शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
समाचार

नेपाली क्रिकेटमा ऐतिहासिक फड्को: टेस्ट राष्ट्र इंग्ल्याण्डसँग टी-२० सिरिजको गृहकार्य सुरु

वानखेडेको भिडन्तपछि इङ्ल्याण्ड र क्यानबिच संवाद
सोमबार, २८ वैशाख २०८३, १५ : ५३
सोमबार, २८ वैशाख २०८३

सारांश

  • इंग्ल्याण्डको पुरुष क्रिकेट टोलीले सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय चक्रमा नेपालसँग टी-२० सिरिज खेल्ने विषयमा गृहकार्य सुरु गरेको छ।
  • नेपाली क्रिकेटले पछिल्ला वर्षहरूमा तीव्र गतिमा प्रगति गरिरहेको छ र गत वर्ष यूएईमा वेस्ट इन्डिजलाई पराजित गर्दै पहिलोपटक आईसीसी पूर्ण सदस्य राष्ट्रविरुद्ध सिरिज जितेको थियो।
  • नेपालले अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्रलाई आफ्नो भूमिमा आतिथ्य गर्न पाएको छैन, तर क्रिकेट आयरल्याण्डले सन् २०२६-२७ को हिउँदमा नेपाल भ्रमण गर्ने योजना बनाएको छ।

काठमाडौँ । इंग्ल्याण्डको पुरुष क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना बलियो बनेको छ। 

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय चक्र (एफटीपी) मा नेपालसँग छोटो टी-२० आई सिरिज खेल्ने विषयमा गृहकार्य सुरु गरेको हो। यदि यो भ्रमण सफल भएमा नेपाल भ्रमण गर्ने इंग्ल्याण्ड अहिलेसम्मकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय टोली बन्नेछ।

नेपाली क्रिकेटले पछिल्ला वर्षहरूमा तीव्र गतिमा प्रगति गरिरहेको छ। गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले पहिलोपटक आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध सिरिज जितेर इतिहास रचेको थियो। 

यद्यपि, नेपालले अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्रलाई पूर्ण अन्तर्राष्ट्रिय भ्रमणका लागि आफ्नो भूमिमा आतिथ्य गर्न पाएको छैन। यो खडेरी सन् २०२६-२७ को हिउँदमा अन्त्य हुने देखिन्छ, किनकि क्रिकेट आयरल्याण्डले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग पाँच वर्षको रणनीतिक साझेदारी सम्झौता गरिसकेको छ र सोही समयमा ह्वाइट-बल सिरिजका लागि नेपाल भ्रमण गर्ने योजना बनाएको छ।

गत फेब्रुअरीमा सम्पन्न टी-२० विश्वकपमा नेपाल र इंग्ल्याण्डबिच पहिलोपटक प्रतिस्पर्धा भएको थियो। मुम्बईको वानखेडे स्टेडियममा भएको उक्त रोमाञ्चक खेलमा इंग्ल्याण्डले अन्तिम बलमा नेपाललाई पराजित गरेको थियो। सोही खेलपछि क्यानका सचिव पारस खड्काले भारतमै ईसीबीका अधिकारीहरूसँग भेटघाट गरी द्विपक्षीय सिरिजका बारेमा छलफल गरेको बुझिएको छ। 

ईसीबीले २०२७-३१ को भविष्यको भ्रमण तालिका (एफटीपी) मा अन्य बोर्डहरूसँग काम गरिरहेको छ। इंग्ल्याण्डले छिमेकी राष्ट्र भारतको भ्रमण गर्नुअघि वा पछि नेपालमा दुई वा तीन खेलको टी-२० सिरिज खेल्ने गरी तालिका मिलाउन सक्ने सम्भावना छ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले विश्वकपका क्रममा ठुला राष्ट्रको नेपाल भ्रमणले क्रिकेटलाई विश्वव्यापीकरण’गर्न मद्दत पुग्ने बताएका थिए। ‘यदि अस्ट्रेलिया वा इंग्ल्याण्ड नेपाल आउँछन् भने त्यसले धेरै अर्थ राख्छ,’ उनले भनेका थिए, ‘यसले विश्व क्रिकेटलाई नेपालले पनि राम्रो क्रिकेट खेल्छ भन्ने देखाउनेछ।’ 

आइतबार स्काई स्पोर्ट्सले ‘नेपाल: क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्र प्रसारण गरेको छ, जसमा नेपालको क्रिकेटप्रतिको लगावलाई देखाइएको छ। उक्त वृत्तचित्रमा पारस खड्काले नेपाली क्रिकेटका लागि अहिले एक्सपोजर आवश्यक रहेको र टेस्ट राष्ट्रहरूसँग खेल्दा मात्रै खेलाडीको स्तर सुधार हुने बताएका छन्।

खड्काका अनुसार क्रिकेट अब नेपालका बालबालिकाको मनमा बसिसकेको छ र यो खेल मात्र नभई देशलाई जोड्ने सबैभन्दा ठुलो कडी बनेको छ। इंग्ल्याण्डले सन् २०२७ को आफ्नो घरेलु सिजनमा एसेज सिरिजका लागि अस्ट्रेलियालाई आतिथ्य गर्नेछ भने पाकिस्तान र न्यूजिल्याण्डसँग पनि ह्वाइट-बल सिरिज खेल्नेछ। अर्कोतर्फ, इंग्ल्याण्डको महिला टोलीले पनि सोही वर्ष बंगलादेश र अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप