सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जेठ १६ गते खुला बाँसुरी बाजा प्रतियोगिता

शुक्रबार, ०८ जेठ २०८३, २१ : २९
शुक्रबार, ०८ जेठ २०८३

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ले यही जेठ १६ गते ‘परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत साङ्गीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष गणेश त्यातले जानकारी दिए।

उनले प्राचीनकालदेखि विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यमा अनिवार्य रुपमा बजाइने बाँसुरी बाजाको विशेष महत्व रहेको चर्चा गर्दै वडा कार्यालयले संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर वडा कार्यालयबाट विनियोजित रु पाँच लाख बजेटमा प्रतियोगिता आयाजना गर्न लागेको बताए।

कार्यक्रम संयोजक रवीन बासुकलाले आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण परम्परागत बाँसुरी बाजा लोप हुने अवस्थामा पुगेको भन्दै यसको संरक्षणका साथै नयाँ पुस्तालाई मौलिक बाजा संस्कृतिसँग जोड्न प्रतियोगितन सफल हुने बताए।

वडा सदस्य कमला गिरीले स्थानीय कला, संस्कृति र साङ्गीतिक परम्परा समुदायको पहिचानसँग जोडिएको चर्चा गर्दै यस्ता प्रतियोगिताले सांस्कृतिक जागरण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

वडा सचिव सपना श्रेष्ठले बढीमा २० वटा टोली सहभागि हुने प्रतियोगितालाई सफल बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरिएको जानकारी तयारी अन्तिम चरणमा पुगेको बताए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई प्रथम पुरस्कार स्वरूप रु २५ हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार नगद तथा सान्त्वना पुरस्कारस्वरूप रु पाँच हजार र ट्रफी तथा प्रमाणपत्रसहित प्रदान गरिने संयोजक वासुकलाले बताए।

आयोजकले स्थानीय मौलिक कला, बाजा संस्कृति तथा रैथाने पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको प्रचारप्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ।

सहभागी टोली दर्ताका लागि रु १०० शुल्क तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति जेठ १३ गतेसम्म कायम गरिएको छ । बढीमा २० टोलीलाई मात्र सहभागिता गराइने र प्राथमिकता प्रि–बुकिङ तथा फाराम दर्ताका आधारमा दिइने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रत्येक समूहमा कम्तीमा नौ जना र बढीमा १५ जना सहभागी हुनुपर्नेछ । कम्तीमा सात जना बाँसुरीवादक अनिवार्य रहने तथा प्रत्येक समूहमा एक जना व्यवस्थापक वा गुरु हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा मौलिक तथा परम्परागत धुन मात्रै प्रस्तुत गर्न पाइनेछ भने मिक्स धुन निषेध गरिएको छ।

प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा स्थानीय मौलिक धुन प्रस्तुत गरिनेछ भने दोस्रो चरणमा गोलाप्रथाबाट छनोट गरिएको धुन बजाइनेछ। प्रत्येक टोलीलाई १० मिनेट समय प्रदान गरिनेछ । कार्यक्रममा मौलिक पोशाक अनिवार्य गरिएको छ भने मञ्चमा नृत्य प्रस्तुत गर्न नपाइने व्यवस्था गरिएको छ।

निर्णायक मण्डलले प्रस्तुति, वाद्यवादन, सुर–लय तथा समय व्यवस्थापनका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप