चलचित्र निर्माणमा होमिएका सङ्गीतकर्मी
सारांश
- गीत-संगीत क्षेत्रका स्रष्टाहरू चलचित्र निर्माणमा प्रत्यक्ष रूपमा होमिन थालेका छन् ।
- गायक, संगीतकार तथा अन्य सङ्गीतकर्मीहरूले अभिनय, लेखन, निर्देशन र लगानी जस्ता विभिन्न भूमिकामा काम गरिरहेका छन् ।
- नारायण रायमाझी, जयनन्द लामा, शम्भुजित बास्कोटा, उदितनारायण झा, अर्जुन कुमार, यश कुमार, प्रकाश सपुत, रामकृष्ण ढकाल र अर्जुन पोखरेल जस्ता सङ्गीतकर्मीहरू चलचित्र निर्माणमा सक्रिय छन् ।
काठमाडौं । नेपाली चलचित्रको रङ्गीन संसारले सधैँ नै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आकर्षित गर्दै आएको छ । चलचित्रको व्यावसायिक सफलतासँगै गीत–सङ्गीत क्षेत्रका स्रष्टाहरू पनि चलचित्र निर्माणमा प्रत्यक्ष रूपमा होमिन थालेका छन् ।
गायक, गायिका र सङ्गीतकारहरूका लागि चलचित्र क्षेत्र कुनै नौलो माध्यम होइन, गीत–सङ्गीतमार्फत चलचित्रमा प्राण भर्ने उनीहरूको भूमिका अब केवल स्वर र धुनमा सीमित छैन । अभिनय, लेखन, निर्देशनदेखि लगानी जुटाउने र चलचित्रको समग्र निर्माण प्रक्रियाको नेतृत्व (निर्माता) को भूमिकामा देखापर्न थालेका छन् । चलचित्र निर्माणमा होमिएका केही चर्चित गायक तथा सङ्गीतकारहरू यस प्रकार छन् ।
नारायण रायमाझी :

व्रिष्ठ लोकदोहोरी गायक नारायाण रायमाझी पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा पनि सक्रिय छन् । ‘मलाई सम्झी रेलिमै (कार्गील)’, ‘फुलबुट्टे चोलीमा’, ‘राम्दीपूल तर्ने बित्तिकै’, ‘गेटमा बेली जाई’, ‘कालो केसमा रातो रिबन’, ‘पसिनाले पैसा साटेर’, ‘माया पैँचो नदेउ साइँली’, ‘लाइछौ बेसन’, ‘नमुछे आमा दहीमा टीका’, ‘हाँसेर बोलीदेऊ माया’, ‘सान्नानीले झुक्कायो मलाई’ लगायत थुप्रै हिट गीतका गायक रायमाझी ‘गार्खा पल्टन’ फिल्ममा होमिएका थिए ।
२०६७ सालमा प्रदर्शन भएको उक्त फिल्ममा प्रशान्त तामाङ, रन्जिता गुरुङ, सोनिया क्षेत्री लगायतको अभिनय थियो । अहिलेसम्म तीन फिल्म निर्माण निर्देशन गरेका रायमाझीको दोस्रो फिल्म प्रशान्त तामाङ, रजनी केसी अभिनित ‘परदेशी’ र तेस्रो फिल्म प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी अभिनित ‘परदेशी २’ हो । रायमाझीको तीनै फिल्म बक्सअफिसमा हिट छन् ।
जयनन्द लामा :

स्व. लोक गायक जयनन्त लामा कलाकार, फिल्म निर्देशक र निर्माता पनि थिए । ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत दिएका लामाले ‘माया गर्छु म’, ‘कर्मको फल’ फिल्म निर्माण गरेका थिए ।
फिल्ममा लेखक तथा निर्देशकसमेत उनकै थियो । रमेश उप्रेती र अभिनेत्री झरना बज्राचार्यको मुख्य भूमिका रहेको ‘माया गर्छु म’मा र ‘कर्मको फल’ यी दुवै फिल्म व्यावसायिक सफल भने भएन । ललितकला क्याम्पसबाट संगीतमा स्नातक र भारतको इलाहावादबाट स्नातकोत्तर गरेका उनी २०७८ मा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, कौशलटारस्थित आफ्नै घरअगाडि मृत फेला परेका थिए ।
शम्भुजित बास्कोटाः
_1DYqrmYTnm.jpg)
नेपाली चलचित्र संगीतमा सबैभन्दा लोकप्रिय र सफल संगीतकार हुन् शम्भुजित बास्कोटा । चलचित्र, सुगम संगीत होस् वा आधुनिक नै किन नहोस् उनका गीतले सांगीतिक आकाशमा एउटा सुनौलो अध्याय नै कोरेको छ । ‘तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँछ .....’, ‘तिमीले भनेका सारा देव छोएर’, ‘पर्खि बसेँ आउँला भनी...’, ‘फेवातालको आँगनमा लै लै ...’ होस् वा फिल्मको आछा लेकिन लण्डनको चिसोले थुप्रै गीत हिट छन् ।
बास्कोटा केही वर्ष पहिले रिलिज फिल्म ‘चौका दाउ’बाट निर्माता बनेका थिए । वर्षा राउत, विल्सन बिक्रम लगायतको अभिनय रहेको फिल्म बक्सअफिसमा सफल हुन सकेन । उनी अहिले नयाँ फिल्म ‘टासीदेलेकः अ वे टु हेभन’ निर्माणको तयारीमा छन् । यसअघि बास्कोटाले अभिनेता निखिल उप्रेतीसँग ‘महागठबन्धन’ पनि बनाउने चर्चा थियो ।
उदितनारायण झा :

हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, ओडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा समेत पाश्र्व गायक गरेका उदितनारायण झाले हालसम्म करिब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाइसकेका छन् । ‘नजाउ नजाउ’, ‘चिसो चिसो हावाले’, ‘वनमाराले वनै खायो’, ‘कहिल तिम्रो पछ्यौरीमा अल्झिएँ’ लगायत थुप्रै नेपाली हिट गीतका गायक झाले ‘पिरती’ नामक फिल्म निर्माण गरेका थिए ।
फिल्ममा उनको अभिनयसमेत थियो । अलवा गौरी मल्ल, शान्ति मास्के, सुभद्रा अधिकारीको समेत अभिनय रहेको फिलम उनले ‘धर्मा फिल्मस् प्रालि’को ब्यानरमा निर्माण गरेका थिए । जसको निर्देशक चन्द्र प्रकाश घिमिरे थिए ।
अर्जुन कुमार :

गायक तथा संगीतकारको रुपमा परिचित अर्जुन कुमार फिल्म ‘चपली हाइट’बाट फिल्म निर्माता बनेका हुन् । दीपेन्द्र के खनालको निर्देशन रहेको विनीता बराल, आमिर गौतम र राज घिमिरे अभिनित फिल्मलेको ग्ल्यामर दृश्यले सो समय तहल्का मच्चिएको थियो । त्यसपछि २०७० मा सौगात मल्ल, दीया मास्के लिएर ‘फिटकिरी’, त्यसपछि उनले ‘चपली हाईट २’ । सन् २०१७ मा ‘फाटेको जुत्ता’, २०१९ मा ‘चपली हाइट ३’ निर्माण गरेका उनले केही फिल्ममा असफलता प्राप्त गरे । उनको निर्माण रहेको पछिल्लो फिल्म ‘सानो संसार’ २०८१ मा प्रदर्शनमा आएको थियो । अर्जुन कुमारकै निर्माण निर्देशन रहेको फिल्ममा नयाँ कलाकार सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाललगायतको अभिनय थियो ।
यस कुमार :

गायक तथा संगीतकार यस कुमार अभिनेता हुँदै फिल्म निर्माता बनेका हुन् । ‘म कहिले हासेको छु,’ ‘बिरानो यो मन्दिरमा’, ‘हिजो अर्कैसँग’, ‘म आफ्नै इनार बनाउँछु’, ‘मैले भुल्न तिमीलाई’ लगायत थुप्रै हिट गीतका गायक यस कुमारले तीन फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको फिल्म ‘बाटो मुनिको फूल’, ‘बाटो मुनिको फूल २’ र ‘छिरिङ’ हुन् ।
यस कुमार, बाबु बोगटी, रेखा थापाको अभिनय रहेको ‘बाटो मुनिको बक्सअफिसमा सफल मानिन्छ । त्यसपछि बनाएको दीलिप रायमाझी, यश कुमार, बाबु बोगटी अभिनित ‘बाटो मुनिको फूल २’ असफल भयो । पछिल्लो समय यस कुमारले आफ्नो निर्माण निर्देशनमा ‘छिरिङ’ बनाएका थिए ।
प्रकाश सपुत :

गायक, सङ्गीतकार, मोडल, अभिनेता हँुदै फिल्म निर्माता बनेका हुन् गायक प्रकाश सपुत । सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउन उनी माहिर छन् । उनका ‘गलबन्दी’, ‘तिम्रो मायाले मलाई पीर दियो’, ‘कुरा बुझ्न पर्च’, ‘सकम्बरी ’, ‘दमाई महाराज’ लगायतका गीतहरू चर्चित मान्छिन् ।
नारायण रायमाझीको निर्माता निर्देशन रहेको ‘परदेशी २’बाट फिल्म अभिनयमा डेब्यु गरेका उनले ‘पूर्णबहादुरको सारंगी’ जस्तो व्यावसायिक फिल्म पनि अभिनय गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बसन्त’बाट निर्माता निर्देशक बनेका उनलाई पहिलो गासमै ढुङ्गा भने झैँ फिल्म असफल भयो । ‘बसन्त’ले फिल्म बक्सअफिसमा पानी पनि भन्न पाएन । ‘बसन्त’पछि नयाँ फिल्म बनाएका छैनन् ।
रामकृष्ण ढकाल :

लोकप्रिय गायक रामकृष्ण ढकाल हालै प्रदर्शित फिल्म ‘मालती मंगले’बाट फिल्म निर्माता भए । विजय बराल, मेक्सम गौडेल र वर्षा राउत अभिनित ‘मालती मंगले’ परिवार र सामाजिक कथा उठाएको थियो । गत २५ वैशाखदेखि प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा ५१ लाख ७६ हजार माथिको व्यवसाय गर्न सकेन । ढकालले धेरै पहिले ‘आशीर्वाद’ नाम फिल्म पनि अभिनय गरेका थिए ।
अजुर्न पोखरेल :

फिल्म तथा आधुनिक संगीतमा जमेका संगीतकार हुन् अर्जुन पोखरेल । गायकसमेत रहेका पोखरेलका संगीतले थुप्रै फिल्म बक्सअफिसमा हिट हुन मद्दत गरेको छ । चलचित्र ‘दिलमाया’को शीर्ष गीत ‘छुट्छ कि साथ’, ‘सुन्छु तिमीले मलाई’मा संगीत भरेर चलचित्र संगीतमा करिअर सुरु गरेका अर्जुनका संगीत रहेका ‘तिमी रोएको पल’, ‘भन्छु आज मनका कुरा’, ‘किन आजकल’, ‘रहर छ सँगै’, ‘तिम्रो घरको वरिपरि’, ‘म यस्तो गीत गाउँछु’ लगायता धेरै गीतहरू सर्वाधिक चर्चामा छन् ।
आधुनिक संगीतमा पनि थुप्रै हिट गीत दिएका पोखरेल लामो समयदेखि फिल्मकर्मी तथा गायक गायिकाको रोजाइको संगीतकारका रूपमा रहँदै आएका छन् । थुप्रै गीतमा समेत स्वर दिएका पोखरलले भर्खर फिल्म ‘बेहुली’ निर्माण गरेका छन् । पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी र सुशान्त कार्की अभिनित फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउँदै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण