शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
व्यंग्यात्मक डिजिटल विस्फोट

भारतमा ‘कक्रोच जनता पार्टी’को उदयः डिजिटल विद्रोहमार्फत पोखिएको युवा आक्रोश

बुधबार, ०६ जेठ २०८३, १६ : ५९
बुधबार, ०६ जेठ २०८३

सारांश

  • भारतमा 'कक्रोच जनता पार्टी' नामक व्यंग्यात्मक डिजिटल आन्दोलन लाखौं युवाको असन्तुष्टि, बेरोजगारी र राजनीतिक निराशाको प्रतीक बनेको छ।
  • सर्वोच्च अदालतका प्रधानन्यायाधीशको एक टिप्पणीपछि सुरु भएको यो अभियानले सामाजिक सञ्जालमा 'म पनि कक्रोच' नारालाई भाइरल बनाएको छ।
  • यो आन्दोलनले बेरोजगारी, परीक्षा घोटाला र युवा प्रतिनिधित्व जस्ता मुद्दा उठाएको छ र यसमा विपक्षी नेताहरू पनि जोडिन थालेका छन्।

नयाँ दिल्ली । भारतीय सामाजिक सञ्जालमा यतिबेला ‘कक्रोच जनता पार्टी’ नामको एउटा व्यंग्यात्मक डिजिटल आन्दोलन विस्फोटक रूपमा फैलिएको छ ।  

केही दिनअघिसम्म सामान्य इन्टरनेट मजाकजस्तो देखिएको यो अभियान अहिले लाखौँ भारतीय युवाको असन्तुष्टि, बेरोजगारी, राजनीतिक निराशा र सामाजिक आक्रोशको प्रतीक बनेको छ । ‘म पनि कक्रोच’ भन्ने नारा अहिले भारतभरका युवामाझ भाइरल बनेको छ । 

सामाजिक सञ्जालमा लाखौँ पोस्ट, मीम, भिडियो र व्यंग्यात्मक राजनीतिक सामग्री यही नारामाथि आधारित छन् ।

यो आन्दोलनको सुरुवात भारतको सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद टिप्पणीपछि भएको हो । मे १५ मा सर्वाेच्च अदालतमा भएको सुनुवाइका क्रममा उनले बेरोजगार युवासम्बन्धी टिप्पणी गर्दै ‘कक्रोचजस्ता युवाहरू’ भन्ने शब्द प्रयोग गरेको आरोप लागेपछि देशभर बहस सुरु भएको थियो । 

दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको बहसका क्रममा सूर्यकान्तले ‘रोजगार नपाएका र पेसामा स्थान नभएका कक्रोचजस्ता युवाहरू’ सामाजिक सञ्जाल र विभिन्न गतिविधिमार्फत प्रणालीमाथि आक्रमण गरिरहेका छन् भन्ने आशय व्यक्त गरेको बताइएको थियो ।

उनको उक्त टिप्पणी सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया सुरु भयो । विशेषगरी बेरोजगारी, परीक्षा घोटाला र आर्थिक संकटसँग संघर्ष गरिरहेका भारतीय युवाले उक्त अभिव्यक्तिलाई आफूहरूमाथिको अपमानका रूपमा लिए । 

विवाद बढ्दै गएपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गर्दै स्पष्टीकरण दिनुपर्‍यो । उनका अनुसार टिप्पणी सम्पूर्ण भारतीय युवाप्रति नभई नक्कली डिग्री लिएर कानुनी क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूप्रति लक्षित थियो । उनले भारतीय युवालाई ‘विकसित भारतका आधारस्तम्भ’ भनी आफ्नो अभिव्यक्ति सच्याएका थिए । 

cockroach-jananata-party3

तर त्यसबेलासम्म एउटा नयाँ आन्दोलन जन्मिइसकेको थियो । अभिजीत दीपके नामका ३० वर्षीय भारतीय विद्यार्थीले सामाजिक सञ्जाल एक्समा ‘सबै कक्रोचहरू एकजुट भए भने के हुन्छ ?’ भनी एउटा पोस्ट गरे । यही वाक्यले केही घण्टाभित्रै विशाल डिजिटल आन्दोलनको रूप लियो । हाल बोस्टन विश्वविद्यालयमा पब्लिक रिलेसन्स अध्ययन गरिरहेका दीपकेले त्यसपछि ‘कक्रोच जनता पार्टी’ नाममा वेबसाइट, इन्स्टाग्राम र एक्स अकाउन्ट सुरु गरे । भारतीय जनता पार्टीको नामलाई जिस्काएर उनले यो नाम राखे अनि ‘सबै कक्रोचहरूका लागि नयाँ प्लेटफर्म’ भन्दै युवाहरूलाई जोडिन आह्वान गरे । 

दीपकेका अनुसार भारतका युवाहरू अहिलेको राजनीतिक प्रणालीसँग आफूलाई जोडिएको महसुस गर्दैनन् । उनीहरू आफ्नो भाषा, हास्य, व्यंग्य, निराशा र सामाजिक अनुभवलाई प्रतिनिधित्व गर्ने नयाँ राजनीतिक अभिव्यक्ति खोजिरहेका छन् । ‘सत्तामा बसेकाहरूले नागरिकलाई कक्रोच र परजीवी ठान्छन्,’ उनले भनेका छन्, ‘तर उनीहरूले बुझ्नुपर्छ कि कक्रोचहरू सडेगलेका ठाउँमा जन्मिन्छन् । आज भारत त्यस्तै बनेको छ ।’

यो आन्दोलनले सुरु भएको ४८ घण्टाभित्रै अभूतपूर्व लोकप्रियता हासिल गरेको छ । यसले पार्टी एन्थम सार्वजनिक गरेको छ, वेबसाइट सुरु गरेको छ । सदस्यता अभियान खोलेर हजारौँ युवालाई जोडिरहेको छ । केही दिनमै यसको इन्स्टाग्राम अकाउन्टमा ३० लाखभन्दा बढी फलोअर पुगेका बताइएको छ । एक्समा पनि लाखौँ मानिसले यसको सामग्री साझा गर्न थालेका छन् । तीन लाख ५० हजारभन्दा बढी मानिसले सदस्यता फाराम भरेको दाबी गरिएको छ । 

सामाजिक सञ्जालमा ‘म पनि कक्रोच’, ‘कक्रोच रिभोलुशन’ र ‘अल्छी छौँ, तर जीवित छौँ’ जस्ता ह्यासट्याग ट्रेन्ड भइरहेका छन् । यो आन्दोलनले आफूलाई ‘धर्मनिरपेक्ष, समाजवादी, प्रजातान्त्रिक, अल्छी’ भन्ने नारासहित प्रस्तुत गरेको छ । विशेषगरी ‘अल्छी’ शब्दको प्रयोगले धेरै युवालाई आकर्षित गरेको छ । बेरोजगार युवामाथि गरिने आलोचनालाई व्यंग्य गर्दै आन्दोलनले ‘हामी अल्छी होइनौँ, प्रणालीले अवसर दिएको छैन’ भन्ने सन्देश दिन खोजेको विश्लेषकहरूको भनाइ छ । 

यस आन्दोलनले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको छ । घोषणापत्रमा बेरोजगारी, परीक्षा घोटाला, मतदाता हेरफेर, कर्पाेरेट मिडियाको प्रभाव, न्यायिक नियुक्ति, राजनीतिक जवाफदेहिता र युवाको प्रतिनिधित्वजस्ता विषय उठाइएको छ । 

विशेषगरी निट परीक्षा पेपर लिक प्रकरणमा आन्दोलन निकै आक्रामक देखिएको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै कक्रोच जनता पार्टीले भारतका शिक्षा मन्त्रीको राजीनामा माग गरेको छ । ‘विद्यार्थीहरू आत्महत्या गरिरहेका छन्, अब जवाफदेहिता सुनिश्चित गर्नुपर्छ,’ आन्दोलनले पोस्ट गरेको थियो ।

भारतमा पछिल्ला महिनाहरूमा विभिन्न सरकारी परीक्षा र प्रवेश परीक्षामा पेपर लिक भएका घटनाले युवामाझ ठुलो निराशा सिर्जना गरेको छ । विश्लेषकहरूका अनुसार यही असन्तुष्टिले पार्टीलाई व्यापक समर्थन दिलाएको हो । भारत अहिले विश्वकै सबैभन्दा धेरै युवा जनसंख्या भएको देश हो । भारतमा हरेक वर्ष ८० लाखभन्दा बढी स्नातक उत्पादन हुने भए पनि शिक्षित युवामाझ बेरोजगारी दर अत्यन्त उच्च रहेको तथ्यांकले देखाउँछ । युवाहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छन र उनीहरू परम्परागत राजनीतिक भाषाभन्दा व्यंग्यात्मक डिजिटल भाषालाई बढी प्रयोग गर्न थालेका छन् ।

त्यसैले धेरैले कक्रोच जनता पार्टीलाई केवल मजाक नभई ‘जेनजी राजनीतिक विद्रोह’को संकेतका रूपमा हेरिरहेका छन् । भारतका चर्चित युट्युबर मेघनाद एसले यो आन्दोलनलाई ‘मजाकबाट जन्मिएको गम्भीर राजनीतिक टिप्पणी’ भनेका छन् । उनका अनुसार धेरै युवा परम्परागत राजनीतिक दलभन्दा बाहिर वैकल्पिक राजनीतिक प्रयोग खोजिरहेका छन् । ‘यो पार्टी वास्तविक होइन, तर मानिसहरूले यसलाई वास्तविक राजनीतिभन्दा राम्रो विकल्प ठानिरहेका छन्,’ उनले भने । यही नै अहिलेको भारतीय राजनीतिमाथिको सबैभन्दा ठुलो टिप्पणी भएको उनले बताए ।  

यस आन्दोलनमा विपक्षी नेताहरू पनि जोडिन थालेका छन् । पश्चिम बंगालकी सांसद महुआ मोइत्रा र पूर्व सांसद कृति आजादले समेत यसलाई समर्थन गरेको चर्चा छ । पूर्वसरकारी कर्मचारी आशिष् जोशीले भारतमा पछिल्लो दशक डर र घृणाको वातावरण बनेको भन्दै आफूलाई ‘कक्रोच जनता पार्टी ताजा हावाजस्तै’ लागेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार अहिले भारतमा मानिसहरू खुला रूपमा बोल्न डराउन थालेका छन् । ‘कक्रोचहरू सजिलै मर्दैनन, तिनीहरू बाँचिरहन्छन् । र अब उनीहरूले प्रणालीमाथि नै कब्जा गर्न खोजिरहेका छन्,’ उनले भने ।

यस आन्दोलनको उदयसँगै भारतको राजनीतिक वातावरणबारे पनि नयाँ बहस सुरु भएको छ । कतिपय विश्लेषकहरूले यसलाई श्रीलंका, नेपाल र बंगलादेशमा देखिएको जेनजी आन्दोलनसँग तुलना गर्न थालेका छन् । तर कक्रोच जनता पार्टीका संस्थापक दीपकेले भारतमा त्यस्तो अवस्था नआउने बताएका छन् । उनका अनुसार भारतीय युवा राजनीतिक रूपमा परिपक्व छन र उनीहरूले असन्तुष्टि लोकतान्त्रिक तथा शान्तिपूर्ण तरिकाले व्यक्त गर्नेछन् ।

‘कृपया युवालाई होच्याएर नहेर्नुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । अहिलेका धेरै युवा सरकार चलाइरहेकाहरूभन्दा बढी शिक्षित र सचेत रहेको उनको दाबी छ । यो आन्दोलनको अर्को महत्त्वपूर्ण पक्ष भनेको कृत्रिम बौद्धिकता (एआई)को प्रयोग हो । 

cockroach-jananata-party2

क्लाउडे र च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर २४ घण्टाभित्र पार्टीको लोगो, घोषणापत्र, वेबसाइट र सामाजिक अभियान तयार पारेको दीपकेले बताए । यसले भविष्यमा डिजिटल राजनीतिक आन्दोलनहरू कसरी छिटो निर्माण हुन सक्छन् भन्ने संकेत पनि दिएको विश्लेषण भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नर्वे भ्रमण र उनको ‘अपमान’

यसैबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमण र त्यहाँ पत्रकारहरूसँगको विवाद पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । नर्वे भ्रमणका क्रममा एक नर्वेजियन पत्रकारले मोदीसँग भारतमा प्रेस स्वतन्त्रता र पत्रकार सम्मेलन नगर्ने विषयमा प्रश्न सोधेकी थिइन् । 

तर मोदीले प्रत्यक्ष जवाफ दिएनन् । त्यसपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले भारतमा प्रेस स्वतन्त्रता रहेको भन्दै सरकारको बचाउ गरे । यो भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । मोदीले पत्रकारहरूको प्रश्नको प्रत्यक्ष जवाफ नदिएको घटनाले भारतमा प्रेस स्वतन्त्रता र लोकतान्त्रिक जवाफदेहिताबारे फेरि बहस चर्काएको छ । 

विश्लेषकहरूका अनुसार यस्तो राजनीतिक वातावरण, बढ्दो ध्रुवीकरण, बेरोजगारी र युवा असन्तुष्टिले कक्रोच जनता पार्टीजस्ता व्यंग्यात्मक आन्दोलनलाई उचाइमा पुर्‍याएको हो । धेरैले यसलाई केवल इन्टरनेट मजाक मानिरहेका छन् । तर अरूले यसलाई भारतमा विकसित भइरहेको नयाँ डिजिटल राजनीतिक प्रतिरोधको संकेतका रूपमा हेरिरहेका छन् ।

विशेषगरी जेनजी पुस्ताले मीम, व्यंग्य, भिडियो र सामाजिक सञ्जालमार्फत राजनीतिक असन्तुष्टि व्यक्त गर्ने नयाँ शैली विकास गरिरहेको देखिन्छ । ‘धेरै लामो समयदेखि भारतमा मानिसहरू चुप थिए, अब यो क्षणलाई जिम्मेवारीका साथ लिनुपर्ने बेला आएको छ, केवल मजाक भनेर छोड्न मिल्दैन,’ दीपकेले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप