विवादका बिच बक्स अफिसमा बलियो ‘लालीबजार’ : ५ करोडभन्दा बढीको व्यापार
सारांश
- विवादका बीच प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको नेपाली फिल्म ‘लालीबजार’ले ५ करोड २५ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ ।
- आमा र छोरीको कथामा आधारित यस फिल्मले शिक्षाको महत्वलाई दर्साएको छ र दर्शकले यसलाई राम्रो प्रतिक्रिया दिएका छन् ।
- विद्यालयहरूले विद्यार्थीलाई देखाउन थालेपछि र विभिन्न सहरमा दर्शकको माया पाएपछि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।
काठमाडौँ । विवादका कारण चर्चामा रहन सफल नेपाली फिल्म ‘लालीबजार’ शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।
गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११:५९ बजेसम्ममा उक्त ग्रस कलेक्सन गरेको हो ।
निर्माता खत्रीले फिल्मले नेपालभर पाइरहेको माया आफूहरूका लागि अमूल्य रहेको बताएका छन् । आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्साइएको यो फिल्मलाई आम दर्शकले राम्रोसँग बुझेको उनको भनाइ छ । ‘अहिले विदेशमा रहेका छोराछोरीले फिल्म हेर्न आफ्ना अभिभावकलाई पठाएका छन्, स्वदेशमै रहेका छोरीहरूले आमालाई लिएर हल आइरहनुभएको छ, हामीलाई विश्वास गरेर आउनुभएका दर्शक सन्तुष्ट भएर फर्किनुभएको छ, त्यो हाम्रो ठुलो सफलता हो,’ निर्माता खत्रीले भने । उनले प्रदर्शनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी समेत दिए ।
नेपालभरका प्रमुख सहरमा पुगेर दर्शक भेटेर फर्किएकी अभिनेत्री स्वस्तिमा खड्काले देशभर नै दर्शकको माया उस्तै रहेको र फिल्म पूर्व होस् वा पश्चिम सबैतिरका दर्शकलाई मन परेको बताएकी छन् । ‘नेपालभर दर्शकले दिनुभएको मायाले कृतज्ञ छौँ, देशभर फिल्मलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो, अब यो विकेन्डमा भने हामी काठमाडौँ उपत्यकाका दर्शकलाई भेटघाट गर्नेछौँ र प्रतिक्रिया लिनेछौँ,’ अभिनेत्री खड्काले भनिन् ।
‘लालीबजार’ लाई पछिल्लो समय विभिन्न विद्यालयले आफ्ना विद्यार्थीहरूलाई देखाउन थालेका छन् । काठमाडौँसँगै मोफसलका केही हलमा विद्यार्थीलाई विद्यालय आफैँले हलमा ल्याएर फिल्म देखाउन थालेका हुन् । बिहीबार मात्र नेपालगन्जको सिने रोयलमा ६ सयको हाराहारीमा विद्यार्थीले फिल्म हेरेका थिए । दिनभरकै शोमा विद्यार्थीको आगमन भएपछि फिल्मका नवकलाकार विशाल देवकोटा, प्रशंसा सुवेदी र समाइरा थापा उनीहरूलाई भेटघाट गर्न हलमै पुगेका थिए । आज शुक्रबार पनि केही विद्यालयका विद्यार्थीले फिल्म हेर्ने स्थानीय प्रदर्शकहरूले जनाएका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु
-
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण