शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनको च्याप्टर क्लोज भयो, अब सबैलाई मिलाएर लैजान्छु – सभापति थापा

‘नयाँ पुस्ताका लागि कांग्रेस हजुरबाहरूको पार्टी वा एकादेशको पार्टी जस्तो बन्न थाल्यो’
सोमबार, २८ वैशाख २०८३, १८ : ३१
सोमबार, २८ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको समीक्षा गर्दै गठबन्धनले पार्टीको जग खल्बल्याएको बताएका छन् ।
  • थापाले पार्टीको आन्तरिक विवादको अध्याय सकिएको घोषणा गर्दै सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
  • उनले पार्टीलाई बलियो बनाउन डिजिटल परिचयपत्र आवश्यक रहेको र आर्थिक अपचलनमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै निर्वाचनको समीक्षा, पार्टीको आन्तरिक एकता र आगामी कार्यदिशाबारे विस्तृत धारणा राखेका छन् ।

कर्णाली प्रदेशलगायतका नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले चुनावमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको स्वीकार गर्दै अब चिन्ताभन्दा पनि चिन्तन गर्नुपर्ने बेला आएको बताएका हुन् । उनले अरूलाई दोष लगाउनुको साटो कमीकमजोरीको गहिराइमा पुगेर कारण खोज्नुपर्नेमा जोड दिए ।

निर्वाचनअघि दलहरूबिच भएको गठबन्धनले कांग्रेसको जग खल्बल्याएको थापाको निष्कर्ष छ । नेपालमा उदार राजनीतिक चिन्तन राख्ने ठुलो पङ्क्ति सधैं कांग्रेसको पक्षमा उभिँदै आएको र उनीहरूले रुख चिह्नमा मात्र भोट हाल्ने आस्था राखेको उनले स्मरण गरे ।

‘रुख चिह्नमा मतदान गर्ने ठाउँमा हामीले अरू चिह्नमा भोट हाल्न लगायौँ, कहीँ रुखमा हाल्नेलाई साइकल, मसाल, हँसिया हथौडा र सूर्यमा हाल्न लगायौँ,’ थापाले भने, ‘यसले हाम्रो मतदाताको जुन सधैंभरि भइरहेको एउटा ठूलो पङ्क्ति थियो, त्यसलाई खल्बलाइदियो ।’ गठबन्धनका कारण मतदातालाई विकल्प खोज्न सहज बनाइदिएको र यसले कांग्रेसको ठुलो मत प्रभावित भएको उनले बताए ।

थापाले आजको राजनीतिक सञ्चारको भाषा पूर्ण रूपमा परिवर्तन भएको तर्फ पनि सचेत गराए । कांग्रेसका कार्यकर्ताले जनतालाई बुझाउन ५ मिनेट समय पाउने तर एक जना मतदाताले दिनमा ५ घण्टा सामाजिक सञ्जालमा बिताउने हुँदा पुराना पार्टीको विरुद्धमा भाष्य निर्माण भइरहेको उनले बताए ।

१०र१५ वर्षमा देशमा केही पनि भएन भन्ने भाष्य स्थापित हुँदै गएको र इतिहासका विकास निर्माणका कामलाई समेत बङ्ग्याएर भिडियोहरू बनाउने गरिएको भन्दै उनले चिन्ता व्यक्त गरे । नयाँ पुस्ताका लागि कांग्रेस ‘हजुरबाहरूको पार्टी’ वा ‘एकादेशको पार्टी’ जस्तो बन्न थालेको भन्दै थापाले उनीहरूलाई गाली गर्नुको साटो गएर सम्वाद गर्न र किन भोट नहालेको भनेर प्रश्न गर्न कार्यकर्तालाई निर्देशन दिए ।

चुनाव हारे पनि कांग्रेस एउटा राष्ट्रिय शक्ति र अभिभावक भएको थापाको दाबी छ । २०६४ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस हारे पनि देश हार्नु हुँदैन भनेर चुनाव गराएको प्रसङ्ग निकाल्दै उनले संविधान जोगाउन कांग्रेस सधैं अगाडि सर्ने बताए ।

अब सङ्घमा सशक्त प्रतिपक्ष र प्रदेश तथा स्थानीय तहमा जनमुखी सरकार चलाउनुपर्ने उनको भनाइ छ । स्थानीय वा प्रदेश सरकारमा रहेका कांग्रेसका प्रतिनिधिहरूले आर्थिक अपचलन गरेको प्रमाण भेटिए कसैलाई नछाड्ने उनले चेतावनी दिए । ‘स्थानीय सरकार सञ्चालन गर्ने सन्दर्भमा हाम्रा साथीहरू आर्थिक अपचलनमा लागेको तथ्य प्राप्त भयो भने अख्तियारले कारबाही गर्नु पर्दैन, अख्तियारभन्दा पहिला मैले कारबाही गरेर बिदा गर्छु,’ थापाले भने ।

पार्टीको आन्तरिक विवाद र हालै सम्पन्न विशेष महाधिवेशनबारे बोल्दै थापाले अब त्यो अध्याय सकिएको घोषणा गरे । उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई भेटेर सबै एकै ठाउँमा रहेको र मिलेर अघि बढ्ने सन्देश दिएको खुलाए । ‘हामी को विशेषमा आएका थियौं, को आएका थिएनौं, त्यो एउटा घटना थियो, सकियो । अब त्यो च्याप्टर क्लोज,’ थापाले भने ।

उनले १४औं महाधिवेशनमा केन्द्रीय समितिमा रहेका तर अहिले छुटेका नेताहरूलाई पनि सम्मानपूर्वक समेटेर १५औं महाधिवेशनमा लैजाने प्रतिबद्धता जनाए । जनतालाई कांग्रेसको घरझगडा र गुटका भेलासँग कुनै सरोकार नभएको भन्दै उनले पार्टीका आन्तरिक विवाद बाहिर देखाउन नहुनेमा जोड दिए । जनतालाई महँगी, शिक्षा र स्वास्थ्यको चिन्ता भएकोले कांग्रेसले ती विषयमा बोल्नुपर्ने उनले बताए ।

पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने र डिजिटल डाटाबेस बनाउने विषयमा उठेका विवादबारे पनि थापाले प्रस्टीकरण दिए । उनले लाखौं क्रियाशील सदस्यहरूसँग पार्टीको आधिकारिक धारणा पुर्‍याउन उनीहरूको टेलिफोन नम्बरसहितको तथ्याङ्क अनिवार्य रहेको बताए ।

प्रविधिको युगमा पार्टीलाई बलियो बनाउन डिजिटल परिचयपत्र आवश्यक रहेको उनको भनाइ छ । सदस्यता नवीकरण र शुल्कको विषय पूर्णबहादुर खड्का महामन्त्री हुँदा बनेको विधानमै स्पष्ट रहेको भन्दै उनले यसलाई विवादको विषय नबनाउन आग्रह गरे ।

अन्त्यमा थापाले आफूलाई सबैले विश्वास गरेर सभापति बनाएको भन्दै पार्टी र कार्यकर्ताको इज्जतमा आँच आउन नदिने कसम खाए । ‘मेरो निर्णयले गर्दा, मेरो आचरणले गर्दा वा मेरो वैयक्तिक जीवन र परिवारका कारणले देशभरिको एक जना कांग्रेसको पनि शिर निहुरिने अवस्था आउन दिन्नँ, यो मेरो बाचा हो,’ थापाले भने ।

उनले सबैसँग संवाद गरेर पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने विश्वाससमेत दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप