती भएको रिपोर्टप्रति आफूहरू सचेत रहेको र यसको समीक्षा भइरहेको आईडीएफले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल १६ मा इजरायल र लेबनान सरकारबीच युद्धविराम सम्झौताको घोषणा गरे पनि दुवै पक्षबिच हिंसा रोकिएको छैन। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहको पूर्वाधार ध्वस्त पार्ने भन्दै निरन्तर बमबारी गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नबातियामा एक इजरायली ड्रोनले मोटरसाइकलमा सवार एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरीलाई लक्षित गरेको थियो। पहिलो आक्रमणबाट जोगिएर भाग्न खोज्दा ड्रोनले दोस्रो पटक प्रहार गरी बुबाको हत्या गरेको र तेस्रो पटक प्रहार गरी छोरीलाई गम्भीर घाइते बनाएको मन्त्रालयले उल्लेख गरेको छ। ती बालिकाको हाल अस्पतालमा उपचार भइरहेको छ।

यता, हिजबुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको छ। सो आक्रमणमा तीन इजरायली सैनिक घाइते भएको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायलले हाल दक्षिणी लेबनानको सीमा क्षेत्रमा १० किलोमिटर भूभाग कब्जा गरेर बसेको छ, जसका कारण कयौँ गाउँहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

गत मार्च २ देखि सुरु भएको पछिल्लो संघर्षमा लेबनानमा हालसम्म २,७९५ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। पछिल्लो एक हप्तामा मात्रै १२० भन्दा बढी लेबनानीको ज्यान गएको छ। इजरायली पक्षले भने आफ्ना १७ सैनिक र केही सर्वसाधारण मारिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप