मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री शाहको अभिव्यक्तिको राष्ट्रिय सभामा चर्को विरोध, देशद्रोही काम भएको आरोप

सोमबार, १८ जेठ २०८३, १५ : ३३
सोमबार, १८ जेठ २०८३

सारांश

  • राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गरेका छन्।
  • सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति देशको सार्वभौमिकताविपरीत रहेको आरोप लगाएका छन्।
  • विपक्षी दलहरूले प्रधानमन्त्रीले नागरिकसमक्ष माफी माग्दै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन्। 

सभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति मुलुकको सार्वभौमिकताविपरीत रहेको भन्दै आपत्ति जनाएका हुन्।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग गरे। उनले नेपालले भारतको कुन-कुन क्षेत्रमा भूमि अतिक्रमण गरेको हो भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने बताए। 

प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उक्त अभिव्यक्तिको छानबिन गर्न समिति गठन गर्नसमेत उनले माग गरे। उनले भने, ‘हिजो प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको स्वीकार गरे। म उनलाई आग्रह गर्न चाहन्छु, नेपाल सरकारले भारतको कुन-कुन ठाउँमा जग्गा मिचेको छ, २४ घण्टाभित्र जानकारी गराउन अनुरोध गर्दछु। यदि उनले सो कुरा प्रमाणित गर्न सकेनन् भने सार्वजनिक रूपमा माफी माग्नुपर्छ। यस विषयमा छानबिन गर्न समिति गठन गर्नसमेत सभासमक्ष माग गर्दछु। साथसाथै राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग हाम्रो धेरै विषयवस्तु छ। किनभने उनी जेनजी पुस्ताको प्रतिनिधि पात्र पनि हुन्। जेनजीको समस्या समाधानका लागि बजेट र नीति तथा कार्यक्रममार्फत कसरी समाधान गर्ने प्रयास गरेका छन् ?’

त्यस्तै, नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट भारतको वकालत गरेको भन्दै आपत्ति जनाइन्। उनले प्रधानमन्त्री शाहले कुन आधारमा नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको अभिव्यक्ति दिएको भन्दै प्रश्न गरिन्। 

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति देशद्रोही भएको उनको आरोप थियो। उनले भनिन्, ‘इतिहासमा पहिलो पटक नेपालको संसद्बाट भारतको वकालत गरेको सुनियो। प्रधानमन्त्री बालेन्द्र शाहले कुन आधारमा उक्त धारणा व्यक्त गरेका हुन्, स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। यो देशद्रोही काम हो।’

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको शिर निहुरिएको टिप्पणी गरिन्। नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले मुलुकको हितविरोधी अभिव्यक्ति स्वीकार्य नहुने बताइन्। भारतले नेपालका करिब ६२ स्थानमा भूमि अतिक्रमण गरी सुरक्षाकर्मी तैनाथ गरेकोसमेत उनले स्मरण गराइन्। 

रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति असावधानीले बोलिएको नभई यसको पछाडि गम्भीर कारण रहेको झाँक्रीको भनाइ थियो। उनले भनिन्, ‘प्रतिनिधि सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शिर निहुरिएको छ, लज्जाबोध भएको छ। इतिहासका विभिन्न दस्तावेजहरूले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो भन्छन्। नेपालको सीमासम्बन्धी विषयसमेत विभिन्न दस्तावेजहरूमा उल्लेख छ। हामीले विद्यार्थी राजनीति गरिरहेको समयमा नेपालका ६२ वटा ठाउँमा सीमा मिचिएको कुरा उठाएका थियौँ। त्यति मात्र होइन, सीमा मिचिएको ठाउँमा भारतीय सेना र प्रहरीसमेत छन्। यस्तो अवस्थामा रास्वपाका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बालेन्द्र शाहले कन्सर्टमा आएजस्तै प्रतिनिधि सभामा बिनासूचना, प्रतिनिधि सभा नियमावलीको विरुद्धमा जे कुरा बोलेका छन्, त्यो जिब्रो चिप्लिएर वा असावधानीले बोलिएको हो भन्ने हामीलाई लाग्दैन। यसको पछाडि केही गहिरो कारण छ। स्वाभिमानी नेपालीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।’

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभिव्यक्ति दिएका थिए। आफू प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको उल्लेख गर्दै उनले दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको जानकारी दिएका थिए। ‘भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ,’ उनको भनाइ थियो।

प्रधानमन्त्री शाहको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् चल्न नदिने बताइरहेका छन्। प्रधानमन्त्रीले नागरिकसमक्ष माफी माग्दै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने उनीहरूको माग छ। (न्युज एजेन्सी नेपाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप