बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

मङ्गलबार, १९ जेठ २०८३, ०० : १८
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी २१ स्वर्णपदक जित्दै च्याम्पियन बनेको छ ।
  • प्रतियोगितामा प्रदेशका १४ जिल्लाका एक हजार ७०० खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए ।
  • प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका ११५ खेलाडी तथा अफिसियल राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौँ पठाइएका छन् ।

सुनसरी । कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ ।

सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन साेमबार सुनसरीले २१ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो । झापाले १८ स्वर्णपदकसहित दोस्रो तथा मोरङले १६ स्वर्णपदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका एक हजार ७०० खेलाडीको सहभागिता रहेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो ।

प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने छन् । प्रतियोगिताबाट राष्ट्रियस्तरका लागि छनोट भएका ११५ खेलाडी तथा अफिसियललाई साेमबार साँझ बिदाइ गरी काठमाडौँ पठाइएको छ । बिदाइ कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनमार्फत कोशी प्रदेशले धेरैभन्दा धेरै पदक जित्ने विश्वास व्यक्त गरे । उनले खेलाडीलाई अनुशासन, मेहनत र खेल भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही जेठ २० गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सातै प्रदेशका कुल ६८६ खेलाडीको सहभागिता रहने (राखेप) ले जनाएको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश गरिएका छन् । ती खेलमा कुल ६६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डीमा समान दुई–दुई स्वर्ण पदकका लागि खेल हुनेछ । कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

राखेपका सदस्य सचिवका रामचरित्र मेहताका अनुसार एथलेटिक्सका खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा, भलिबल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा तथा उसुका खेल त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप