शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
बेथिति

व्यक्तिको नाममा रहेको जग्गा विद्यालयको लेटरप्याडबाटै किनबेच !

बुधबार, ०६ जेठ २०८३, १२ : २७
बुधबार, ०६ जेठ २०८३

सारांश

  • मोरङको कानेपोखरी गाउँपालिकास्थित जनसेवा माध्यमिक विद्यालयले आफ्नो लेटरप्याड प्रयोग गरी व्यक्तिको जग्गा बिक्री र नामसारी गरेको फेला परेको छ ।
  • ६२ वर्षीय रोहितराम फुयालको नाममा रहेको १४ कट्ठा ३ धुर जग्गा विद्यालयले २०५२ सालदेखि विभिन्न व्यक्तिलाई बिक्री र नामसारी गरेको पाइएको छ ।
  • जग्गाका वास्तविक धनी फुयालले कर तिरिरहेको र लालपुर्जा आफूसँग सुरक्षित रहेको बताएका छन्, जबकि १४ परिवारले विद्यालयबाट जग्गा किनेको दाबी गरेका छन् ।

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ (साविक बयरवन–८) स्थित जनसेवा माध्यमिक विद्यालयले आफ्नो लेटरप्याड प्रयोग गरेरै व्यक्तिको जग्गा बिक्री र नामसारी गरेको फेला परेको छ । जग्गा बिक्री तथा नामसारी गर्ने अधिकार भूमिसुधार तथा मालपोत कार्यालयको हो । यद्यपि विद्यालयले नै मालपोतको काम गरेको पाइएको हो, त्यो पनि व्यक्तिको जग्गा विद्यालयको लेटरप्याड प्रयोग गरी बिक्री भएको हो ।

उक्त जग्गा ६२ वर्षीय रोहितराम फुयालको नाममा छ । फुयालसँग अहिले पनि जग्गाको लालपुर्जा छ । उनले अहिलेसम्म सरकारलाई तिरो (कर) तिरिरहेका छन्, तर उनको १४ कट्ठा ३ धुर नम्बरी जग्गामा १४ परिवारले घर बनाएर बसेका छन् । ती परिवारसँग जग्गा स्वामित्वबारे विद्यालयले बनाएर दिएको कागज छ ।

प्राप्त कागजात अनुसार जनसेवा माध्यमिक विद्यालयले आफूलाई जग्गाको मालिकका रूपमा प्रस्तुत गर्दै विभिन्न व्यक्तिलाई जग्गा बाँडेको र नामसारी गरिदिएको देखिन्छ । २०५२ माघ १५ गते विद्यालयले काटेको एउटा पत्रमा लेखिएको छ, ‘जग्गा नामसारी गरी दिएको ।’

Janasewa (8) (1)

उक्त पत्रमा लक्षुमण श्रेष्ठको नाममा जग्गा नामसारी गरिदिएको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापकको हस्ताक्षर र छाप छ । नामसारी गरिदिए बापत विद्यालयले १०० रुपैयाँ शुल्कसमेत असुल गरेको पत्रमा देखिन्छ, तर विद्यालयले कुन कानुनी आधारमा व्यक्तिको निजी जग्गा अर्कैको नाममा नामसारी गरिदियो भन्ने प्रश्न अनुत्तरित छ ।

यतिमात्र होइन, विद्यालयले जग्गा बिक्री वितरण गरेको भन्दै विभिन्न व्यक्तिलाई पत्र लेखेको र सोही पत्रका आधारमा स्थानीयले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् । २०६० सालमा भएको एउटा कागजमा विद्यालय वा बजार समितिसँग घडेरी किनेको व्यहोरा उल्लेख छ । विद्यालयले जग्गा धनीको अनुमतिविना नै अरूलाई भोगचलन गर्न दिनु र त्यसको सिफारिस गर्नु सरासर ठगी र किर्ते कार्य हो ।

यस्तो कामको सुरुवात भने २०३९ साल असोज १५ गतेदेखि भएको थियो । रोहितरामका बुबा स्व. नरपति फुयाल सोझो स्वभावका थिए । उनको नाममा कित्ता नं. ६८१ को १४ कट्ठा ३ धुर नम्बरी जग्गा थियो । तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च डीएन राई र वडा अध्यक्ष प्रेम प्रकाश पराजुलीले नरपतिलाई एउटा जालमा पारेका थिए ।

उनीहरूले नरपतिलाई भने, ‘तिम्रो जग्गामा हाटबजार लगाउनु पर्छ, यो जग्गा पञ्चायतलाई छोडिदेऊ । बदलामा तिमीलाई जनसेवा माविमा कार्यालय सहयोगी (पियन) को जागिर दिन्छौँ र अन्त कतै २ बिघा ऐलानी जग्गा मिलाइदिन्छौँ ।’

Atikramit Jagga (4)

जागिरको लोभ र पञ्चायतका शक्तिशाली मान्छेको दबाबमा परेर नरपतिले एउटा काँचो कागजमा सहीछाप गरिदिए । उनले जागिर त पाए, तर न भनेको २ बिघा जग्गा पाए, न त उनको नम्बरी जग्गा नै फिर्ता भयो । पञ्चायतले उनको जग्गा हडपेर गाउँ पञ्चायत र विद्यालयलाई सुम्पियो । त्यही समयदेखि विद्यालयले पाएको ४ कट्ठा जग्गा पछि बिक्री वितरण भएको हो ।

अहिले सो जग्गामा चन्द्रकला पौडेल, रत्नबहादुर पौडेल, लक्ष्मण श्रेष्ठ, कृष्णकुमारी कार्की लगायतका १४ परिवारले घर–टहरा बनाएका छन् । आफूहरूले विद्यालय वा पञ्चायतसँग जग्गा किनेको उनीहरूको दाबी छ । उनीहरूसँग विद्यालयले दिएका ती अवैध कागजहरू बाहेक वैधानिक लालपुर्जा छैन ।

अर्कोतिर, जग्गाका वास्तविक मालिक रोहितराम फुयाल विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भएर उपचाररत छन् । रोहितरामले २०८१ मंसिरसम्मको जग्गा कर (तिरो) तिरिसकेका छन् । उनीसँग २०३४ सालमा जारी भएको सक्कल (रातो) लालपुर्जा सुरक्षित छ । ‘मेरो लालपुर्जा मेरै नाममा छ, तिरो मैले तिरिरहेको छु, तर जग्गामा अरूलाई राखेर गाउँपालिकाले बजेट खर्च गर्छ र टहरा बनाउँछ,’ रोहितरामले भने ।

रोहितरामका छोरा सेन्जाम फुयालले न्यायका लागि कानेपोखरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनले दिएको निवेदनको आधारमा शनिबार गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले सर्वपक्षीय छलफल राखेकी थिइन् । छलफलमा विद्यालयले जग्गा बिक्री गरेको पाइएको अध्यक्ष इङ्नामले बताइन् ।

Janasewa (1)

‘त्यहाँ विद्यालयले नै जग्गा बिक्री गरेको पाइयो,’ उनले भनिन्, ‘जग्गा खाली गराउने निवेदन आएको छ । यसलाई टुङ्गोमा पुर्‍याउने प्रयास भइरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जग्गा कानुनी रूपमा फुयालकै नाममा रहेको स्वीकार गरिन् ।

विद्यालयले लेटरप्याड प्रयोग गरेर जग्गा नामसारी गर्नु वा बिक्रीको सिफारिस गर्नु सरासर गैरकानुनी कार्य हो । यस्तो कार्यमा संलग्न तत्कालीन प्रधानाध्यापक र पञ्चायतका प्रतिनिधिहरूमाथि कानुनी कारबाही हुनुपर्ने पालिकाकै कतिपय जनप्रतिनिधि बताउँछन् । कतिपय जनप्रतिनिधि भने त्यस कुरामा असहमत छन् । पालिकाका उपाध्यक्ष भोला अधिकारीले भने न्यायिक समितिमा परेको निवेदन आफूले छलफल नगराउने भनेर फुयालको निवेदन नै अध्यक्ष इङ्नामलाई पठाइदिएका थिए ।

Janasewa (3)

अहिले देशभर सरकारी र अतिक्रमित जग्गा खाली गराउने क्रम चलिरहेको छ । काठमाडौँमा सरकारी जग्गामा बनेका संरचना भत्काइँदा मोरङका रोहितरामलाई पनि आशा जागेको छ । रोहितरामका छोरा सेन्जाम भन्छन्, ‘हामीलाई कसैको उठीबास लगाउनु छैन, तर हाम्रो नम्बरी जग्गा हामीले पाउनुपर्छ । विद्यालयले गरेको यो अपराध हो । यसलाई सच्याउनुपर्छ ।’

विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाले आफू जग्गाको बारेमा केही नबोल्ने बताए । ‘जग्गाको विषयमा अहिले म केही बोल्दिनँ । नापजाँच चलिरहेको छ । बिक्री भएको, नभएको केही कुरा अहिले यकिन गरिएको छैन । सम्बन्धित निकायले जबाफ माग गरेको छ । जबाफ दिएपछि तपाईंलाई पनि भनौँला,’ निरौलाले भने ।

तर, विद्यालयको जग्गा किनबेच गर्दा प्रधानाध्यापकको रूपमा तुलाराम गुरुङ कार्यरत थिए भने तत्कालीन गाउँ विकास समितिको सचिव तारा काफ्ले थिए । काफ्ले २०५४ सालको निर्वाचनमा बयरवन गाविसको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा पनि निर्वाचित भएका थिए । पालिकाले काफ्लेसहित तीन दर्जनभन्दा बढी सरोकारवालालाई राखेर गरेको छलफलले कुनै निर्णय गर्न नसकेको पालिकाकी अध्यक्ष इङ्नामले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप