बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साम करनले धोखा दिएपछि रिसाए राजस्थानका प्रशिक्षक सङ्गाकारा

शनिबार, १६ जेठ २०८३, १७ : ०२
शनिबार, १६ जेठ २०८३

सारांश

  • राजस्थान रोयल्सका मुख्य प्रशिक्षक कुमार सङ्गाकाराले अलराउन्डर साम करनले आईपीएल २०२६ बाट नाम फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।
  • करनले ग्रोइनको चोटको कारण आईपीएल खेल्न नसक्ने बताए पनि हाल उनी सरेका लागि भाइटालिटी ब्लास्टमा खेलिरहेको भेटिएका छन् ।
  • सङ्गाकाराले खेलाडीहरूले आईपीएलको प्रतिबद्धता पूरा नगर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै बीसीसीआईको कडा नीतिको आवश्यकतामा जोड दिएका छन् ।

जयपुर । राजस्थान रोयल्सका मुख्य प्रशिक्षक कुमार सङ्गाकाराले टोलीका अलराउन्डर साम करनले ‘सिजन अन्त’ चोटको कारण देखाउँदै आईपीएल २०२६ बाट नाम फिर्ता लिएको विषयमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । 

करनले ग्रोइनको चोट ( पेटको तल्लो हिस्सा र तिघ्राको माथिल्लो भाग जोड्ने ठाउँ) का कारण आईपीएल खेल्न नसक्ने जनाएका थिए, जसको खबर मार्च १९ मा सार्वजनिक भएको थियो । यद्यपि, हालै करनले सरेका लागि 'भाइटालिटी ब्लास्ट' (इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ECB) ले आयोजना गर्ने) मा ब्याटिङ गरिरहेको देखेपछि सङ्गाकारा अचम्मित र निराश बनेका हुन् । 

राजस्थान रोयल्स आईपीएलको क्वालिफायर–२ बाट बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै सङ्गाकाराले भने, 'हामीलाई साम करनलाई सिजन अन्त्य हुने खालको चोट लागेको जानकारी दिइएको थियो, तर अहिले उनले सरेका लागि खेलिरहेको देखेको छु । यो निकै निराशाजनक छ । उनी हाम्रो टोलीमा भएको भए हामीलाई पक्कै पनि फाइदा हुने थियो ।' 

करनले आईपीएलबाट बाहिरिँदा आफूलाई चोटले निकै सताएको र समय आएपछि मात्र मैदानमा फर्कने बताएका थिए । हाल उनी बलिङ नगरी केवल ब्याटरका रूपमा सरेका लागि खेलिरहेका छन् र तीन इनिङ्समा १४१ रन बनाएर टोलीका शीर्ष स्कोरर बनेका छन् । 

करनको अनुपस्थितिपछि राजस्थानले दासुन शनाकालाई टोलीमा अनुबन्ध गरेको थियो । शनाकालाई टोलीमा ल्याउनु आफैँमा अर्को विवादको विषय बनेको थियो । शनाकाले राजस्थानसँग अनुबन्धित हुन पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्ससँगको सम्झौता तोड्नुपरेको थियो, जसका कारण उनलाई पीएसएलमा एक वर्षको प्रतिबन्ध लगाइएको छ । 

खेलाडीहरूले आईपीएलको प्रतिबद्धता पूरा नगर्ने प्रवृत्तिप्रति सङ्गाकाराले चिन्ता व्यक्त गरे । उनले भने, 'बीसीसीआईको नीति निकै कडा छ र यस्तो हुनु पनि पर्छ । यदि चोट गम्भीर छ भने हामी बुझ्छौं, तर खेलाडीहरूले आफ्नो सम्झौताअनुसार दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ ।' 

सङ्गाकाराले अन्य विदेशी खेलाडीहरूको उदाहरण दिँदै भने, 'हाम्रो टोलीमा एडम मिल्ने, शिमरोन हेटमायर लगायत धेरै खेलाडीहरू छन्, जसले कम खेल्ने मौका पाए पनि टोलीको साथमा रहेर कडा मेहनत गरेका छन् । खेलाडीले खेल्न आउने वा नआउने भन्ने कुरा व्यक्तिगत भए पनि आईपीएलको गरिमा र सम्झौताको सम्मान हुनु आवश्यक छ ।' 

बीसीसीआईले सेप्टेम्बर २०२४ मा अक्सनमा छनोट भएपछि बिनाकारण नाम फिर्ता लिने खेलाडीहरूलाई दुई वर्षको प्रतिबन्ध लगाउने कडा नियम ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप