मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

होन्डालाई ७० वर्षयताकै पहिलो वार्षिक घाटा

शुक्रबार, ०१ जेठ २०८३, १२ : ३७
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • जापानी अटो निर्माता कम्पनी होन्डा मोटरले करिब ७० वर्षमा पहिलो पटक वार्षिक घाटा बेहोरेको छ ।
  • विद्युतीय सवारी (ईभी) व्यवसाय पुनर्संरचनाका कारण ९ अर्ब डलरभन्दा बढी खर्च हुँदा ठुलो आर्थिक क्षति बेहोर्नुपरेको कम्पनीले जनाएको छ ।
  • कम्पनीले सन् २०३० सम्म २० प्रतिशत ईभी बिक्री गर्ने लक्ष्य त्यागेको छ र क्यानडामा ईभी तथा ब्याट्री उत्पादनका लागि प्रस्तावित ११ अर्ब डलरको परियोजना अनिश्चितकालका लागि स्थगित गरेको छ ।

टोकियो । जापानी अटो निर्माता कम्पनी होन्डा मोटरले घाटा बेहोरेको छ । सेयर बजारमा सूचीकृत भएको करिब ७० वर्षपछि पहिलो पटक वार्षिक घाटा व्यहोरेको घोषणा कम्पनीले गरेको छ । विद्युतीय सवारी (ईभी) व्यवसाय पुनर्संरचनाका कारण ९ अर्ब डलरभन्दा बढी खर्च हुँदा ठुलो आर्थिक क्षति बेहोर्नुपरेको कम्पनीले जनाएको हो । 

सन् १९५७ मा सेयर बजारमा सूचीकृत भएपछि होन्डाले पहिलो पटक यस्तो वार्षिक नोक्सानी सार्वजनिक गरेको हो । यसले परम्परागत अटो निर्माता कम्पनीहरूले ईभी क्षेत्रमा आक्रामक लगानी गरेर कमजोर मागसँग जुध्नुपर्दा कति जोखिम हुन्छ भन्ने देखाएको विश्लेषण गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोशिहिरो मिबेले होन्डाले सन २०३० सम्म नयाँ गाडी बिक्रीको २० प्रतिशत ईभी बनाउने लक्ष्य त्यागेको बताएका छन् । साथै २०४० सम्म सम्पूर्ण बिक्रीलाई विद्युतीय वा फ्युल–सेल सवारीमा रूपान्तरण गर्ने योजना पनि रद्द गरिएको छ । होन्डाले क्यानडामा ईभी तथा ब्याट्री उत्पादनका लागि प्रस्तावित ११ अर्ब डलरको परियोजना अनिश्चितकालका लागि स्थगित गरेको छ । 

यो जापानी कम्पनीले क्यानडामा गर्न लागेको सबैभन्दा ठुलो लगानी हुने योजना थियो । विश्लेषकहरूका अनुसार होन्डाको नाफामूलक मोटरसाइकल व्यवसायले कम्पनीलाई नगद प्रवाह र सेयरधनी प्रतिफल कायम राख्न सहयोग गरिरहेको छ, जबकि अटो व्यवसाय अझै प्रतिस्पर्धामा आउन सकेको छैन ।

म्याक्वेरीका मोबिलिटी अनुसन्धान प्रमुख जेम्स होङले होन्डाको रणनीतिक कार्यान्वयन धेरै ढिलो भएको टिप्पणी गरेका छन् । चीनबाट स्थानीय पार्टपुर्जा बढी प्रयोग गर्ने योजना नयाँ नभएको पनि उनले बताए । 

मार्चसम्मको आर्थिक वर्षमा होन्डाको सञ्चालन घाटा ४१४ अर्ब ३० करोड येन पुगेको छ, जबकि अघिल्लो वर्ष कम्पनीले १२ खर्ब येन नाफा कमाएको थियो । मार्चमा सकिएको व्यावसायिक वर्षमा ईभी व्यवसायसँग सम्बन्धित कुल घाटा १४ खर्ब ५० अर्ब येन पुगेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षमा थप ५०० अर्ब येन खर्च हुने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप