बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

दुर्गा सुवेदीको आत्मकथा : लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आए ?

शुक्रबार, २५ साउन २०७५, १४ : ३३
शुक्रबार, २५ साउन २०७५

काठमाडौँ । प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन् । उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु उद्घाटित छन् । 

बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘मसँग पैसा थिएन अनि हवाईजहाज अपहरणको विचार आयो । म विस्तारमा भनुँ कि नभनुँ ? अहिले छोडिदिऊ, अब मान्छे पनि आइसके ।’ दुर्गा सुवेदी भन्छन्, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु ।’

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन् । पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउन राष्ट्रबैंकको भारु ३० लाख लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए । यसबापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्राधारसमेत बने । 

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन् । कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षड्यन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् । साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पढ्न पाइन्छ । 

‘विमान विद्रोह’को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो । ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप