बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बोलपत्र प्रणाली ह्याक

विक्रम पाण्डेविरुद्ध सङ्गठित कसुरको मागदाबी हटाएर अभियोगपत्र दायर

नायब सुब्बा मुख्य योजनाकार, २३ लाखको क्रिप्टो कारोबार
सोमबार, २८ वैशाख २०८३, १५ : ३०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको रायमा फेरबदल गरेर मुद्दा दायर गरिएको छ ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरेर ठेक्काको विवरण परिवर्तन गरेको घटनामा पाण्डेविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार मात्र सजाय मागदाबी गरिएको छ ।
  • वेबसाइट ह्याक गरेर ठेक्का कब्जा गरेको घटनाका मुख्य योजनाकार नायब सुब्बा दिवाकर देउजा रहेको र उनीविरुद्ध अभौतिक मुद्राको कारोबार गरेको कसुरमा पनि अभियोगपत्र दायर गरिएको छ ।

काठमाडौँ । पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको रायमा फेरबदल गरेर मुद्दा दायर गरेको भेटिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरेर ठेक्काको विवरण परिवर्तन गरेको घटनामा प्रहरीले पाण्डे विरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४५ र ४६ तथा सङ्गठित अपराध निवारण ऐन २०७० दफा ३ अनुसारको कसुरमा मुद्दा दायर गर्न राय दिएको थियो ।

Bikram By Police Raya 1.28 (2083)

तर, काठमाडौँ जिल्ला अदालतमा वैशाख २५ मा दायर गरेको अभियोगपत्रमा पाण्डे विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५ र दफा ४६ अनुसार मात्र सजाय गर्न मागदाबी गरिएको छ ।

Bikram By Govt Okil Abhiyog 1.28 (2083)

कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले बोलपत्र पेस गर्ने म्याद भन्दा पछि आफूले भाग लिएको टेन्डरमा फाइनान्सियल कागजात परिवर्तन गरी ६७ करोडलाई ६० करोडमा घटाएको देखिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आशिष निर्माण सेवाका ऋषिकेश गौलीको हकमा पनि सङ्गठित अपराध हटाएर अभियोग पत्र दायर गरेको छ ।  सङ्गठित अपराधको अभियोग लगाउँदा थप सजाय हुने कानुनी व्यवस्था छ । ब्यूरोले पक्राउ परेका १२ जना र अन्य फरार प्रतिवादीलाई सङ्गठित अपराध, विद्युतीय कारोबार र अभौतिक मुद्राको कारोबार गरेको कसुरमा मुद्दा दायर गर्न राय दिएको थियो ।

वेबसाइट ह्याक गरेर ठेक्का कब्जा गरेको घटनाका मुख्य योजनाकार नायब सुब्बा दिवाकर देउजा रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटामा कार्यरत देउजाले ठेक्काको विवरण हेरफेर गरिदिने र त्यसबापत पैसा लिने गरेको अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

धनकुटाको पाख्रीबास गाउँपालिका–५ घर भएका ३३ वर्षीय देउजालाई सीआईबीले २०८२ फागुन २८ मा पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । देउजा यसअघि २०७७ मा टेलिकमको सर्भर ह्याक गरेर टपअप प्रणालीमार्फत  रकम हिनामिना गरेको घटनामा पक्राउ परेका थिए ।

diwakar-deuja

त्यस्तै अपराधमा दोस्रो पटक पक्राउ परेका देउजाले ठेक्काको विवरण हेरफेर गरेपछि निर्माण कम्पनीहरूसँग भर्चुअल मुद्रा लिने गरेको भेटिएको छ । ह्याकिङ प्रकरणमा मुख्य प्राविधिक ‘कार्यान्वयनकर्ता’को भूमिकामा देखिएका देउजाको खातामा २० हजार क्रिप्टो रकम सञ्चित गरेको भेटिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । उनीविरुद्ध अभौतिक मुद्राको कारोबार गरेको कसुरमा पनि अभियोगपत्र दायर गरिएको छ ।

तर, देउजाले बयानमा विटक्वाइन र क्रिप्टो कारोबार नगरेको जिकिर गरेका छन् । बयान उनले भनेका छन्, ‘म  क्रिप्टो करेन्सीको कारोबार र माइनिङ गर्दिनँ ।’

  • २३ लाखको क्रिप्टो कारोबार

सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरेर ठेक्काको विवरण परिवर्तन गरेको घटनामा २३ लाख बराबरको क्रिप्टो कारोबार भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरूले कसुर गरेबापत प्राप्त रकम बीटीएस एड्रेसमा रकमान्तर गर्न भर्चुअल मुद्राको कारोबार गरेका हुन् ।

आफ्ना डिभाइस इन्फर्मेशन र वास्तविक पहिचान लुकाउन भर्चुअल प्राइभोट नेटवर्क (भीपीएन) प्रयोग गरेर सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) बाट आह्वान गरिने विभिन्न इटेन्डरमा क्रिप्टो कारोबार गरेर ठेक्कामा आर्थिक चलखेल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । क्रिप्टो कारोबार गर्नेमा दिवाकार देउजा, सञ्जय भट्ट र भरत धामीको संलग्नता रहेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सञ्जय भट्टको सोली थुम्का निर्माण सेवाको सञ्चालक हुन् । गुल्मी जिल्लाको एउटा सडकको ठेक्का मा बिड गरेभन्दा २ करोड थपेर कागजात मिलाउँदा पनि पर्ने र त्यसको लागी ५६ लाख तिर्नुपर्ने प्रस्ताव आएपछि आफूले अमेरिकामा बस्ने एक जना व्यक्तिमार्फत २३ लाख बराबरको क्रिप्टो रकम दिएको बयानमा खुलाएका छन् ।

उनले भनेका छन्, ‘मलाई पीपीएमओको कर्मचारी बताउनेले रकम चाहिँ बिटक्वाइनमार्फत बुझाउनुपर्ने भनेपछि  अमेरिकामा बस्ने एक जनामार्फत २३ लाख बुझाएको हुँ ।’

क्रिप्टो रकम भुक्तानी गर्न आफ्नो सालो नाता पर्ने काठमाडौँ–३३ घर भएका ३५ वर्षीय भास्करराज अर्यालले सहजीकरण गरिदिएको उनले स्विकारेका छन् । भास्करलाई पनि पक्राउ गरेर प्रतिवादी कायम गरिएको छ ।

क्रिप्टो कारोबारमा शङ्कास्पद भूमिकामा देखिएका बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर–३ घर भएका २५ वर्षीय भरत धामीलाई प्रहरीले बयान लिएको छ । उनी अभियोग पत्र दायर गर्दा अन्य प्रतिवादीसँग अदालतमा उपस्थित छैनन् ।

धामीले आफूले  भेट्टाएको एनसेलको सीमकार्ड पहिले प्रयोग गरेको र सो सीमकार्डमार्फत  डाटा हब प्रालिको क्लाउड सर्भरमा अनधिकृत पहुँच राखेको तथ्य अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘मैले पीपीएमओको वेबसाइट ह्याक गरेर कबोल मूल्य परिवर्तन गरेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप