ठुला र लाेकप्रिय कलाकारले सङ्घको महत्त्व बुझेनन् : सांसद श्रेष्ठ
सारांश
- बागमती प्रदेशका सांसद एवं अभिनेता मधुकुमार श्रेष्ठले नाम चलेका कलाकारहरूले नेपाल चलचित्र कलाकार सङ्घलाई बेवास्ता गर्ने गरेको आरोप लगाएका छन् ।
- उनले ठुला कलाकारहरूले सङ्घको महत्त्व नबुझेको र उनीहरूको अनुपस्थिति सङ्गठनको भ्यालु नबुझेको हो कि भन्ने भान भएको बताए ।
- सांसद श्रेष्ठले कलाकार सङ्घको भवन बेचेर सहरको केन्द्र भागमा जग्गा खोज्न आग्रह गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ । बागमती प्रदेशका सांसद एवं अभिनेता मधुकुमार श्रेष्ठले नाम चलेका कलाकारहरूले नेपाल चलचित्र कलाकार सङ्घलाई बेवास्ता गर्ने गरेको आरोप लगाएका छन् । आइतबार कलाकार सङ्घको २१ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सांसद श्रेष्ठले सङ्घ सबै कलाकारको साझा छाता सङ्गठन भए पनि ठुला र पपुलर भनिएका कलाकारहरूको अनुपस्थितिले सङ्गठनको भ्यालु नबुझेको हो कि भन्ने भान भएको धारणा राखे ।
‘विदेशमा अवार्ड वा कार्यक्रम हुँदा वरिष्ठ र नाम चलेका कलाकारहरूको ओइरो लाग्छ, तर आफ्नै हकहितका लागि लड्ने संस्थाको अधिवेशनमा उहाँहरू देखिनुहुन्न’, उनले भने ‘उहाँहरू आउनुहुन्न भने यस्तो सङ्घको सदस्यता दिइरहनु र वरिष्ठ मानिरहनुको के औचित्य ?’ सङ्घलाई बेवास्ता गर्ने प्रवृत्तिले संस्था कमजोर हुने धारणा उनको थियो ।
सङ्घको नेतृत्वका लागि भइरहेको सबिन श्रेष्ठ र उत्तम केसी बिचको चुनावी प्रतिस्पर्धालाई लक्षित गर्दै सांसद श्रेष्ठले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।
‘सामाजिक सञ्जालमा एक–अर्कालाई खुइल्याउने र तल झार्ने खेल भइरहेको छ । यसले कलाकारिता क्षेत्रकै अपमान गर्ने हो’, उनले थपे– ‘हिजोसँगै चुनाव लडेका साथीहरू आज फुटेर एक–अर्कालाई सिध्याउन लागेको देख्दा दुःख लाग्छ ।’

सांसद श्रेष्ठले कलाकार सङ्घको हालको भवन कलङ्की पायक पर्ने ठाउँमा नभएको उल्लेख गर्दै यसलाई बेचेर सहरको केन्द्र भागमा जग्गा खोज्न आग्रह गरे । ‘यदि संघले बानेश्वर, अनामनगर वा गौशाला जस्ता सेन्ट्रलाइज्ड ठाउँमा जग्गा बैना गर्छ भने म बागमती प्रदेश सरकारबाट भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भने ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्ड अध्यक्षको ब्यक्तिगत तवरबाट भन्दा पनि नियम र कानुनले चल्ने बताए । बोर्डको उपलब्धिबारे चर्चा गर्दै अध्यक्ष डीसीले केही समयदेखि रोकिएको स्टुडियो निर्माणको काम पुनः सुरु हुन लागेको जानकारी दिए ।
त्यसका लागि आगामी सोमबार बनेपा नगरपालिकाका मेयरसँगको छलफलपछि यसले ‘क्लिन चिट’ पाउने र स्टुडियो निर्माणको काम अगाडि बढ्ने उनको भनाइ थियो । बोर्डले चलचित्र क्षेत्रको विकासका लागि प्ल्याटफर्म भएको उनले स्पष्ट पारे ।
कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले कलाकारले सङ्घको महत्त्व नबुझेकोमा गुनासो गरिन् । चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, अभिनेता नबल खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत थुप्रै कलाकर्मीको कार्यक्रममा उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण