सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

मङ्गलबार, १२ जेठ २०८३, १६ : ३३
मङ्गलबार, १२ जेठ २०८३

कास्की ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्‍याउने नवप्रर्वतन, प्रविधिमैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई विनीयोजन विधेयक, २०८३ मा समेटिएका छन् ।

विधेयकले सीमान्तकृत, लोपोन्मुख र पिछडिएका वर्ग तथा क्षेत्र लक्षित कार्यक्रममार्फत कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवम् उत्पादकत्व वृद्धिमा जोड दिइने उल्लेख छ ।

त्यसैगरी, स्थानीय तहसँगको समन्वय र साझेदारीमा ‘एक पालिकाः एक गन्तव्य’ एवम् ‘आदर्श ग्राम’ अवधारणालाई अगाडि बढाउने, ‘उज्यालो गण्डकी प्रदेश’ अभियान सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप