छैटौँ अन्नपूर्ण म्याराथन जेठ २० गतेदेखि
पोखरा । अन्नपूर्ण आधार शिविर (एविसी)बाट सुरु हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण जेठ २० गते हुने भएको छ । सबै मौसमका लागि पर्यटन भन्ने मूल नारासहित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले हरेक वर्ष म्याराथन आयोजना गर्दै आएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।
माउरिस हार्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ तारिखलाई विशेष महत्वका साथ विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ । साहसिक खेलकुदसँगै पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्दै आएको अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले बताए ।
उनका अनुसार हालसम्म ६ विभिन्न देशका १३ विदेशी तथा २७ नेपाली धावकले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेका छन् । यस वर्ष विदेशी धावकहरूको सहभागिता उल्लेख्य रूपमा बढेको उनले बताए । ‘अहिलेसम्म विदेशी धावकहरूको सहभागिता उत्साहजनक देखिएको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य नेपालीसहित कुल ७० जना सहभागी पुर्याउने हो ।’
जेठ १५ गतेसम्म नाम दर्ता गर्न पाइने छ । प्रतियोगितालाई विशेष बनाउन अर्जेन्टिनाका विश्व चर्चित धावक पाब्लो उरेटाले समेत यस वर्ष सहभागिता जनाउने बताइएको छ । उनी म्याराथनमा सहभागी हुने निश्चित भइसकेको गुरुङले जानकारी दिए । समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने ४२ दशमलव १९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ्रे आधार शिविर, देउराली, दोभान, छोम्रोङ, हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा पुगेर टुङ्गिन्छ ।
प्रतियोगिताले साहसिक खेलकुद र पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने संस्थाका सचिव मिकास गुरुङले बताए । प्रतियोगिता सफल बनाउन ५०१ सदस्यीय मूल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको उनको भनाइ छ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले नगद १ लाख ५० हजार र दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण