सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

एन्थोनी गोर्डन अब बार्सिलोनामा : न्युक्यासलसँग ६ करोड ९० लाख पाउन्डको सम्झौता

बिहीबार, १४ जेठ २०८३, ०९ : २९
बिहीबार, १४ जेठ २०८३

सारांश

  • स्पेनिस क्लब बार्सिलोना र न्युक्यासल युनाइटेडबिच इंग्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डनको ६ करोड ९० लाख पाउन्डमा स्थानान्तरणको सम्झौता भएको छ।
  • गोर्डनले कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरेपछि विश्वकप तयारीका लागि इंग्ल्यान्ड टोलीका साथ अमेरिका प्रस्थान गर्नेछन्।
  • यस सम्झौताले गोर्डनको पूर्वक्लब एभर्टनले पनि 'सेल-अन क्लज' मार्फत फाइदा पाउनेछ।

लण्डन । स्पेनिस क्लब बार्सिलोना र न्युक्यासल युनाइटेडबिच इंग्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डनको स्थानान्तरणका लागि ६ करोड ९० लाख पाउन्डको सम्झौता भएको छ। 

दुवै क्लबबिच सहमति जुटाउनका लागि तीव्र रूपमा कुराकानी भइरहेको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो। सकारात्मक दिशामा अघि बढेको सोही छलफलले अन्ततः अन्तिम रूप पाएको हो।

गोर्डनले अब बार्सिलोना प्रस्थान गर्नुअघिका आवश्यक कानुनी तथा प्राविधिक प्रक्रियाहरू पूरा गर्नेछन्। यी प्रक्रियाहरू सकिएपछि मात्र उनी विश्वकपको तयारीका लागि इंग्ल्यान्ड टोलीका आफ्ना साथीहरूसँगै तालिम शिविरका लागि अमेरिका प्रस्थान गर्नेछन्। 

न्युक्यासलसँग जर्मन क्लब बायर्न म्युनिखले पनि औपचारिक छलफल गरेको थियो, तर खेलाडीको मूल्याङ्कनको विषयमा दुई क्लबबिच कुरा मिल्न सकेन। अन्ततः बार्सिलोनाले न्युक्यासलले मागेजति रकमको प्रस्ताव गरेपछि यो सम्झौता सम्भव भएको हो।

न्युक्यासलका प्रमुख कार्यकारी डेभिड हप्किन्सनले गत मार्च महिनामै क्लबले आफ्नै सर्तमा मात्र खेलाडीहरू बिक्री गर्ने स्पष्ट पारेका थिए। गोर्डनको सम्झौता सन् २०३० सम्म रहेकाले पनि न्युक्यासल उनीबापत मोटो रकम दाबी गर्न सक्ने बलियो स्थितिमा थियो। 

प्रिमियर लिगको यस सिजनमा १२औँ स्थानमा चित्त बुझाउनुपरेपछि न्युक्यासल यसै समर विन्डोमा टिमको पुनर्संरचना गर्न चाहन्छ। यसका लागि उसलाई खेलाडी खरिद-बिक्री गर्नुपर्ने आवश्यकता छ र गोर्डनको यो सम्झौताले उसलाई ट्रान्सफर मार्केटमा पुनः लगानी गर्ने अवसर दिनेछ।

यस सम्झौताबाट गोर्डनको पूर्वक्लब एभर्टनले पनि फाइदा पाउनेछ। सन् २०२३ मा आफ्नो एकेडेमीका उत्पादन गोर्डनलाई ४ करोड ५ लाख पाउन्डमा न्युक्यासललाई बेच्दा एभर्टनले भविष्यमा हुने नाफाको १५ प्रतिशत पाउने ‘सेल-अन क्लज’ राखेको थियो। 

न्युक्यासलका मुख्य खेलाडीहरूमध्ये गोर्डन नै क्लब छाड्ने सबैभन्दा बढी सम्भावना भएका खेलाडी थिए। सिजनको अन्त्यतिर मुख्य प्रशिक्षक एडी हाउले टोलीको भविष्यलाई ध्यानमा राख्दै पछिल्ला चार खेलमा क्लबका सर्वाधिक गोलकर्ता समेत रहेका उनलाई बेन्चमै राखेका थिए। 

प्रिमियर लिगको अन्तिम दिन फुलहमसँग २-० को पराजय भोगेपछि रङ्गशालामा उपस्थित न्युक्यासलका समर्थकहरूले गोर्डनको नाममा गीत गाएर उनलाई बिदाइ गरेका थिए, जुन खेल नै उनको अन्तिम खेल बन्न पुग्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप