सरकारलाई जवाफदेही बनाउन र बेरुजु फर्स्यौटमा कडाइ गर्न माग
सारांश
- सार्वजनिक लेखा समिति बैठकमा सांसदहरूले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनुपर्ने र बेरुजु फर्स्यौटमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्।
- नेकपा सांसद वर्षमान पुनले समितिमा सत्तापक्ष र प्रतिपक्षका रूपमा नभई असल भावनाका साथ जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्ने र जथाभावी खर्च गर्ने प्रवृत्ति रोक्न समिति गम्भीर हुनुपर्ने बताए।
- समितिका सचिव एकराम गिरीले हालसम्मको जम्मा बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक गरे।
काठमाडौँ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसदहरूले संसदीय समितिप्रति सरकारलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्।
समितिको कार्यक्षेत्रभित्र रहेका विषयहरूमा कार्यपालिकालाई जिम्मेवार बनाउँदै संसदीय निगरानीलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ। बैठकमा विशेषगरी बढ्दो बेरुजु र ठूला पूर्वाधार आयोजनामा भएका अनियमितताका विषयमा गम्भीर छलफल भएको छ।
बैठकमा नेकपा सांसद वर्षमान पुनले समितिमा सत्तापक्ष र प्रतिपक्षका रूपमा नभई असल भावनाका साथ जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। पुराना सबै खराब र नयाँ सबै असल भन्ने भाष्य निर्माण गर्नुभन्दा पनि गुण र दोषका आधारमा निष्पक्ष मूल्याङ्कन हुनुपर्ने उनले बताए।
समितिका कामहरूलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै पुनले जथाभावी खर्च गर्ने प्रवृत्ति रोक्न समिति गम्भीर हुनुपर्ने उल्लेख गरे। ‘समितिका कामहरूलाई पारदर्शी बनाउनुपर्ने र सरकारलाई समितिप्रति जवाफदेही बनाउनुपर्ने’ पुनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले मुलुकमा देखिएका हालका वित्तीय समस्याहरू विगतका सरकारहरूको कार्यशैलीका कारण सिर्जना भएको दाबी गरिन्। गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्ने भन्दै उनले यसअघिको त्रुटिपूर्ण प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिइन्।
त्यस्तै, सांसद खुस्बु ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताका विषयमा समितिमा विस्तृत छलफल हुनुपर्ने माग गरिन्। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा यसअघि समितिमा भएका छलफल र प्रक्रियालाई समेत निरन्तरता दिनुपर्ने बताइन्।
बैठकमा समिति सचिव एकराम गिरीले समितिको कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण दिँदै मुलुकको भयावह बेरुजुको तथ्याङ्क सार्वजनिक गरेका छन्। उनका अनुसार हालसम्मको जम्मा बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको छ।
यो ठूलो परिमाणको बेरुजुले वित्तीय अनुशासनको अवस्था कमजोर रहेको देखाएको भन्दै सांसदहरूले यसको फर्स्यौट र असुलीका लागि सरकारलाई दबाब दिनुपर्ने धारणा राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण