आत्मघाती हमलापछि पाकिस्तान र अफगानिस्तानबिच तनाव
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको घातक आत्मघाती आक्रमणपछि इस्लामाबादले अफगानिस्तानमाथि गम्भीर आरोप लगाउँदै देशका शीर्ष कूटनीतिज्ञलाई बोलाएको छ ।
पाकिस्तानले उक्त आक्रमण अफगानिस्तानमा आश्रय लिएर बसेका आतङ्ककारी समूहले योजनाबद्ध रूपमा गराएको निष्कर्ष निकालेको दाबी गरेको छ । यस घटनाले पहिलेदेखि तनावपूर्ण रहेको पाकिस्तान–अफगान सम्बन्धलाई थप चिस्याउने सङ्केत देखिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा अफगान कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाएर औपचारिक रूपमा आपत्ति जनाइएको जनाएको छ । मन्त्रालयका अनुसार घटनाको विस्तृत अनुसन्धान, सङ्कलित प्रमाण तथा प्राविधिक गुप्तचर सूचनाले आक्रमणको योजना अफगानिस्तानमा बसेका आतङ्ककारीहरूले बनाएको सङ्केत गरेको छ ।
शनिबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नू क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार एक आत्मघाती हमलाकारीले सुरक्षा चौकीमा कार बम विस्फोट गराएका थिए भने त्यसलगत्तै सशस्त्र समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो ।
अफगान सीमासँग नजिक रहेको बन्नू क्षेत्रका एक वरिष्ठ प्रशासनिक अधिकारीले आक्रमण निकै योजनाबद्ध र उच्चस्तरीय तयारीसहित गरिएको बताए । नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग कुरा गर्दै उनले आक्रमणमा सहभागी आतङ्ककारीहरूले भारी हतियार बोकेको क्वाडकप्टरसमेत प्रयोग गरेको जानकारी दिए ।
उनका अनुसार आक्रमणमा १०० भन्दा बढी लडाकू संलग्न रहेका थिए । घटनापछि इस्लामाबादस्थित अमेरिकी दूतावासले पनि प्रतिक्रिया दिएको छ । दूतावासले सामाजिक सञ्जाल एक्समार्फत बन्नूमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानी नागरिकहरू सुरक्षित, शान्तिपूर्ण र आतङ्कवादी हिंसामुक्त भविष्यका हकदार रहेको उल्लेख गरेको छ ।
हालका वर्षहरूमा पाकिस्तानको सीमावर्ती क्षेत्र बन्नू आतङ्कवादी गतिविधिको प्रमुख केन्द्रमध्ये एक बन्दै गएको छ । विशेषगरी अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएपछि पाकिस्तानले सीमापारबाट हुने आक्रमण र सशस्त्र गतिविधि बढेको आरोप लगाउँदै आएको छ ।
तर अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानका आरोपहरू निरन्तर अस्वीकार गर्दै आएको छ । काबुलले अफगान भूमिलाई कुनै पनि आतङ्कवादी समूहले प्रयोग गर्न नदिइएको दाबी गर्दै पाकिस्तानले प्रस्तुत गरेका आरोप राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउने गरेको छ ।
पछिल्ला महिनाहरूमा दुई देशबीचको सम्बन्ध अझ तनावपूर्ण बनेको छ । सीमावर्ती क्षेत्रमा बारम्बार हुने झडप, पाकिस्तानी हवाई आक्रमण तथा एकअर्कामाथि लगाइएका आरोपका कारण अवस्था थप संवेदनशील बनेको हो । केही घटनामा दुवै पक्षबीच प्रत्यक्ष सशस्त्र भिडन्तसमेत भएको थियो ।
विश्लेषकहरूले बन्नू आक्रमणपछि पाकिस्तानले अफगानिस्तानमाथि सार्वजनिक रूपमा लगाएको आरोपले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने बताएका छन् । विशेषगरी सीमापार आतङ्कवाद, शरणार्थी समस्या र सुरक्षा सहकार्यका विषयमा दुई देशबीच विश्वासको सङ्कट गहिरिँदै गएको सङ्केत देखिएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण