सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमतीमा ठुला अन्तर्राष्ट्रिय रङ्गशालाहरू समयमै सम्पन्न गरिने

‘बागमतीको शान, खेलाडीको सम्मान’ कार्यक्रम घोषण
मङ्गलबार, १२ जेठ २०८३, १८ : १३
मङ्गलबार, १२ जेठ २०८३

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधारको विकास र खेलाडीको प्रोत्साहनलाई विशेष प्राथमिकता दिएको छ । 

मङ्गलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा प्रस्तुत कार्यक्रममा निर्माणाधीन ठुला रङ्गशालाहरूलाई समयमै सम्पन्न गर्ने र खेलकुदलाई पर्यटनसँग जोड्ने लक्ष्य लिइएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले ३ वटा ठुला आयोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, ललितपुरको निर्माणाधीन गोदावरी रङ्गशाला र हेटौँडाको गौरीटार अन्तर्राष्ट्रिय खेलकुद पूर्वाधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ ।

‘बागमती प्रदेशको शान, खेलाडीको सम्मान’

सरकारले खेलाडीहरूको हौसला बढाउन सरकारले ‘बागमती प्रदेशको शान, खेलाडीको सम्मान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रममार्फत प्रतिभावान् खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको पहिचान गरी उनीहरूलाई उचित प्रोत्साहन र सम्मान प्रदान गरिनेछ ।

फरक क्षमता भएका व्यक्तिहरूको खेलकुदमा सहभागिता बढाउन विशेष कार्यक्रमहरू सञ्चालन गरिने नीतिमा उल्लेख छ । खेलकुदलाई तल्लो तहसम्म पुर्‍याउन स्थानीय स्तरमा प्रादेशिक खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ।

बागमती प्रदेशलाई खेल पर्यटनको हब बनाउन सरकारले साहसिक खेलहरूलाई प्रोत्साहन गर्ने नीति लिएको छ । पर्यटन रणनीतिक योजना (२०२५–२०४०) अन्तर्गत हाइकिङ, साइक्लिङ र म्याराथन जस्ता साहसिक खेल र गतिविधिहरू सञ्चालन गरिनेछ। जसले खेल क्षेत्रका साथै प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने सरकारले अपेक्षा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप