लाओसको गुफामा फसेका सातमध्ये पाँच जना जीवित फेला
सारांश
- लाओसमा बाढीले भरिएको गुफाभित्र फसेका सात गाउँलेमध्ये पाँच जनालाई उद्धारकर्ताहरूले बुधबार जीवितै फेला पारेका छन् ।
- विशेषज्ञ गुफा गोताखोरहरूले उनीहरूलाई लाओसको मध्य प्रान्त साइसोम्बुनस्थित भूमिगत गुफाभित्र पत्ता लगाएका हुन् ।
- उद्धार गरिएका व्यक्तिहरू अझै गुफाभित्रै फसेका छन् र उनीहरूलाई बाहिर निकाल्ने काम सजिलो हुनेछैन ।
काठमाडौँ । लाओसमा बाढीले भरिएको गुफाभित्र फसेका सात गाउँलेमध्ये पाँच जनालाई उद्धारकर्ताहरूले बुधबार जीवितै फेला पारेका छन् ।
यो घटना सन् २०१८ मा थाइल्यान्डको गुफामा फसेका किशोर फुटबल टोलीको नाटकीय उद्धारको सम्झना गराउने खालको बनेको छ ।
विशेषज्ञ गुफा गोताखोरहरूले उनीहरूलाई लाओसको मध्य प्रान्त साइसोम्बुनस्थित भूमिगत गुफाभित्र पत्ता लगाएका हुन् । उद्धार टोलीले अझै बाँकी दुई जनाको खोजी जारी राखेको छ ।
थाई उद्धार गोताखोर केङकाड बोङकावोङले स्थानीय समयअनुसार दिउँसो ४ः३० बजे फेसबुकमा लेखेका छन्, ‘५ जना सुरक्षित अवस्थामा फेला परेका छन् । बाँकी २ जनाको खोजी जारी छ ।’
लाओसको उद्धार समूह ‘रेस्क्यु भोलिन्टियर फर पिपल’ ले पनि फेला परेका पाँचै जना ‘जीवित र सुरक्षित’ रहेको जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा जमिनमाथि काम गरिरहेका उद्धारकर्मीहरू पाँच जना जीवित फेला परेको खबर सुनेपछि खुसीले उफ्रिएको, एकअर्कालाई अँगालो हालेको र भावुक हुँदै रोएको देखिन्छ ।
उद्धार अभियानमा सहभागी फिनल्यान्डका गोताखोर मिको पासी ले इन्स्टाग्राममा लेख्दै पाँच जनालाई फेला पार्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘अहिलेसम्मको काम निकै कठिन थियो र यसमा संलग्न सबैले अद्भुत काम गरेका छन् ।’
तर उनले यो ‘क्षणिकको लागि राहत’ मात्र भएको बताए, किनभने उद्धार गरिएका व्यक्तिहरू अझै गुफाभित्रै फसेका छन् । ‘सबै स्वस्थ र उत्साहित छन्, तर बाहिर निकाल्ने काम अझै बाँकी छ र त्यो सजिलो हुने छैन,’ उनले भने ।
उनका अनुसार अब उनी र अर्का एक गोताखोर पुनः गुफाभित्र पसेर फसेकाहरूलाई थप खाद्य सामग्री र आवश्यक सामान पुर्याउनेछन्, ताकि उनीहरूले बाहिर निस्कने कठिन यात्राका लागि शक्ति सङ्कलन गर्न सकुन् ।
पासीले खिचेको भिडियोमा उद्धारकर्मीहरूले गाउँलेहरूको नाम सोधिरहेका र उनीहरू बिरामी छन् कि छैनन् भनेर जाँच गरिरहेको देखिन्छ । गाउँलेहरूले आफूहरू बिरामी नभए पनि निकै कमजोर र भोकाएको बताएका छन् ।
उद्धारकर्ताहरूले फसेकाहरूलाई भेटेको क्षणको भिडियोमा उनीहरूलाई ‘नरोऊ, नरोऊ !’ भन्दै सान्त्वना दिइएको सुनिन्छ । बोङकावोङले सिएनएनसँग कुरा गर्दै फसेकाहरू भेटिएपछि उनीहरूको शारीरिक परीक्षण गरिने र तरल तथा झोलयुक्त खाना उपलब्ध गराइने बताएका थिए । त्यसपछि उनीहरूलाई कसरी सुरक्षित बाहिर निकाल्ने भन्ने योजना बनाइने उनले बताएका थिए ।
उद्धार कार्य निकै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । उद्धार टोलीले फसेकाहरू पुग्न करिब ३४० मिटर लामो सुरुङ पार गर्नुपरेको बताइएको छ । उद्धार समन्वय गरिरहेको ‘मेट्टा थाम कालासिन कमान्ड एन्ड कन्ट्रोल सेन्टर’ का अनुसार सुरुङका केही भाग अत्यन्त साँघुरा छन्, जहाँ चौडाइ करिब २३ इन्च मात्रै छ ।
एक उद्धारकर्मीका अनुसार कतिपय ठाउँमा अगाडि बढ्न उनले आफ्नो उपकरणसमेत खोल्नुपरेको थियो । गोप्रो क्यामेराबाट खिचिएको भिडियोमा उद्धार टोलीले पाँच जनासम्म पुग्न सफल भएको दृश्य देखिन्छ ।
सातै जना गाउँलेहरू पुरुष रहेको र उनीहरू गत बुधबार सुन खोज्न गुफाभित्र पसेका थिए । तर भारी वर्षापछि आएको आकस्मिक बाढीले गुफाको बाहिरिने बाटो थुनिएको बोङकावोङले बताएका छन् ।
उद्धार अभियान प्रतिकूल मौसम र बिग्रँदो अवस्थाबिच सुरु गरिएको हो । राज्य सञ्चालित लाओ न्युज एजेन्सी का अनुसार उनीहरू गुफाभित्रको ‘हावाको निरन्तर प्रवाह हुने अग्लो चट्टानी भाग’ मा फसेका हुन सक्छन् ।
यसअघि उद्धारकर्ताहरूले १०० भन्दा बढी व्यक्ति उद्धार अभियानमा सहभागी भएको बताएका थिए । तीमध्ये १५ जना अनुभवी गोताखोर तथा विशेषज्ञहरू सन् २०१८ मा थाइल्यान्डमा किशोर फुटबल टोलीको उद्धारमा पनि संलग्न थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण