मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापानमा चर्चा कमाउँदै बारुलाबाट बन्ने बिस्कुट

सोमबार, ०४ जेठ २०८३, १३ : ४६
सोमबार, ०४ जेठ २०८३

सारांश

  • जापानमा 'जिबाची सेन्बेई' नामक बारुला भरिएको बिस्कुट विश्वभर चर्चामा छ।
  • ओमाची सहरका बारुला सौखिनहरूको समूह र स्थानीय बेकरको सहकार्यमा यो अनौठो खाजाको सुरुवात भएको हो।
  • यो खाजा विशेष गरी ज्येष्ठ नागरिकहरू माझ लोकप्रिय छ र यसको स्वाद डढेको किसमिस जस्तो लाग्ने उपभोक्ताहरूको अनुभव छ।

टोकियो । संसारमा खानपिनका अनेकौँ अनौठा परिकारहरू छन्, जसमध्ये जापानको ‘जिबाची सेन्बेई’ अहिले विश्वभर चर्चामा छ। 

सन् २०१० को दशकको मध्यतिर यो खाजा पहिलो पटक सञ्चारमाध्यमहरूको हेडलाइन बनेको थियो। 

ओमाची सहरका रैथाने खन्ने बारुला (डिग्गर वास्यप) का सौखिनहरूको समूह ‘ओमाची जिबाची ऐकोकाई’ र स्थानीय बेकरबिचको सहकार्यमा यो अनौठो खाजाको सुरुवात भएको हो। उनीहरूले बारुलाको वास्तविक स्वाद र पहिचान दिने भन्दै बिस्कुटभित्र सुकाइएका बारुलाहरू भर्न सुरु गरे।

वैज्ञानिक तथ्य अनुसार खान योग्य किराहरूमध्ये बारुलामा सबैभन्दा बढी प्रोटिनको मात्रा पाइन्छ। यद्यपि मानिसहरूले यसलाई प्रोटिनका लागि भन्दा पनि यसको अनौठोपनका कारण चाखेर हेर्ने गर्छन्। 

Jibachi-Senbei3

कतिपयका लागि दर्जनौँ काला र सुकेका बारुलाहरू भरिएको बिस्कुट हेर्दैमा खान अयोग्य जस्तो लाग्न सक्छ। मरेका किराका अवशेषहरू चपाउनु धेरैका लागि रुचिकर विषय नभए पनि जापानमा विशेष गरी ज्येष्ठ नागरिकहरू माझ यो खाजा निकै लोकप्रिय र नयाँपन दिने परिकार साबित भएको छ।

यो विश्वप्रसिद्ध बारुला क्र्याकर्स बनाउने प्रक्रिया पनि निकै चाखलाग्दो छ। ओमाची जिबाची ऐकोकाई समूहका वृद्ध बारुला सिकारीहरू जङ्गलमा जाल थापेर यी किराहरू समात्छन्। त्यसपछि तिनलाई उमालेर सुकाइन्छ र स्थानीय बेकरलाई हस्तान्तरण गरिन्छ। 

बेकरले बिस्कुटको पीठोमा ती सुकेका बारुला मिसाएर बेक गर्छन्। यो बिस्कुटको पीठो हल्का गुलियो स्वादको हुन्छ भने भित्र रहेका सुकेका बारुलाहरूको स्वाद डढेको किसमिस जस्तो लाग्ने उपभोक्ताहरूको अनुभव छ।

यो खाजा बनाउन ‘वेस्पुला फ्लाविसेप्स’ वा ‘कुरोसुजुमे बाची’ प्रजातिका खन्ने बारुलाहरूको प्रयोग गरिन्छ, जुन मानव स्वास्थ्यका लागि पूर्ण रूपमा सुरक्षित मानिन्छन्। तर सुरक्षित हुँदैमा यो सबैका लागि स्वादिष्ट परिकार नै हुन्छ भन्ने चाहिँ होइन। 

यो क्र्याकर्सको प्याकेट खोल्ने बित्तिकै आउने गन्ध माछाको दानाको जस्तो हुन्छ, जुन सुँघ्नका लागि त्यति आकर्षक मानिँदैन। जापानको ओमाची सहरमा पहिलो पटक बनाइएको यो जिबाची सेन्बेई त्यहाँका स्थानीय बजार र केही छानिएका डिपार्टमेन्टल स्टोरहरूमा सजिलै भेटिन्छ। 

कतिपय विदेशी पर्यटकहरू त केवल यो अनौठो बारुला क्र्याकर्सको स्वाद लिनकै लागि मात्र पनि ओमाची सहरको भ्रमण गर्ने गर्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप