शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

‘पार्टीभित्र ‘रविको मान्छे’ वा ‘बालेनको मान्छे’ भनेर हल्ला नगरौँ’

नतिजा दिन नसके नालायक सावित हुनेछौँ, गुटबन्दी बन्द गरौँ : रवि लामिछाने
आइतबार, २७ वैशाख २०८३, १६ : ३६
आइतबार, २७ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी पाँच वर्षमा परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य हुने बताएका छन्।
  • उनले पार्टीभित्र ‘रविको मान्छे’ वा ‘बालेनको मान्छे’ जस्ता गुटबन्दीमा नलाग्न सांसदहरूलाई कडा निर्देशन दिएका छन्।
  • लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग व्यक्तिगत स्वार्थ नभई देशको भविष्यका लागि सहकार्य भएको र सञ्चारमाध्यमले फुटको अपेक्षा नगर्न आग्रह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी पाँच वर्षभित्र जनताले महसुस गर्ने गरी परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य र नालायक सावित हुने बताएका छन्।

ललितपुरमा पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सभापति लामिछानेले पार्टीका सांसदहरूलाई कुनै पनि प्रकारको गुटबन्दीमा नलाग्न कडा निर्देशन दिएका छन्। पार्टीभित्र ‘रविको मान्छे’ वा ‘बालेनको मान्छे’ भनेर चर्चा गर्ने गरिएको प्रति संकेत गर्दै उनले यस्तो कार्य तत्काल बन्द गर्न भनेका हुन्।

विगतमा राजनीतिक शक्तिहरू नमिल्दा देश ७० वर्ष पछाडि धकेलिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेन साह र आफूबिच कुनै व्यक्तिगत स्वार्थ नभई देशको भविष्यका लागि सहकार्य भएको स्पष्ट पारे। आफूहरूबीच फुटको अपेक्षा गर्ने सञ्चारमाध्यमहरूप्रति लक्षित गर्दै उनले भने, ‘हामी राजनीतिक रुपमा परिपक्व छौँ, वास्ना त आउला तर खाना सर्भिस हुनेवाला छैन।’

उनले पार्टीमा योगदानको मूल्य माग्ने समय अझै नभएको भन्दै केही सांसदहरूले व्यक्तिगत अपेक्षा राखेर आफूलाई भेट्ने गरेकोमा असन्तुष्टि व्यक्त गरे। रास्वपाले सहज रूपमा राजनीतिक उचाइ हासिल गरे पनि यसको जग अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षले नै तयार पारेको उनको भनाइ छ।

‘हामीलाई चुनावमा जाँदा नै बहुमत आउँछ भन्ने थाहा थियो, यति सजिलो संघर्ष दुनियामा कसैले गरेको छैन,’ भन्दै उनले अबको पाँच वर्ष केवल काम गरेर परिणाम दिने बेला भएको बताए।

आफ्नो अभिव्यक्ति र क्रियाकलापले आम नागरिकमा चोट पुग्न सक्ने कुरामा सचेत हुन उनले सबै सांसदहरूलाई आग्रह गरे। ऐतिहासिक क्रान्तिबाट आएको हुनाले यसलाई सफल बनाउनु सबैको दायित्व भएको उनले उल्लेख गरे। फरक प्रसंगमा उनले सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकार लागिपरेको र कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिबद्धता जनाए। उनले व्यक्तिगत माग र मुद्दालाई थाती राखेर राष्ट्र र जनताको हितमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप