बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘मालती मंगले’को अस्ट्रेलिया राइट्स बिक्री, जुलाई ४ मा सिड्नीमा प्रिमियर शो

शुक्रबार, १५ जेठ २०८३, १२ : ४४
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । माउन्ट पुमोरी इभेन्ट्स प्रालिले अस्ट्रेलिया ‘मालती मंगले’ प्रदर्शनको राइट्स खरिद गरेको निर्माता ढकालले रातोपाटीलाई बताए ।

आगामी जुलाई ४ मा सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा रेड कार्पेटसहितको प्रिमियर शो हुनेछ । प्रिमियर शोमा सहभागी हुन निर्माता तथा गायक ढकाल अस्ट्रेलिया जानेछन् । अस्ट्रेलियामा प्रदर्शनको जिम्मा भने नेपाली फिल्म निर्देशक शोभित बस्नेतले लिएका छन् । 

विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको फिल्म वैशाख २५ गतेदेखि नेपालमा प्रदर्शनमा आएको हो । नेपाल रिलिजको दोस्रो सातादेखि फिल्म अमेरिकाका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ । चाँडै युरोपेली मुलुक र जापानमा पनि रिलिज गर्ने तयारी भइरहेको निर्माता ढकालले जानकारी दिए ।

अभावबिच पनि आत्मीय प्रेमले हाँसीखुसी जीवन बिताइरहेको ग्रामीण दम्पतीको जीवनमा जब सामाजिक भ्रमले कब्जा जमाउँछ, तब आपसमा आउने असमझदारी र उतारचढावको कथा ‘मालती मंगले’ले प्रस्तुत गर्छ ।

रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् । फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।

नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकालले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप