धवलशमशेर पक्षका राप्रपाका नेताहरू राजीनामाको तयारीमा
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरी नयाँ यात्रा सुरु गरेको घोषणा गरेका छन्।
- राणाले समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न राप्रपा परित्याग गरेको बताउँदै नयाँ राष्ट्रवादी शक्ति निर्माणको आह्वान गरेका छन्।
- राणा निकट नेता कार्यकर्ताले राप्रपाबाट सामूहिक राजीनामा दिएर नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेपछि सो पार्टी तरङ्गित बनेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै राणाले समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न आफूले राप्रपा परित्याग गरेको बताएका थिए।
‘शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु’, राणाले विज्ञप्तिमा भनेका छन्, ‘समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ । देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु ।’
नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने योजनाका साथ राणाले उक्त आह्वान गरेको नेता दिलनाथ गिरीले बताए । उनका अनुसार अहिले राप्रपामा रहेका देशभरका राणा निकटका नेता कार्यकर्ताको नामावली सङ्कलन भइरहेको छ । सबै हस्ताक्षरसहितको नामावली सङ्कलन सकिएपछि सबैले सामूहिक राजीनामा दिएको घोषणा गर्ने तयारी भएको छ । यद्यपि उनले आफूहरूले अब राप्रपाको लिगेसी बोकेर नयाँ पार्टी खोल्न नलागेको बताए ।
राप्रपाबाट राजीनामा दिएर आउनेहरूका साथै अन्य राष्ट्रपति शक्तिहरूलाई समेटेर छिट्टै पार्टी घोषणा गर्ने तयारी भएको अर्को एक नेताले बताए । यद्यपि पार्टीको नामबारे भने टुङ्गो लाग्न बाँकी रहेको उनको भनाइ थियो।
राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावना अनुकूल अघि बढाउने प्रयास गरे पनि विरोधाभास र सैद्धान्तिक द्विविधाबिच गलत बाटोमा हिँड्ने तथा हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भएको उल्लेख गरेका छन् ।
राप्रपा नेता जनकराज पाठकले राणाजस्तो राष्ट्रवादी व्यक्तिले राप्रपा छाड्नु कुनै पनि हिसाबले ठिक नभएको उल्लेख गर्दै अझै पनि नेतृत्वले उनका असमझदारीका विषयमा संवाद गरेर समाधानको प्रयास गर्नुपर्नेमा जोड दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण