चार जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना
सारांश
- जल तथा मौसम विज्ञान विभागले पश्चिमी तराईका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू-भागमा तापक्रम बढ्ने र तातो हावाको लहर चल्ने सम्भावना रहेको जनाएको छ।
- दिपायल, धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी हुनेछ, जहाँ अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
- देशका पहाडी तथा अन्य भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सहरकेन्द्रित मौसम पूर्वानुमान सार्वजनिक गर्दै पश्चिमी तराईमा अत्यधिक गर्मी बढ्ने जनाएको छ।
पूर्वानुमान सार्वजनिक गर्दै विभागले भनेको छ, ‘आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।’ तराईमा तातो हावाको लहर चल्ने देखिए पनि देशका अन्य धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
दिउँसोको समयमा दिपायल, धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी हुनेछ। यी शहरहरूको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यहाँ वर्षाको कुनै सम्भावना छैन र दिनभर तातो हावाको लहर चल्नेछ। त्यसैगरी, वीरेन्द्रनगरको तापक्रम पनि ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्नेछ। रातिको समयमा भने यी स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ र न्यूनतम तापक्रम २१ देखि २९ डिग्री सेल्सियसको बिचमा रहनेछ।
अर्कोतर्फ, देशका पहाडी तथा अन्य भू-भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। पोखरा, ओखलढुंगा र ताप्लेजुङमा दिउँसो मध्यम वर्षा हुने सम्भावना सबैभन्दा बढी अर्थात् ६० प्रतिशत रहेको छ।
संघीय राजधानी काठमाडौँलगायत धरान, धनकुटा, विराटनगर, जिरी र जोमसोममा ४० प्रतिशत सम्भाव्यतासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। काठमाडौंको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस रहनेछ। सिमरा र जनकपुरमा दिउँसो हल्का वर्षा भए पनि राति मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
तापक्रमको हिसाबले देशका हिमाली र उच्च पहाडी क्षेत्रहरू तुलनात्मक रुपमा चिसो नै रहनेछन्। दिउँसो जोमसोमको अधिकतम तापक्रम २३ देखि २५ डिग्री र जुम्लाको २९ देखि ३१ डिग्री सेल्सियसको बिचमा रहनेछ। रातिको समयमा भने जुम्लाको न्यूनतम तापक्रम १० देखि १२ डिग्री र जोमसोमको ११ देखि १३ डिग्री सेल्सियससम्म झर्नेछ।
डडेल्धुरामा भने दिउँसो २० प्रतिशत सम्भाव्यतासहित हल्का वर्षा भए पनि राति मौसम सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण