बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फलोअप

कुशीनगरबाट ४५३ नेपाली उद्धार घटना : नेटवर्किङमा लाग्न बाध्य पारेर ‘बन्धक’

१९ जनामाथि सोधपुछ जारी
आइतबार, १७ जेठ २०८३, १४ : ५३
आइतबार, १७ जेठ २०८३

सारांश

  • रोजगारीको बहानामा भारतको कुशीनगरमा ४५३ नेपाली नागरिकलाई बन्धक बनाई ठगी गर्ने गिरोहलाई प्रहरीले उद्धार गरेको छ ।
  • नेटवर्किङ व्यवसायको प्रलोभन देखाएर तालिमको नाममा विभिन्न ठाउँमा घुमाई परिवारसँग रकम असुल्ने गिरोहका १९ जना सदस्यलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
  • उद्धार गरिएका ४५३ जनामध्ये महिलाको सङ्ख्या आधाभन्दा बढी रहेको र उनीहरूलाई ठगी गर्ने गिरोहका सदस्यहरूले परिवारसँग पैसा माग्न र आफन्तलाई बोलाउन दबाब दिने गरेको पाइएको छ ।

काठमाडौँ । रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकहरूलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाएका ४५३ जनालाई नेपाल फर्काइएको छ ।

उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएकाहरूलाई उद्धार गर्न नेपाली राजदूतावासमा कार्यरत एसएसपी प्रकाश मल्ल कुशीनगर पुगेका थिए । मल्ल नेतृत्वको टिमले नेपाली नागरिकहरूलाई शनिबार बेलहिया नाका हुँदै भैरहवा ल्याएको छ । भारतीय प्रहरीसँग समन्वय गरेर त्यहाँ शारीरिक र मानसिक यातना भोगिरहेकालाई उद्धार गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।

त्यहाँबाट फिर्ता हुनेमा ४० जिल्लाका नागरिक छन् । सुरुमा उनीहरूलाई रोजगारीको अवसर दिने बहानामा झुटा आश्वासन दिइन्छ र कुशीनगरस्थित अनधिकृत कम्पनीमा लगिन्छ । त्यहाँ पुगेपछि पीडितहरूलाई भनेजस्तो काम दिइँदैन । त्यसको सट्टा गिरोहले उनीहरूसँगै विभिन्न तरिकाले रकम असुल्ने गरेको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले बताए ।

रोजगारीको लोभमा उत्तर प्रदेश लगिएकाहरूलाई गिरोहका सदस्यहरूले तालिमको बहनामा विभिन्न ठाउँमा घुमाएको अनुसन्धानबाट खुलेको छ । रिभाइब स्किल डेभलपमेन्ट एण्ड ट्रेडिङ एलएलपी र वेलस्टार डाइनामिक कम्पनीको नाम यो प्रकरणमा जोडिएको छ । यसमा संलग्न गिरोहको सो कम्पनीसँग सम्बन्ध हुनसक्ने नेपाली अधिकारीहरूको आशङ्का छ ।

उद्धारमा संलग्न नेपालका एक अधिकारीले भने, ‘ठगीजन्य गतिविधि सञ्चालन गर्न ती कम्पनीको नाम दुरुपयोग गरिएको पनि हुनसक्छ ।’

तालिम पूरा भएपछि रोजगारको लोभ देखाएर गिरोहले पीडितहरूलाई आफ्ना परिवारसँग २ देखि ३ लाख रुपैयाँ माग्न दबाब दिन्छन् । नेपाल आएका पीडितहरूले नेपालबाट रकम नमगाएसम्म स्वतन्त्र रूपमा मोबाइल प्रयोग गर्न नदिएको अनुसन्धान अधिकृतहरू समक्ष बताएका छन् ।

रकम सङ्कलन गरेपछि रोजगारी दिनुको साटो लाखौँको बिल बनाइएका सामान भिराएर बेच्न पठाउने र टार्गेट दिने गरिन्छ । पैसा तिरेपछि थप १० जना ल्याउनुपर्ने शर्त राख्ने र त्यसबापत पद बढ्ने भन्दै गिरोहका सदस्यहरूले दबाब दिने गरेको अनुसन्धानबाट खुलेको छ ।

डीआईजी भुपेन्द्र खत्रीले भने, ‘नेटवर्किङ टाइपको बिजनेश रहेछ, पैसा तिरेपछि थप १० जना ल्याउनुपर्ने शर्तका कारण एकै ठाउँका धेरै मानिसहरू त्यहाँ पुगेको देखिन्छ ।’

डोल्पा र कालिकोट लगायत जिल्लाका मानिसहरू धेरै त्यहाँ पुगेको भेटिएको छ । तालिम लिएकाहरूले बोलाएका १० जनालाई पनि नयाँ भर्ना हुन दबाब दिने र त्यसपछि उनीहरूलाई पनि बन्धक बनाएर सोही प्रक्रिया दोहो¥याउने गरेको भेटिएको छ । त्यस्तो दृश्य देखेपछि बाहिर निस्केका मान्छेहरूबाट प्रहरीलाई खबर आएको डीआईजी खत्रीले जानकारी दिए । उनले भने, ‘त्यसपछि उद्धारको प्रक्रिया अघि बढाइएको हो ।’ 

उद्धारपछि नेपाल फर्केका एक जना पीडितका अनुसार गिरोहका सदस्यहरूले परिवारसँग पैसा माग्न र चिनजानका आफन्तलाई बोलाउन निरन्तर दबाब दिन्छन् । परिवारसँग ठुलो रकम मागिसकेको र आफ्नो चिनजानका मानिसहरूलाई त्यहाँ लगेका कारण भविष्यमा राम्रो काम पाइएला भनेर धेरै पीडितहरू त्यहाँबाट भाग्न हिचकिचाउने गर्छन् ।

  • १९ जना अनुसन्धानको दायरामा

भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएका पीडितहरूमध्ये अधिकांशलाई प्रहरीले उनीहरूको रेकर्ड राखेर घर फिर्ता पठाएको छ । तर, सँगै ल्याइएका १९ जना भने अनुसन्धानको दायरामा छन् । पीडितहरूलाई उत्तर प्रदेश लैजान प्रभावमा पारेको ‘म्यानुपुलेट’ आशङ्कामा १९ जनामाथि सोधपुछ भइरहेको रुपन्देहीका एसपी जनक शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘उनीहरू लिडर जस्ता छन्, केही संलग्नता खुल्छ कि भनेर सोधपुछ गरिरहेका छौँ ।’

फर्किनेमा एक साताअघि त्यहाँ पुगेकाहरू देखि ३ महिनाअघि गएकाहरू सम्म छन् । पीडितहरूले कुनै व्यक्तिविरुद्ध उजुरी गरेका छैनन् । नियन्त्रणमा रहेका १९ जनाको संलग्नता भए उनीहरूको विरुद्ध पनि उजुरी गर्न आग्रह गरिएको एसपी शाहीले बताए । उनले भने, ‘हालसम्म पीडितहरूले उजुरी दिएका छैनन्,’ फर्किनेमा आधाभन्दा धेरै महिला छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार यो घटना कुशीनगरको बजार क्षेत्रमा रहेको गान्धी चोक नजिकैको तीनचार वटा घरहरूमा भइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप