रास्वपाको राजनीतिक छलाङ, पार्टी स्थापनाको दिन पारेर गर्दैछ प्रथम महाधिवेशन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापनाको चार वर्ष नपुग्दै आगामी असार ७-९ सम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।
- केन्द्रीय समिति बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय गर्दै सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने निर्णय गरेको छ ।
- महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ र यसमा स्वच्छ प्रतिस्पर्धा हुनेगरी नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्नेछ ।
काठमाडौँ । पार्टी स्थापनाको चार वर्ष नपुग्दै विशाल जनसमर्थन पाएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असार ७–९ सम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने निर्णय गरेको छ । महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन रास्वपाले विभिन्न समिति गठन गरेको छ । संयोजनको भूमिका निर्वाह गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।
महाधिवेशन व्यवस्थित रूपमा सञ्चालन गर्न महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वको समितिले बनाएको महाधिवेशन कार्यविधि, २०८३ लाई बैठकले अनुमोदन गरेको छ । अर्का महामन्त्री भूपदेव शाहको संयोजकत्वमा बनेको एकता समायोजन समिति र सहमहामन्त्री आचार्यको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिलाई जेठ १० गतेसम्म मस्यौदा पेस गर्न निर्देशन दिएको छ । पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन भएकाले भव्य र प्रविधिको भरपुर प्रयोग हुने रास्वपाका नेता प्रकाशचन्द्र परियारले बताए ।
‘राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने कुरा चानचुने हुँदैन । त्यसमा पनि सत्तारुढ दलले आफ्नो स्थापना दिवसको दिन महाधिवेशन गर्न लागिरहेको छ । छोटोमा तर बृहत्तर बनाउन हामी भरपुर मेहनत गर्छौं । डिजिटलाइजेसन, प्रविधि र जनशक्ति प्रयोग गरेर भव्य बनाउने प्रयास हुन्छ’, परियारले भने ।
यता सहमहामन्त्री विपिन कुमार आचार्यले महाधिवेशन कार्यविधि केन्द्रीय समिति बैठकले अनुमोदन गरे पनि पूर्णता पाइनसकेको बताए । विधान संशोधनको काम बाँकी नै रहेकाले त्यसकै आधारमा महाधिवेशन सञ्चालन कार्यविधि बन्ने उनको भनाइ छ ।
‘महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरेका छौँ । त्यसमा मौजुदा केन्द्रीय समिति स्वतः महाधिवेशन आयोजक समितिमा रुपान्तरण भएको छ । बाँकी प्रतिनिधि कसरी छनोट गर्ने ? कति जना सहभागी हुने ? कसरी व्यवस्थित बनाउने भन्ने विषय कार्यविधिमा आउँछ’, रातोपाटीसँग उनले भने ।
कार्यविधि सम्बन्धमा थप स्पष्ट पार्दै उनले भने, ‘महामन्त्री कवीन्द्रजीको संयोजकत्वमा बनेको समितिले बनाएको कार्यविधि बैठकले अनुमोदन गरेको छ, तर पूर्णता पाइसकेको छैन । कतिपय कुरा विधान संशोधन गरेपछि मात्र स्पष्ट खाका बनाउन सक्ने भएकाले गृहकार्य भइरहेको छ ।’
रास्वपाले फागुनमा भएको निर्वाचनअघि विवेकशील साझा, बालेन समूह, थरुहट÷थारुवान, विभिन्न जेनजी समूहसँग एकता गरेको थियो । महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनेगरी नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्ने आचार्यले जानकारी दिए ।
‘पहिलोपटक हामी राष्ट्रिय महाधिवेशन गर्न गइरहेका छौँ । चार वर्षअघि सानो आकारमा खुलेको पार्टी धेरै मेहनत गरेर विशाल जनसमर्थन प्राप्त मूलधारको राजनीतिक पार्टीमा स्थापित भएको छ’, उनले भने, ‘विधि, विधान र पद्धतिमा आधारित सुसंस्कृत पार्टी बनाउने हाम्रो लक्ष्य हो । यसअघि पार्टी निर्माणकै क्रमम कति ठाउँमा विधि मिचियो, कति ठाउँमा प्रक्रिया मिलेन होला । अब कसैले पनि विधि, विधान र पद्धति मिच्न नसक्ने गरी काम गर्दैछौँ ।’
आचार्यका अनुसार अन्तरिम विधानमा भएका प्रावधान, नियमावली, कार्यविधि, बाचापत्रमा टेकेर राजनीतिक दस्तावेज, विधान, कार्यविधि तयार हुनेछ । असार १ गतेभित्र टोल, वडा, पालिका, जिल्ला, प्रदेशको अधिवेशन सम्पन्न गरिसक्ने गरी महाधिवेशन कार्यतालिका बनाएको छ ।
जेठ ३- वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९- पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०- पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६- वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७- पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)
जेठ २३ र २४ जिल्ला अधिवेशन
बुधबार बसेको केन्द्रीय समिति बैठकले जेठ २६ देखि असार १ गतेसम्म सात वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । नेता प्रकाशचन्द्र परियारका अनुसार जेठ २६ गते बागमती प्रदेश, २७ गते कोशी प्रदेश, २८ गते मधेस प्रदेश, २९ गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुनेछ ।
महाधिवेशन प्रतिनिधि कसरी छानिन्छन् ?
रास्वपाको विधान २०७९ (संशोधन २०८१)को धारा २३ मा महाधिवेशन प्रतिनिधिहरूको व्याख्या गरिएको छ, जसमा केन्द्रीय समिति, केन्द्रीय सल्लाहकार परिषद्, तीन वटा केन्द्रीय निकाय, केन्द्रीय विभागका प्रमुख सहित कम्तीमा ३३ जना महिला सहभागी हुनेगरी ११ जना, प्रदेश समिति, प्रादेशिक निकाय र विभागका पदाधिकारी सहभागी हुनेछन् ।
यसैगरी प्रदेश–काठमाडौँ सम्पर्क विभागका प्रमुखसहित (एक जना महिला) तीन जना, जिल्ला समिति सभापति (एक महिला सहित) पाँच जना, जिल्ला–काठमाडौँ विभागका प्रमुख, निर्वाचन क्षेत्रका संयोजक र सहसंयोजक प्रतिनिधि हुनेछन् ।
यस्तै प्रवास विभाग अन्तर्गत विभिन्न देशमा रहेका प्रवास नेपाली सम्पर्क विभाग तथा त्यसका शाखा समेतबाट प्रतिनिधित्व हुनेगरी प्रमुखसहित विभागको नियमावली बमोजिम अधिकतम ११ जना, पालिका सभापति एक सहभागी हुने व्यवस्था छ ।
पालिका अधिवेशनले छनोट गर्ने प्रतिनिधिहरूमा २०१ भन्दा बढी पार्टी सदस्य भएका पालिकाबाट १ जना, ४०१ भन्दा बढी सदस्य भएका नगरपालिकाबाट २ जना, ५०१ भन्दा बढी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना र ७०१ भन्दा बढी पार्टी सदस्य भएका महानगरपालिकाबाट ४ जना प्रतिनिधि सहभागी रहने व्यवस्था छ ।
पार्टीको तर्फबाट प्रतिनिधि सभा, प्रदेश सभामा निर्वाचित प्रतिनिधिहरू, पार्टीको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुखहरू, केन्द्रीय र्याटबाट संयोजक सहित ५ जना प्रतिनिधि बन्न सक्ने व्यवस्था छ । सहमहामन्त्री आचार्यले विधान संशोधन हुँदा केही संख्या तलमाथि हुने भए पनि प्रक्रिया एउटै हुने स्पष्ट पारे । उनका अनुसार पार्टी एकताको भावना अनुसार सबैलाई समेट्नुपर्ने हुँदा केन्द्रीय समिति र पदाधिकारीको आकार थोरै बढ्न सक्नेछ ।
मौजुदा केन्द्रीय समितिमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष सहित १२९ सदस्यीय केन्द्रीय सदस्य छन् । रास्वपाको केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । वैशाख २० गते बसेको रास्वपाको सचिवालय बैठकले सचिवालय विस्तार गरी १६ सदस्यीय बनाएको छ ।
शक्तिशाली पार्टी निर्माणमा रास्वपाको छलाङ
लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित २०७९ साल असार ७ गते रास्वपा गठन भएको थियो ।
पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा असार १७ गते निर्वाचन आयोगमा दल दर्ता भयो । आयोगबाट दलको मान्यता पाएको पाँच महिनामै संसदमा चौथो राजनीतिक शक्तिको रूपमा रास्वपा स्थापित भयो । त्यतिबेला रास्वपाले ११ लाख ३० हजारभन्दा बढी लोकप्रिय मत सहित २० सिट जितेको थियो । पार्टी स्थापनाकालमा नाम, झण्डा र चुनाव चिह्न सम्बन्धमा कानुनी झमेलामा फस्यो । सभापति रवि लामिछाने नागरिकता, राहदानी, सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामामिलामा फस्दै गए । यद्यपि रवि र रास्वपाका नेताहरूले राजनीतिक प्रतिशोधका तथा पूर्वाग्रहका आधारमा सरकारले मुद्दा लगाएको जिकिर गर्दै आएका छन् ।
यसअघि मुद्दा मामिलाका रविको सांसद पद खारेज र निलम्बनमा परेको थियो । उनी संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा ८ महिना पुर्पक्षका लागि थुनामा गएका थिए । रविमाथि राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेको आरोप लगाउँदै तत्कालीन सरकारविरुद्ध रास्वपाले ४० लाख हस्ताक्षर संकलन गरेको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीति नै मोडियो ।
आन्दोलनका क्रममा २३ जना जेनजीको मृत्यु भएपछि आक्रोशित भिडले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण सम्पत्ति ध्वस्त गरेपछि केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढल्यो । पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संसद् विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गर्यो ।
नेतृत्वमाथि लागेका अनेकौँ मुद्दा, पार्टीभित्र देखिएको अन्तरविरोधका कारण रास्वपा रक्षात्मक बन्दै गएको बेला अदालतको आदेश अनुसार रवि दुई करोड ६८ लाख धरौटीमा पुस ४ गते रिहा भए । परम्परागत राजनीतिक दलहरू विरुद्ध जनमत भड्किएको फाइदा उठाउँदै रवि र काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन एक ठाउँमा उभिए । पुस १३ गते भएको ७ बुँदे सहमति अनुसार रवि पार्टी पार्टी सभापति र बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार बने ।
दुई पक्षबिच भएको सहमति अनुसार निर्वाचनमा होमिएको रास्वपाले इतिहासकै अभूतपूर्व नतिजा निकाल्न सफल भयो । यस निर्वाचनमा परम्परागत स्थापित पार्टीलाई बढार्दै रास्वपाले प्रतिनिधि सभामा झन्डै दुई तिहाइ सिट पाएको छ ।
पार्टी स्थापनाको छोटो समयमै रास्वपाले संसदीय राजनीतिमा लामो छलाङ मार्न सफल भएको हो । हाल रास्वपाले प्रत्यक्षमा १२५ सिट र समानुपातिकमा ५१ लाख ८३ हजारभन्दा बढी मत ल्याएर कीर्तिमान राखेको छ । पुराना दलप्रति आम नागरिकको वितृष्णा, लोकप्रियवादको आडमा रवि र बालेन बिचको रसायनले रास्वपाले ठुलो सफलता प्राप्त गरेको राजनीतिक वृत्तमा चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण