मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आईपीएलको मैदानमा विवाद : विराट कोहलीले ट्राभिस हेडसँग हात मिलाउन गरे अस्वीकार

आइतबार, १० जेठ २०८३, १० : २६
आइतबार, १० जेठ २०८३

सारांश

  • आईपीएल २०२६ को खेल सकिएपछि विराट कोहलीले ट्राभिस हेडसँग हात मिलाउन अस्वीकार गरे।
  • खेलका क्रममा मैदानभित्र कोहली र हेडबिच भनाभन भएको थियो, तर विवादको विषय स्पष्ट हुन सकेको छैन।
  • यस नतिजासँगै रोयल च्यालेन्जर्स बेंगलोरले क्वालिफायर १ मा गुजरात टाइटन्सको सामना गर्नेछ।

हैदराबाद । हैदराबादमा शुक्रबार सम्पन्न आईपीएल २०२६ को सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबिचको खेल सकिएपछि एउटा अनौठो दृश्य देखियो, जहाँ विराट कोहलीले ट्राभिस हेडसँग हात मिलाउन अस्वीकार गरे।

खेल सकिएपछि दुवै टोलीका खेलाडीहरू नियमित प्रक्रिया अनुसार एकआपसमा हात मिलाउन लामबद्ध भएका थिए। त्यस क्रममा कोहलीले हैदराबादका कप्तान प्याट कमिन्स र अभिषेक शर्मासँग हात मिलाए तर उनको ठिक अगाडि हात फैलाएर उभिएका हेडलाई बेवास्ता गर्दै अर्को खेलाडीतर्फ अघि बढे।

बेंगलोरले लक्ष्य पछ्याउने क्रममा पनि मैदानभित्र कोहली र हेडबिच भनाभन भएको देखिएको थियो। यद्यपि, उनीहरूबिच के विषयलाई लिएर विवाद भएको थियो भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन।

खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेटको क्षतिमा २५५ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा बेंगलोरलाई लिग तालिकाको शीर्ष दुईभित्र पर्न कम्तीमा १६६ रन र शीर्ष स्थान हासिल गर्न कम्तीमा १७८ रन बनाउनुपर्ने समीकरण थियो।

बेंगलोरले खेल जित्नका लागि प्राप्त हुने दुई अङ्कभन्दा यो समीकरणलाई बढी प्राथमिकता दियो र निर्धारित ओभरमा ४ विकेट गुमाएर २०० रन बनायो। बेंगलोरका लागि इनिङ्सको ओपनिङ गर्न आएका कोहलीले ११ बलमा १५ रन बनाए र पावरप्लेको अन्तिम ओभरमा साकिब हुसेनको बलमा आउट भए।

यो नतिजासँगै बेंगलोरले मे २६ मा धर्मशालामा हुने क्वालिफायर १ मा लिग तालिकाको दोस्रो स्थानमा रहेको गुजरात टाइटन्सको सामना गर्नेछ। तेस्रो स्थानमा सीमित भएको हैदराबादले भने मे २७ मा न्यु चण्डिगढमा एलिमिनेटर खेल खेल्नेछ। लिग चरणमा अब तीन खेल बाँकी रहँदा चौथो प्लेअफ स्थानको टुङ्गो लाग्न अझै बाँकी छ, जसका लागि राजस्थान रोयल्स, पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स दौडमा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप